जनकपुरधाम । मैथिली साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा.राजेन्द्रप्रसाद विमलको निधन भएको छ । लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित डा.विमलको सोमबार राति जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ७९ वर्षको उमेरमा निधन भएको हो । उहाँको निधनसँगै नेपालीसँगै मैथिली साहित्य, भाषा आन्दोलन तथा मिथिलाको सांस्कृतिक क्षेत्रमा अपूरणीय क्षति भएको साहित्यकारहरूले बताएका छन् ।
डा.विमलको पार्थिव शरीर मंगलबार जनकपुरधाम-४ देवीचोकस्थित निवासमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिएको थियो । जहाँ साहित्यकार, शिक्षाविद्, विद्यार्थी तथा शुभेच्छुकहरूले उपस्थिति भएर श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।
मैथिली विकास कोष जनकपुरधामका संस्थापक अध्यक्ष रहनुभएका डा.विमलले मैथिली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
सन् १९४७ जुलाई २६ मा धनुषा जिल्लाको देवडिहा गाउँस्थित खिरखिरियामा जन्मिनुभएका डा.विमलले नेपाली, मैथिली र हिन्दी विषयमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको थियो भने भाषा विज्ञान विषयमा पिएचडी गर्नुभएको थियो । जनकपुरधामस्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा नेपाली विभागमा लामो समय अध्यापन गर्नुभएका उहाँ करिब चार दशकको प्राध्यापन यात्रापछि अवकाशप्राप्त गर्नुभएको थियो ।
साहित्यका क्षेत्रमा अग्रणी श्रष्टा डा.विमलको पहिलो कथा ‘विपतिया’ १५ मार्च १९६३ मा मिथिला मिहिर पत्रिकामा प्रकाशित भएको थियो । त्यसयता उहाँ कथा, कविता, गीत, गजल, नाटक, उपन्यास, समालोचना, बालसाहित्य, अनुवाद तथा भाषा विज्ञानका क्षेत्रमा निरन्तर सक्रिय हुनुहुन्थ्यो । उहाँका कृतिमा ‘ई हमरे कथा थिक’, ‘इतिहासक घाओ’, ‘डा.विमलका कथाहरू’, ‘सरबरिआ गाउँको कथा’ तथा ‘फिष्टी रानी’लगायतका पुस्तक प्रकाशित छन् । उहाँको कथामा आधारित ‘हंसा चलल परदेश’ नामक मैथिली टेलिफिल्म नेपाल टेलिभिजनबाट प्रसारणसमेत भएको थियो ।
डा.विमल विभिन्न सरकारी तथा गैरसरकारी संस्थाबाट पुरस्कृत र सम्मानित हुनुभएको थियो । उहाँ विद्यापति पुरस्कार कोषद्वारा स्थापित ‘नेपाल विद्यापति भाषा, साहित्य पुरस्कार’का पहिलो प्राप्तकर्ता हुनुहुन्थ्यो । यसका अतिरिक्त उहाँ गरिमा सम्मान, जगदम्बा सम्मान, राष्ट्रिय प्रतिभा पुरस्कार, सिद्धिश्री पुरस्कारलगायतका सम्मानबाट विभूषित हुनुहुन्थ्यो ।
उहाँको लेखनमा राष्ट्रप्रेम, मैथिल अस्मिता, मातृभाषाप्रतिको निष्ठा, लोकजीवनको पीडा, प्रेम, वियोग, आक्रोश र विद्रोह सशक्त रूपमा अभिव्यक्त भएको पाइने साहित्यकारहरू बताउँछन् । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालगायत विभिन्न दलका नेता तथा सामाजिक व्यक्तित्व, साहित्यकारहरूले उहाँको निधनमा दुःख व्यक्त गर्दै समवेदना व्यक्त गरेका छन् ।
वरिष्ठ साहित्यकार, सर्जक डा. विमलज्यूको पार्थिव शरीरलाई संघीय संस्कृति मन्त्रीको उपस्थितिमा राष्ट्रिय सम्मानका साथ जनकपुरमा अन्त्येष्टि गरिएको छ ।







यस्तो छ आजका लागि विदेशी
सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा