काठमाडौं । नेपाली क्रिकेट इतिहासमा अहिले एक ठूलो मोड आएको छ । लामो समयदेखि चल्दै आएको टिमको संरचना र नेतृत्वमा क्यानले ठूलो फेरबदल गरेको छ । नेदरल्याण्ड्स भ्रमणमा नेपालले भोगेको लगातारको हार र कमजोर प्रदर्शनपछि नेपाली क्रिकेट टोलीमा ठूलो परिवर्तन आएको हो । नेपाली क्रिकेटमा आमूल परिवर्तनसँगै चार वर्षसम्म नेपाली क्रिकेटको रथ हाँक्नुभएका कप्तान रोहितकुमार पौडेलको कप्तानी युगमा पूर्णविराम लागेको छ । अब नेपाली एकदिवसीय क्रिकेट टोलीको नेतृत्व युवा लेग स्पिनर सन्दीप लामिछानेको हातमा पुगेको छ । नेदरल्याण्ड्समा हारको तीतो यथार्थले नेपाली क्रिकेटमा ठूलै फेरबदल हुन पुगेको हो ।
रोहितको सफल यात्रामा पूर्णविराम
चार वर्षअघि नेपाली क्रिकेट अत्यन्तै कठिन र अन्योलग्रस्त मोडमा उभिएको थियो । ठीक त्यतिबेला केवल २० वर्षका युवा रोहित पौडेलले कठिन परिस्थितिमा टोलीको कप्तानी सम्हाल्ने आँट गर्नुभएको थियो । उहाँको नेतृत्वमा नेपालले अविश्वसनीय र ऐतिहासिक सफलताहरू हासिल गर्यो । लिग-२ को त्यो कठिन दौडमा नेपालले १२ मध्ये ११ खेल जितेर चमत्कार गर्यो । यसैको बलमा नेपालले आफ्नो ओडिआई मान्यता जोगाउनुका साथै विश्वकप छनोटको ढोका पनि खोलेको थियो ।
रोहितकै कप्तानीमा नेपालले दुई पटक टी-२० विश्वकपको मञ्चमा ऐतिहासिक पाइला टेक्यो । यसका साथै एसिसी प्रिमियर कपको उपाधि जितेर नेपाललाई पहिलो पटक भारत र पाकिस्तानजस्ता विश्व क्रिकेटका महारथीहरूसँग एसिया कपमा भिड्ने अवसर उहाँले नै दिलाउनुभयो । नेपालका लागि ओडिआई र टी-२० आई दुवै फर्म्याटमा सबैभन्दा धेरै खेलमा कप्तानी गर्ने र इतिहासकै सफल कप्तानका रूपमा उहाँको नाम सुनौलो अक्षरमा कोरिएको छ । तर, खेलकुदमा समय सधैँ एकनास रहँदैन । पछिल्लो समय लिग-२ मा टोलीको खस्कँदो लय र नेदरल्याण्ड्स भ्रमणको कमजोर नतिजाले उहाँको कप्तानीलाई दबाबमा ल्यायो । परिणामस्वरूप क्यानले नेतृत्व परिवर्तन गर्ने कठोर निर्णय लिनुपरेको खेल विश्लेषकहरूको बुझाइ छ ।
चार वर्षपछि लामिछानेको कमब्याक र आगामी चुनौती
चार वर्षको अन्तरालपछि लेग स्पिनर सन्दीप लामिछाने फेरि एक पटक नेपाली राष्ट्रिय एकदिवसीय टोलीको कप्तानमा फर्किनुभएको छ । यसअघि २०२२ मा पहिलो पटक सिनियर टोलीको कप्तानी सम्हाल्नुभएका सन्दीपको जीवन र क्रिकेट यात्रामा धेरै उतारचढावहरू आए । कानुनी लडाइँ र विभिन्न विवादहरू चिर्दै मैदानमा फर्किनुभएका सन्दीपले आफ्नो उत्कृष्ट प्रदर्शनमार्फत् सधैँ आफूलाई अब्बल साबित गर्दै आउनुभएको छ । उहाँ नेपालका लागि ओडिआई र टी-२० आई दुवैमा सर्वाधिक विकेट लिने कीर्तिमान बलर हुनुहुन्छ ।
अहिले क्यानले उहाँलाई फेरि नेतृत्व सुम्पनुको मुख्य उद्देश्य टोलीलाई यो खाडलबाट बाहिर निकाल्नु हो । लिग-२ को तालिकामा नेपाल अहिले सातौँ स्थानमा छ र टोलीसँग अब जम्मा चारवटा खेलहरूमात्र बाँकी छन् । त्यसपछि प्लेअफ क्वालिफायरको कठिन चुनौती पनि सामना गर्नुपर्नेछ । सन्दीपसामु टोलीको गुमेको आत्मविश्वास फर्काउने, खेलाडीहरूबीचको एकता बलियो बनाउने र एकदिवसीय मान्यता जोगाउँदै विश्वकपसम्म पुर्याउने ऐतिहासिक जिम्मेवारी छ । उहाँको यो नयाँ इनिङ्सले नेपाली क्रिकेटलाई फेरि उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।
प्रिमियर कपको नयाँ समीकरण
आगामी अगस्ट ३० देखि मलेसियामा सुरु हुने एसिसी मेन्स प्रिमियर कपका लागि क्यानले सन्दीपको कप्तानीमा १४ सदस्यीय नयाँ टोली घोषणा गरेको छ । नेदरल्याण्ड्स भ्रमणमा गएको १६ सदस्यीय टोलीबाट आधा दर्जनभन्दा बढी पुराना खेलाडीहरू टिमबाट बाहिरिएका छन् । नेपाली टिमका भरपर्दो ओपनर कुशल भुर्तेल, अनुभवी अलराउन्डर सोमपाल कामी, आरिफ शेख, भीम सार्की, विनोद भण्डारी र नन्दन यादव प्रिमियर कपको टोलीमा अटाउन सकेनन् ।
पुराना र पाका खेलाडीहरूको अनुपस्थितिले टिम एकदमै युवामय बनेको छ । ओपनिङको जिम्मेवारी अब आसिफ शेख र युवा ब्याटर अर्जुन कुमालले सम्हाल्ने सम्भावना छ । टिममा इशान पाण्डे, देव खनाल, सन्दीप जोरा, बसिर अहमद र गुल्शन झाजस्ता युवा प्रतिभाहरूले अवसर पाएका छन् । बलिङतर्फ यो टोली पूर्ण रूपमा स्पिन हेभी देखिएको छ । कप्तान सन्दीप लामिछाने, ललित राजवंशी र शेर मल्ल मुख्य स्पिनरका रूपमा छन् भने दीपेन्द्रसिंह ऐरी र बसिर अहमदले स्पिन अलराउन्डरको भूमिका निर्वाह गर्नेछन् । फास्ट बलिङमा भने अनुभवी करण केसी र हेमन्त धामीमात्र विशेषज्ञ पेस बलरका रूपमा रहेका छन् । यो नयाँ र परिमार्जित टोलीसँगै नेपाल मैदान उत्रँदैछ ।
‘ए’ टोलीमा पनि व्यापक हेरफेर
राष्ट्रिय टोलीमा मात्र होइन, क्यानले अस्ट्रेलियाको डार्बिनमा हुने टप एण्ड टी-२० प्रतियोगिताका लागि अनिलकुमार शाहको कप्तानीमा नेपाल ‘ए’ टोलीको पनि घोषणा गरेको छ । राष्ट्रिय टोलीको बन्द प्रशिक्षण वा छनोटबाट बाहिरिएका कुशल भुर्तेलसहित लोकेश बम, कुशल मल्ल, शाहब आलमजस्ता प्रतिभावान खेलाडीहरूलाई ‘ए’ टोलीमा राखिएको हो ।
अस्ट्रेलियाको कडा मैदानमा हुने सिरिजमा नेपालले स्थानीय टिमहरूसँग धेरै प्रतिस्पर्धात्मक खेलहरू खेल्नेछ । यसले नेपाली क्रिकेटको बेन्च स्ट्रेन्थ कति बलियो छ भन्ने प्रष्ट पार्छ । युवा खेलाडीहरूलाई विदेशको भूमिमा खेल्ने अनुभव बटुल्न यो प्रतियोगिता अत्यन्तै महत्त्वपूर्ण साबित हुनेछ । यसैगरी एसियन गेम्सका लागि पनि तयारी भइरहेका सन्दर्भमा यी घरेलु र बाहिरी प्रतियोगिताहरूले नेपाललाई पूर्ण रूपमा तयार पार्ने विश्वास गरिएको छ ।
एकपटक नेता बनेपछि सधैँ नेता नै रहन्छ : क्यान
नेपाल क्रिकेट संघ (क्यान) ले रोहितकुमार पौडेललाई राष्ट्रिय टोलीको नेतृत्व गरेर योगदान दिएकोमा धन्यवाद दिएको छ । क्यानले सोमबार रोहितलाई ओडिआईको कप्तानबाट हटाएर सन्दीप लामिछानेलाई नयाँ कप्तान बनाएको थियो । टोलीको नेतृत्वबाट हटाएपछि मंगलबार बिहान क्यानले आफ्नो फेसबुक पेजबाट धन्यवाद दिएको हो । ‘धन्यवाद, रोहित, एउटा राष्ट्रको आशा बोकेर जोस, समर्पण र अटल दृढताका साथ नेपालको नेतृत्व गर्नुभएकोमा’, क्यानले लेखेको छ, ‘हाम्रो पुरुष राष्ट्रिय क्रिकेट टोलीको कप्तानका रूपमा तपाईंको नेतृत्वमा हामीले उल्लेखनीय उपलब्धिहरू हासिल गर्यौँ र यस्ता अविस्मरणीय क्षणहरू सिर्जना गर्यौँ, जुन नेपाली क्रिकेटको यात्रामा सधैँ गर्वका साथ स्मरण गरिनेछन् ।’
रोहितले टोली, देश र खेलप्रतिको जाहेर गरेको प्रतिबद्धता सधैँ प्रेरणादायी रहेको क्यानले उल्लेख गरेको छ । साथै, क्यानले रोहितले आगामी दिनमा राष्ट्रिय टोलीलाई भावना, गौरव र समर्पणका साथ योगदान गर्ने विश्वास पनि व्यक्त गरेको छ । क्यानले अन्त्यमा लेखेको छ, ‘एकपटक नेता बनेपछि सधैँ नेता नै रहिन्छ ।’
यसैगरी, नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा क्यान-सचिव पारस खड्काले रोहित पौडेलको कप्तानी यात्रालाई सम्झँदै धन्यवाद दिनुभएको छ । पारसले सामाजिक सञ्जालमार्फत् रोहितले कठिन परिस्थितिमा पनि नेपाली टोलीलाई गर्व, जोस र दृढताका साथ नेतृत्व गरेकोमा प्रशंसा गर्दै धन्यवाद दिनुभएको हो । रोहितले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउनुका साथै मैदानभित्र र बाहिर नयाँ पुस्तालाई प्रेरित गरेको उहाँको भनाइ छ । ‘तिम्रो उपलब्धि, नेतृत्व र कप्तानका रूपमा छाडेको विरासतप्रति गर्व छ,’ पारसले लेख्नुभएको छ । कप्तानीको जिम्मेवारी परिवर्तन भए पनि नेपाली क्रिकेटलाई रोहितको आवश्यकता सधैँ रहने भन्दै पारसले आगामी दिनमा पनि चम्किरहन शुभकामना दिनुभएको छ ।







प्राध्यापक अम्वीर पाण्डेको निधन
फिफा अध्यक्षमाथि अर्को दबाब
पाँच हजार म्याचको ऐतिहासिक माइलस्टोन
एसियाडमा करातेबाट पदकको आशा
क्यापिटल क्वीन नेपाल-२०२६ को उपाधि
ब्रोड पिकका दिवंगत आरोहीको सम्झनामा