काठमाडौं । बजाज अटोले नेपालमा आफ्नो लोकप्रिय इलेक्ट्रिक स्कुटर ‘चेतक’ सिरिजअन्तर्गत दुई नयाँ मोडल सार्वजनिक गरेको छ। कम्पनीले चेतक सी२५०१ र सी३५०३ लाई नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मार्फत नेपाली बजारमा सार्वजनिक गरेको हो।
नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीसँगको सहकार्यमा सार्वजनिक गरिएका दुवै स्कुटर विद्युतीय गतिशीलताको बढ्दो बजारलाई लक्षित गरी ल्याइएको कम्पनीले जनाएको छ।
चेतक सी२५०१ : ११३ किलोमिटर रेन्ज
चेतक सी२५०१ मा २.५ किलोवाट आवर क्षमताको लिथियम–आयन ब्याट्री जडान गरिएको छ। कम्पनीका अनुसार यसले एकपटक चार्जमा प्रमाणित आईडीसी परीक्षणअनुसार ११३ किलोमिटरसम्म रेन्ज दिन्छ। यसको अधिकतम गति ६० किलोमिटर प्रतिघण्टा रहेको छ।
स्कुटरमा फास्ट चार्जिङ सुविधा उपलब्ध छ। यसबाट ब्याट्री शून्यबाट ८० प्रतिशतसम्म चार्ज गर्न २ घण्टा २५ मिनेट लाग्ने कम्पनीको दाबी छ।
सी२५०१ मा कलर एलसीडी डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, म्युजिक प्लेब्याक कन्ट्रोल, रिभर्स मोड तथा २५ लिटरको अन्डर–सिट स्टोरेजलगायत सुविधा छन्।
यो मोडल ग्लोसी एक्टिभ ब्ल्याक, ओपालेसेन्ट सिल्भर, क्लासिक ह्वाइट, रेसिङ रेड, ओसन टिल र मिस्टी येलो गरी ६ रङमा उपलब्ध हुनेछ। यसको मूल्य २ लाख ८१ हजार ९०० रुपैयाँ तोकिएको छ।
सी३५०३ मा १५१ किलोमिटर रेन्ज
चेतक सी३५०३ मा ३.५ किलोवाट आवर क्षमताको लिथियम–आयन ब्याट्री दिइएको छ। कम्पनीका अनुसार यसले एकपटक चार्ज गर्दा १५१ किलोमिटरसम्म रेन्ज प्रदान गर्छ। यसको अधिकतम गति ७० किलोमिटर प्रतिघण्टा रहेको छ।
सी३५०३ मा डिजिटल एलसीडी डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, कल तथा म्यासेज अलर्ट र ३५ लिटरको अन्डर–सिट स्टोरेज उपलब्ध छ। यसमा पुरानो चेतकको डिजाइन झल्काउने घोडाको नाल आकारको डीआरएल हेडलाम्पसमेत राखिएको छ।
यो मोडल इन्डिगो मेटालिक, ब्रुकलिन ब्ल्याक, म्याट चारकोल ग्रे र साइबर ह्वाइट गरी चार रङमा उपलब्ध हुनेछ। यसको मूल्य ३ लाख ३९ हजार ९०० रुपैयाँ तोकिएको छ।
बजाज नेपालका अनुसार दुवै मोडलको बुकिङ छनोट गरिएका बजाज डिलरमार्फत सुरु भइसकेको छ। नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा समेत ग्राहकले नयाँ स्कुटरको अवलोकन गर्न सक्ने व्यवस्था गरिएको छ।
हंसराज हुलासचन्द एन्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले चेतकका नयाँ मोडलको विस्तारले नेपालमा विद्युतीय गतिशीलताको क्षेत्रमा कम्पनीको उपस्थितिलाई थप बलियो बनाउने बताउनुभयो। उहाँका अनुसार नयाँ मोडलले फरक मूल्य, रेन्ज र डिजाइन रुचाउने ग्राहकलाई लक्षित गर्नेछ।






प्रधानमन्त्रीलाई कांग्रेस नेता आचार्यको सुझाव
ग्यासको कृत्रिम अभाव र कालोबजारी
नेपाल–युरोप स्वास्थ्य सहकार्य विस्तारमा जोड,
सरकार लेनभन्दा बाहिर जान पाउँदैन
नेपालमा पहिलो ‘कमेडी एक्ट’ रियालिटी
कांग्रेसको १५औँ महाधिवेशनको मिति तलमाथि