काठमाडौं । पौडी खेल्न पानी चाहिन्छ । तर, पारा पौडी खेलाडीका लागि पानीमा उत्रिनु मात्रै पर्याप्त हुँदैन । नियमित प्रशिक्षण, अपांगमैत्री पूर्वाधार, दक्ष प्रशिक्षक, फिजियोथेरापी, रिकभरी, पोषण, यातायात, खेल सामग्री र आर्थिक सहयोग उत्तिकै आवश्यक हुन्छ । नेपालका पारा पौडी खेलाडी भने यिनै आधारभूत सुविधाको अभावबीच अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको झण्डा फहराउने सपना बोकेर अभ्यास गरिरहेका छन् । सीमित स्रोतसाधन, कठिन परिस्थिति र पर्याप्त पूर्वाधारको अभावलाई चुनौती दिँदै चार खेलाडी आगामी पारा एसियाली खेलकुदमा नयाँ इतिहास रच्ने तयारीमा छन् ।
उनीहरूका कथा फरक छन् । कसैले पहिरोमा परेर अपांगता बेहोरे, कसैले करेन्ट लागेर दुवै हात गुमाए, कसैले किशोरावस्थामै खुट्टा गुमाए भने कसैको जीवन सडक दुर्घटनाले बदलिदियो । तर, उनीहरूलाई जोड्ने एउटा कुरा समान छ, खेलप्रतिको दृढ इच्छाशक्ति र देशका लागि पदक जित्ने सपना ।
नेपाल सन् २०१० देखि पारा एसियाली खेलकुदमा सहभागी हुँदै आएको छ । तर, अहिलेसम्म नेपालको उपलब्धि सीमित छ । सन् २०२३ मा चीनको हाङझाउमा सम्पन्न १९औँ पारा एसियाली खेलकुदमा तेक्वान्दोकी पलेशा गोवर्द्धनले ५६ केजीमुनि तौल समूहमा जितेको कांस्य पदक नै नेपालको एकमात्र पदक हो । अब नेपाली पारा पौडी टोली यही इतिहासमा अर्को अध्याय थप्ने लक्ष्यमा छ ।
पारा पौडी संघको आयोजनामा मुख्य प्रशिक्षक सुवास श्रेष्ठले चार खेलाडीलाई नियमित प्रशिक्षण दिइरहनुभएको छ । टोलीमा सिर्जना सार्की, जेनिशा कठायत, हर्कमान घर्ती र मेम्बर सिङ्गी स्याङ्बो हुनुहुन्छ । पछिल्लो पाँच-छ महिनादेखि खेलाडीहरू नियमित प्रशिक्षणमा छन् । प्रशिक्षक श्रेष्ठका अनुसार खेलाडीहरूको मिहिनेत र लगन राम्रो छ । तर, पर्याप्त स्रोतसाधन नहुँदा तयारीलाई अन्तर्राष्ट्रियस्तरमा लैजान चुनौती छ ।
प्रशिक्षणका लागि स्विमिङ पुलको व्यवस्थापन नै लामो समयदेखि मुख्य समस्या थियो । रिफ्रेस रिक्रिएसन सेन्टरले स्विमिङ पुल र लेन सहुलियत दरमा उपलब्ध गराएपछि भने प्रशिक्षणमा केही सहजता आएको छ । तर, पुल उपलब्ध हुँदैमा पारा पौडी खेलाडीको सबै समस्या समाधान हुँदैन । उनीहरूलाई प्रशिक्षणसँगै फिजियोथेरापी, रिकभरी, ज्याकुजी, पोषण, यातायात र आवश्यक खेल सामग्री चाहिन्छ । यीमध्ये धेरै सुविधा नियमित रूपमा उपलब्ध नहुँदा खेलाडी र प्रशिक्षक दुवैले अतिरिक्त चुनौती सामना गर्नुपरेको छ ।
प्रशिक्षक श्रेष्ठका लागि सबैभन्दा ठूलो चुनौती सीमित स्रोतसाधनबीच खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि तयार पार्नु हो । खेलाडीमा प्रतिभा र मिहिनेत भए पनि पर्याप्त सुविधा नहुँदा उनीहरूको क्षमताअनुसार तयारी गर्न कठिन भइरहेको छ । तर, यही अभावका बीच खेलाडीहरूको आत्मविश्वासले टोलीलाई अघि बढाइरहेको छ ।
सिर्जनाको पहिलो अन्तर्राष्ट्रिय सपना
१९ वर्षीया सिर्जना सार्कीका लागि पौडी केवल खेल होइन, आफूलाई प्रमाणित गर्ने माध्यम हो । कर्णाली प्रदेशको जुम्लाकी सिर्जनाको जीवन तीन वर्षअघि अचानक बदलियो । माटो खन्ने क्रममा पहिरो तथा ढिस्कोमा पुरिएपछि उहाँले अपांगता बेहोर्नुपर्यो । त्यसपछि उहाँको जीवनमा अनेक चुनौती थपिए । तर, उहाँले सपना त्याग्नुभएन । हाल गोकर्णेश्वरमा बसेर स्नातक तहको अध्ययनको तयारी गरिरहनुभएकी सिर्जना प्रशिक्षणका लागि नियमित रूपमा अभ्यासस्थल पुग्नुहुन्छ । कहिले ट्याक्सी त कहिले टेम्पो चढेर उहाँ प्रशिक्षणमा पुग्ने गर्नुहुन्छ ।
पछिल्लो तीन महिनादेखि पौडीमा विशेष मिहिनेत गरिरहेकी सिर्जनाका लागि आगामी प्रतियोगिता पहिलो अन्तर्राष्ट्रिय यात्रा हुनेछ । पहिलोपटक नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउँदा उहाँ उत्साहित हुनुहुन्छ । तर, उहाँको लक्ष्य सहभागितामा मात्र सीमित छैन । सकेसम्म राम्रो प्रदर्शन गर्दै पदक जित्ने उहाँको चाहना छ । उहाँका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा पुग्नु आफैंमा ठूलो उपलब्धि हो । तर, पानीमा उत्रिँदा उहाँ आफ्नो विगतका पीडा होइन, आफ्नो क्षमता देखाउन चाहनुहुन्छ ।
हर्कमानको पौडीले दिएको पहिचान
बागलुङका २१ वर्षीय हर्कमान घर्तीको कथा पनि संघर्षले भरिएको छ । ११ वर्षअघि उहाँको गाउँमा पहिलोपटक बिजुली पुगेको थियो । त्यही क्रममा मेन इन्सुलेटर समात्दा उहाँलाई करेन्ट लाग्यो । दुर्घटनामा उहाँले दुवै हात गुमाउनुभयो । तर, शारीरिक क्षतिले उहाँको खेलप्रतिको इच्छाशक्ति रोक्न सकेन । हर्कमान पछिल्लो छ वर्षदेखि घरेलु खेलकुदमा सक्रिय हुनुहुन्छ । पौडीमार्फत् अन्तर्राष्ट्रियस्तरमा आफ्नो क्षमता प्रमाणित गर्ने उहाँको लक्ष्य छ । एक वर्षअघि उहाँले जापानमा अन्तर्राष्ट्रिय एथलिट लाइसेन्ससमेत बनाउनुभएको थियो । तर, प्रशिक्षणका क्रममा आवश्यक पर्ने ज्याकुजी, फिजियोथेरापी र रिकभरी सुविधाको अभाव उहाँले अहिले पनि महसुस गरिरहनुभएको छ । त्यसैले आगामी प्रतियोगितामा पदकको शतप्रतिशत ग्यारेन्टी गर्न नसकिने उहाँ बताउनुहुन्छ । तर, उहाँको सपना एउटा प्रतियोगिताको पदकमा मात्र सीमित छैन । आगामी ओलम्पिक र विश्व च्याम्पियनसिपमा सहभागी हुन आवश्यक समय तथा क्वालिफिकेसन पूरा गर्ने लक्ष्य उहाँले बनाउनुभएको छ । अहिलेको प्रतियोगितालाई उहाँ आफ्नो क्षमता परीक्षण गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिइरहनुभएको छ ।
जेनिशाको दोस्रो अवसर
सुदूरपश्चिमकी जेनिशा कठायतका लागि पौडी नयाँ यात्रा होइन । उहाँ विगत नौ वर्षदेखि पौडीमा सक्रिय हुनुहुन्छ । कक्षा १० मा अध्ययन गरिरहँदा उहाँले एउटा खुट्टा गुमाउनुभयो । त्यसपछि पनि उहाँले पौडी छाड्नुभएन । बरु अप्ठ्यारोलाई चुनौती दिँदै यही खेललाई आफ्नो पहिचान बनाउनुभयो । जेनिशाले चीनमा भएको १९औँ एसियाली खेलकुदमा समेत नेपालको प्रतिनिधित्व गरिसक्नुभएको छ । त्यहाँ भने उहाँले आफूले अपेक्षा गरेअनुसार प्रदर्शन गर्न सक्नुभएन । त्यो अनुभवले उहाँको आत्मविश्वास घटाएन । बरु यसपटक अझ राम्रो तयारी गरेर मैदानमा उत्रिने संकल्प जन्मायो । उच्च शिक्षालाई निरन्तरता दिँदै प्रशिक्षणलाई पनि प्राथमिकता दिइरहेकी जेनिशा अघिल्लो अन्तर्राष्ट्रिय अनुभवलाई यसपटक सुधारिएको प्रदर्शनमा बदल्न चाहनुहुन्छ ।
दुर्घटनाबाट पौडीको लेनसम्म मेम्बर सिङगी
चार खेलाडीमध्ये मेम्बर सिङ्गी स्याङ्बोको कथा सडक दुर्घटनाबाट पौडीको लेनसम्म आइपुगेको यात्राको कथा हो । १७ वर्षको उमेरमा चीनको रसुवागढी नाकानजिक भएको सडक दुर्घटनाले उहाँको जीवन बदलिदियो । नेपाली कन्टेनर गाडीमा हेल्परका रूपमा काम गर्दै गाडी चलाउन सिकिरहेका स्याङ्बो थप अनुभवका लागि चीन पुग्नुभएको थियो । नाकामा गाडीहरू पालैपालो आवतजावत गर्ने क्रममा उहाँ आफ्नो पालो कुर्दै बस्नुभएको थियो । त्यही बेला अचानक अर्को गाडी आएर उहाँलाई ठक्कर दियो । दुर्घटनामा उहाँले एउटा खुट्टा गुमाउनुभयो । दुर्घटनापछि जीवन सहज रहेन । तर, कृत्रिम खुट्टाको व्यवस्थापन गर्ने क्रममा उहाँको सम्पर्क पौडी खेलकुदसँग जोडियो । सुरुमा पौडी खेल्ने उहाँको कुनै ठूलो योजना थिएन । अवसर पाएपछि ‘खेल्दिम् न त’ भन्ने भावनाले उहाँ पानीमा उत्रिनुभयो । विस्तारै पौडी उहाँको जीवनकै महत्त्वपूर्ण हिस्सा बन्यो । अहिले २६ वर्षका स्याङ्बो दैनिक प्रशिक्षण गरिरहनुभएको छ । करिब दुई महिनादेखि नियमित प्रशिक्षणमा रहनुभएका उहाँ आफ्नो तयारी राम्रो भइरहेको बताउनुहुन्छ । अब उहाँका लागि पौडी समय बिताउने माध्यम होइन । अन्तर्राष्ट्रिय प्रतियोगितामा पुगेपछि लक्ष्य पनि बदलिएको छ ।
चार खेलाडी, एउटै सपना
सिर्जनाका लागि यो पहिलो अन्तर्राष्ट्रिय यात्रा हो । जेनिशा आफ्नो अघिल्लो अनुभव सुधार्न चाहनुहुन्छ । हर्कमानको नजर आगामी ओलम्पिक र विश्व च्याम्पियनसिपको क्वालिफिकेसनमा छ । मेम्बर सिङ्गी भने पहिलो ठूलो अन्तर्राष्ट्रिय अवसरमै पदक जित्ने लक्ष्यमा हुनुहुन्छ । उहाँहरूको जीवनकथा फरक छ । संघर्षको बाटो फरक छ । शारीरिक अवस्था फरक छ । तर, लक्ष्य एउटै छ- अन्तर्राष्ट्रिय मञ्चमा नेपालको झण्डा उचाल्ने । उहाँहरूका अगाडि सुविधा अभावको ठूलो चुनौती छ । पर्याप्त बजेट छैन । अपांगमैत्री खेल पूर्वाधार सीमित छन् । प्रशिक्षणका लागि आवश्यक फिजियोथेरापी, रिकभरी, उपकरण र पोषणको व्यवस्थापन सहज छैन । प्रशिक्षणस्थलसम्म पुग्नसमेत खेलाडीहरूले व्यक्तिगत संघर्ष गर्नुपर्छ । तर, पानीमा उत्रिएपछि यी समस्या केही समयका लागि पछाडि छुट्छन् । स्विमिङ पुलको लेनमा उहाँहरू आफ्नो शारीरिक अवस्थाभन्दा आफ्नो क्षमतामा केन्द्रित हुनुहुन्छ । हरेक स्ट्रोकसँगै समय सुधार्ने प्रयास गर्नुहुन्छ । हरेक अभ्याससँगै अन्तर्राष्ट्रिय मञ्चमा राम्रो प्रदर्शन गर्ने सपना बुन्नुहुन्छ ।
प्रशिक्षकका लागि पनि ठूलो चुनौती
मुख्य प्रशिक्षक सुवास श्रेष्ठका लागि यी चार खेलाडी केवल खेलाडीमात्र होइनन्, सम्भावना बोकेका प्रतिभा हुन् । उनीहरूको इच्छाशक्ति र मिहिनेत बलियो भए पनि अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न नियमित र वैज्ञानिक प्रशिक्षण आवश्यक हुन्छ । त्यसका लागि पर्याप्त समय, सुविधा, उपकरण र आर्थिक स्रोत चाहिन्छ । सीमित साधनका बीच खेलाडीलाई तयार पार्नु प्रशिक्षकका लागि चुनौती भए पनि खेलाडीमा रहेको सम्भावनाले उहाँलाई उत्साहित बनाएको छ ।
श्रेष्ठको प्रयास खेलाडीको कमजोरीभन्दा क्षमतालाई केन्द्रमा राखेर प्रशिक्षण दिनेमा छ । उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै खेलाडीहरूको समय, प्रविधि र प्रदर्शन सुधार्ने प्रयास भइरहेको छ । तर, अन्तर्राष्ट्रिय पदकको लक्ष्य राख्ने हो भने प्रशिक्षणलाई अझ व्यवस्थित, वैज्ञानिक र दीर्घकालीन बनाउनुपर्ने आवश्यकता छ ।
नेपालको पारा खेलकुदले अझै लामो बाटो तय गर्न बाँकी छ । एउटा पदकले मात्र इतिहास बदलिँदैन । त्यसका लागि निरन्तर लगानी, अपांगमैत्री पूर्वाधार, दक्ष प्रशिक्षक, वैज्ञानिक प्रशिक्षण, खेलाडीको स्वास्थ्य तथा पोषण र दीर्घकालीन संरक्षण आवश्यक हुन्छ । अहिले भने यी चार खेलाडी पौडीको पानीमा आफ्नो भविष्य खोजिरहेका छन् ।







प्राध्यापक अम्वीर पाण्डेको निधन
फिफा अध्यक्षमाथि अर्को दबाब
पाँच हजार म्याचको ऐतिहासिक माइलस्टोन
एसियाडमा करातेबाट पदकको आशा
क्यापिटल क्वीन नेपाल-२०२६ को उपाधि
ब्रोड पिकका दिवंगत आरोहीको सम्झनामा