काठमाडौं । सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई ‘गुप्तवास’बाट बाहिर निस्किन आग्रह गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोलेका अधिकांश सांसदहरूले प्रधानमन्त्रीलाई संसद्मा आउन पुनः आग्रह गरेका हुन् । सांसदहरूले यसअघि पनि प्रधानमन्त्री शाह संसद्प्रति जवाफदेही नभएको भन्दै आपत्ति जनाउँदै आएका थिए । प्रधानमन्त्री बनेको साढे चार महिना बढी समय हुँदासम्म एकपटक अकस्मात प्रश्नोत्तरबाहेक उहाँले संसद्मा सम्बोधन गर्नुभएको छैन ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सांसद गोपाल शर्माले प्रधानमन्त्री शाहले संसद्लाई बेवास्ता गरेको आरोप लगाउनुभयो । जनताका समस्याप्रति प्रधानमन्त्री संवेदनशील नभएको उहाँको आरोप छ । प्रधानमन्त्रीले संसद्लाई जवाफ दिनुको सट्टा बेवास्ता गरेको उहाँले टिप्पणी गर्नुभयो । संसद् नियमावलीअनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हुनुपर्ने व्यवस्था भए पनि साढे चार महिना बितिसक्दासमेत प्रधानमन्त्री संसद्मा उपस्थित नभएकोमा शर्माले आपत्ति जनाउनुभयो । ‘त्यो पहिलो हप्ता कहिले आउँछ ? प्रधानमन्त्रीज्यूलाई संसद्मा ल्याएर प्रश्न सोध्ने दिनको हामी पर्खाइमा छौँ’, शर्माले भन्नुभयो ।
यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ । मंगलबार संसद् बैठकअघि प्रधानमन्त्री शाह र सभामुख अर्यालबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक विषयमा कुराकानी भएको सभामुखको सचिवालयले जनाएको छ । स्रोतका अनुसार भेटवार्तामा सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई संसद्मा उपस्थित भएर सांसदहरूले राखेका प्रश्नको जवाफ दिन आग्रह गर्नुभएको थियो । जसको प्रधानमन्त्री शाहले कुनै ठोस जवाफ भने दिनुभएन । भेटलगत्तै सभामुख संसद् बैठकमा प्रवेश गर्नुभएको थियो । ‘संसद्मा प्रधानमन्त्रीको खोजी भइरहेको छ । कमसेकम सदनमा उपस्थित भएर जवाफ दिनुस् भनेर सभामुखले आग्रह गर्नुभयो’, स्रोतले भन्यो, ‘तर, प्रधानमन्त्री शाहले कुनै ठोस जवाफ दिनुभएन ।’
तपाईं गुप्तवास बसुन्जेल एक्लै हुने हो : शर्मा
नेकपा सांसद गोपाल शर्माले प्रधानमन्त्री शाह आफूलाई अगाडि बढाउने पार्टीको कार्यालयसमेत नगएको बताउनुभयो । त्यसैगरी, जुन संसद्ले प्रधानमन्त्री बनाएको हो त्यसमा पनि नआउने गरेको शर्माको भनाइ थियो । ‘रास्वपाको कार्यालय, जुन दलले प्रधानमन्त्री बनायो त्यो कार्यालयमा प्रधानमन्त्री गएको देखेको छैन । यो मेरो चासोको विषय होइन, सम्बन्धित दलको चासोको विषय हो’, सांसद शर्माले भन्नुभयो, ‘जुन दलले तपाईंलाई प्रधानमन्त्री दियो त्यो दलसँग तपाईं टाढा हुने, जुन संसद्ले तपाईंलाई प्रधानमन्त्री बनायो, त्यो संसद्बाट टाढा हुने अनि राति एक्लै सुतेको बेला एक्लै स्टाटस लेख्दा तपाईं एक्लै नभएर को हुन्छ ? तपाईं गुप्तवास बसुन्जेल एक्लै हुने हो । जब संसद्मा आउनुहुन्छ, सांसदहरू र संसद् तपाईंको साथमा हुन्छ । तपाईंले सकरात्मक पहल लिँदा सिंगो संसद् तपाईंको पक्षमा हुन्छ । तपाईंले गलत प्रक्रिया चाल्दा सिंगो संसद् तपाईंको विपक्षमा हुन्छ । गुप्तवासमा नबस्नुस् ।’ सांसद शर्माले सुनसरीमा भएको विवाद राज्यले सिर्जना गरेको आशंका रहेको बताउनुभयो ।
प्रधानमन्त्रीले संसदीय अभ्यास र मर्यादा उल्लंघन गरे : मण्डल
नेकपा (एमाले)ले प्रधानमन्त्री बालेन्द्र शाह संसद्प्रति उत्तरदायी नभएको आरोप लगाएको छ । प्रधानमन्त्री शाहले संसदीय अभ्यासको मर्यादा उल्लंघन गरेको एमाले सांसद चन्देश्वर मण्डलले बताउनुभयो । प्रधानमन्त्रीले शाहले राष्ट्रिय पोसाकको सट्टा सधैँ कालो सुट, चस्मा र ज्याकेटमा सजिएर संसद्को गरिमा घटाएको उहाँको टिप्पणी थियो । ‘प्रधानमन्त्री जम्मा तीनपटक मात्र संसद्मा आउनुभएको छ । बजेट प्रस्तुत भइरहँदा उहाँ बाहिरिनुभयो, योभन्दा गैरजिम्मेवारपन के हुनसक्छ ?’, उहाँले भन्नुभयो । सत्तापक्षका सांसदहरूलाई लक्षित गर्दै उहाँले संसद्मा जथाभावी ‘ढ्यापढ्याप’ नगर्न र संसदीय मर्यादा पालना गर्न सुझाव दिनुभयो ।
संसद्लाई उपेक्षा गरेर होइन, संवैधानिक कर्तव्य पालना गर्नुहोस् : केसी
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्रीलाई कार्यशैली, संसद्प्रतिको जवाफदेहिता र जनताका दैनिक समस्याप्रति गम्भीर बन्न आग्रह गर्नुभएको छ । एक्लै हिँड्ने लहड हो कि एक्लै पर्नुभएको हो ? भन्दै उहाँले प्रश्नसमेत गर्नुभयो । देश र जनताको हितमा सिंगो संसद् प्रधानमन्त्रीको साथमा रहेको भन्दै संसद्लाई उपेक्षा नगर्न उहाँले आग्रह गर्नुभयो । ‘देश र जनताको हितमा सिंगो संसद् तपाईंको साथमा छ । तर, संसद्प्रति उपेक्षा गरेर होइन, आफ्नो जवाफदेहिता ऐच्छिक नमानेर संवैधानिक कर्तव्य पालना गर्नुहोस्’, उहाँले भन्नुभयो । संवैधानिक संस्थाहरू कार्यपालिकाका लाचार छाया बन्दै गएको उहाँले आरोपसमेत लगाउनुभयो । लोकतन्त्रमा परिणाम मात्रै नभई प्रक्रिया पनि लोकतान्त्रिक हुनुपर्नेमा सरकारको ध्यान नपुगेको उहाँले बताउनुभयो ।
एसी कोठामा बसेर देश बुझ्न सकिँदैन : साम्पाङ
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपालमा नागरिकको सुरक्षा, न्याय, सेवासुविधा र रोजगारीका अवसर कमजोर बन्दै गएको आरोप लगाउनुभएको छ । देशलाई देशजस्तो बनाउन सरकार गम्भीर भएर काम गर्नुपर्ने उहाँले बताउनुभयो । प्रधानमन्त्रीले नैतिक तथा पदीय जिम्मेवारी बहन गर्नुपर्ने उहाँको भनाइ छ । ‘नेपालमा कोही पनि सुरक्षित छैनन् । सांसदसमेत सुरक्षित भएको अवस्था छैन’, उहाँले भन्नुभयो, ‘राज्यले नागरिकलाई सबैभन्दा पहिले सुरक्षा दिनुपर्छ । त्यसैले देशलाई देशजस्तो बनाइराख्न हामीले के के गर्नुपर्छ तयार छौँ । एसी कोठामा बसेर देश बुझिन्न ।’
लिखित निवेदन दिँदा पनि प्रधानमन्त्रीले भेट्न समय दिनुभएन : स्वाँर
कांग्रेस सांसद भरतबहादुर स्वाँरले प्रधानमन्त्री बालेन शाहले भेट नदिएको गुनासो गर्नुभएको छ । लिखित माग गर्दा पनि प्रधानमन्त्रीलाई भेट्न नपाएको उहाँको भनाइ छ । व्यक्तिगत रूपमा प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यहरूसँग केही माग र भेट्नुपर्ने कारण नभएको उहाँले बताउनुभयो । ‘मैले भेट्ने समय माग्दै चैत्र २१ गतेबाट लिखित निवेदन उहाँका स्वकीयको हातमा थमाएको थिएँ । तर, आजसम्म पनि भेट्ने मौका पाइनँ,’ उहाँले भन्नुभयो, ‘तपाईं कुन कुम्भकर्णको निद्रामा हुनुहुन्छ प्रधानमन्त्रीज्यू ? यो समग्र सुदूरका जनता र अछामका जनतामाथि गरेको अपमान हो ।’ उहाँले सरकारका पछिल्ला गतिविधिको चर्को आलोचना गर्नुभयो ।
उद्योग मन्त्रीलाई स्पष्टीकरण सोध्न खुस्बुको आग्रह
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले उद्योगमन्त्री गौरीकुमारी यादवलाई स्पष्टीकरण सोध्न प्रधानमन्त्री बालेन शाहलाई आग्रह गर्नुभएको छ । प्रतिनिधिसभा बैठकमा सांसद ओलीले मन्त्री यादव ग्यासको आपूर्ति प्रणाली सुधारभन्दा पनि आलोचना गर्ने व्यक्तिहरूलाई फोन गरेर ग्यास बाँड्ने काममा लागेको आरोप लगाउनुभयो । ‘उद्योगमन्त्री ग्यास बाँड्दै हिँड्नुभएको छ । फोन गरेर तपाईंको घरमा ग्यास छ ? भनेर सोध्दै हुनुहुन्छ । जनताहरू तातो घाममा, ग्यासको लाइनमा बसेको उहाँले देखिराख्नु भएको छैन ?’, ओलीले भन्नुभयो, ‘के मन्त्रीको काम व्यक्ति व्यक्तिलाई ग्यास बाँड्दै हिँड्ने हो ? कति जनालाई उहाँले फोन गर्न सक्नुहुन्छ ? दश, बीस, तीसजना । हजारौँ, लाखौँलाई त फोन गर्न सक्नुहुन्न । उहाँको काम त यो प्रणालीलाई काम गराउने हो ।’
इन्टर्न डाक्टरको दुःख, अपमानलाई निजी र सरकारी नबनाऔँ : धिताल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक क्रान्तिशिखा धितालले इन्टर्न डाक्टरहरूको दुःखलाई निजी र सरकारी भनेर विभेद गर्न नहुने बताउनुभएको छ । धितालले मुलुकबाट डाक्टर पलायन भइरहेको अवस्थामा डाक्टरहरूलाई स्वदेशमा टिक्न सक्ने बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । ‘एउटा विद्यार्थी एमबिबिएस पढेर निस्कँदा लाखौँ खर्च हुन्छ । इन्टर्न डाक्टरले निजी मेडिकल कलेजमा सरदर १० हजार र सरकारी मेडिकल कलेजमा २४ हजार पेरिफेरी पाएको छ’, धितालले भन्नुभयो, ‘निजी र सरकारी मेडिकल कलेजले एउटै मापदण्ड बनाउन त्यति प्राक्टिकल नहोला तर यति धेरै अन्तर हुनु पनि न्यायोचित होइन ।’







मनसुनी वायुको प्रभाव, देशका केही
यस्तो छ आजका लागि विदेशी
सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला