काठमाडौं । नेपाली कांग्रेसमा जारी आन्तरिक विवाद झन्/झन् गहिरिँदै गएको छ । गत पुसमा भएको विशेष महाधिवेशनबाट सुरु भएको कांग्रेसको आन्तरिक किचलो विभाजनको संघारमा पुगेको छ । गत बिहीबार सर्वोच्च अदालतले आधिकारिकता विवादमा यसअघि गरेको फैसला पुनरवलोकनको लागि अनुमति दिएसँगै संस्थापन र इतर समूह थप आमनेसामने भएका छन् । इतर समूहले यसअघि तय गरेको राष्ट्रिय भेलाको तयारी तीव्र पारेको छ । संस्थापन पक्षले पनि पार्टीको १५औँ महाधिवेशनको तयारी अघि बढाएको छ । सर्वोच्च अदालतले २१ साउनमा कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दाको पुनरवलोकनका लागि अनुमति प्रदान गरेसँगै संस्थापनइतर समूहले महाधिवेशनसम्बन्धी गतिविधि अघि नबढाउन आग्रह गर्दै निर्वाचन आयोग र पार्टीलाई पत्राचार गरेको छ । इतर समूहको राष्ट्रिय भेला मूल आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले मंगलबार आयोग र पार्टी केन्द्रीय कार्यालयलाई पत्राचार गर्नुभएको हो । इतर समूहका नेता दीपक खड्काले सर्वोच्च अदालतको निस्सालाई आधार मानेर पार्टीका गतिविधि स्थगित गर्न दुवै निकायलाई पत्राचार गरिएको जानकारी दिँदै भन्नुभयो, ‘अदालतको निस्सालाई आधार मानेर पार्टीका गतिविधि स्थगित गर्नलाई आयोग र पार्टी कार्यालयलाई अनुरोध गरेर डा. शशांकले चिठी पठाउनुभएको हो ।’
इतर समूहले पठाएको पत्रमा निर्णयहरू रोक्का गर्न, दूरगामी निर्णयहरू नगर्न र विधिको शासनको सम्मान गर्न आग्रह गरिएको छ । पत्रमा भनिएको छ, ‘पार्टीको आगामी १५औँ महाधिवेशन वा विशेष महाधिवेशनसम्बन्धी कुनै पनि सांगठनिक, प्राविधिक वा नीतिगत कार्यतालिकाहरू तत्काल स्थगित गरियोस् । अदालतको अन्तिम फैसला नआएसम्म पार्टीको तर्फबाट गरिने कुनै पनि दीर्घकालीन प्रभाव पार्ने नीतिगत, राजनीतिक, सांगठनिक वा आर्थिक निर्णयहरू पूर्णरूपमा यथास्थितिमा राखियोस् ।’
सर्वोच्चको पूर्ण इजलासबाट मुद्दाको अन्तिम फैसला नभएसम्म सम्पूर्ण सांगठनिक संरचनाहरूलाई साबिककै अवस्थामा राख्दै अदालतको गरिमा र कानुनी प्रक्रियालाई पूर्णरूपमा सहयोग र सम्मान गर्न पनि पत्रमार्फत पार्टी र आयोगलाई आग्रह गरिएको छ । सर्वोच्चले २१ साउनमा कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दाको पुनरवलोकनका लागि अनुमति प्रदान गरेको थियो । उक्त अनुमतिपछि कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवाद फेरि सुरुदेखि नै सुनुवाइ हुने भएको छ । अदालतले पार्टीको वैधानिकता र नेतृत्वको विवादमा यसअघि भएको फैसलालाई पुनरवलोकन गर्ने अनुमति दिएसँगै असन्तुष्ट समूहले थप आक्रामक कदम चालेको छ । अदालतमा विचाराधीन मुद्दाको अन्तिम परिणामलाई असर पर्नेगरी कुनै पनि गतिविधि अगाडि बढाए अदालतको अवहेलना वा कानुनी प्रतिकूलता सिर्जना भएमा त्यसको जिम्मेवार सम्बद्ध पक्ष नै हुने पत्रमा उल्लेख छ ।
डा.शेखर समूह पनि राष्ट्रिय भेलामा सहभागी हुने
नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला साउन २९ गतेबाट काठमाडौंमा सुरु हुने संस्थापनइतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुने हुनुभएको छ । राष्ट्रिय भेला पार्टी विभाजनका लागि नभएकाले डा.कोइराला सहभागी हुने कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिनुभएको हो । भेलामा सहभागी भएर कोइरालाले पार्टी एकताका लागि आह्वान गर्ने उहाँको भनाइ छ । इतर पक्षले पूर्वमहामन्त्री डा.शशांक कोइरालाको संयोजकत्वमा साउन २९ देखि भदौ ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेलाको आयोजना गर्दै छ । भेलाको संयोजन गरिरहनु भएका डा.शशांकले पनि भेलाप्रति डा.शेखरको पनि सहमति रहेको बताउनुभएको थियो ।
इतर समूहको भेला स्थगित भन्दै कसले निकाल्यो नक्कली विज्ञप्ति ?
कांग्रेसको इतर समूहले काठमाडौंमा आयोजना गरिएको राष्ट्रिय भेला स्थगित नभएको प्रष्टीकरण दिएको छ । आयोजक समितिका संयोजक डा.शशांक कोइरालाको नाममा कार्यक्रम स्थगित भएको भन्दै मंगलबार एक विज्ञप्ति सामाजिक सञ्जालमा भाइरल भएपछि इतर समूहले खण्डन गरेको हो । इतर समूहको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले साउन २९ देखि ३१ गते काठमाडौंमा भेला हुने कुरा सुनिश्चित भइसकेको भन्दै कुनै पनि भ्रममा नपर्न आग्रह गर्नुभएको हो । संयोजकको किर्ते हस्ताक्षरसमेत गरी तथाकथित विज्ञप्ति जारी गरिएको भन्दै उहाँले आपत्ति जनाउनुभएको छ । भेलाको तयारी तीव्र भइरहेकाले कुनै हालतमा पनि नरोकिने स्पष्ट पार्दै विश्वकर्माले भन्नुभयो, ‘प्राडा.शशांक कोइरालाको नेतृत्व, शीर्ष नेताहरूको समर्थन, सभापति शेरबहादुर देउवाको स्वदेश आगमन र भेलालाई सम्बोधन गर्नुहुने तथा अदालतबाट मुद्दाको पुनरवलोकन गर्ने आदेश (अनुमति) समेत आइसकेपछि डराएको हतास मनस्थितिको उपजको रूपमा कार्यक्रमबारे जथाभावी लेखेका हुन् ।’
प्रचार विभाग प्रमुख विश्वकर्माले भन्नुभयो, ‘नक्कली विज्ञप्ति निकालेर भ्रम फैलाइएको छ । तोकिएकै समयमा हाम्रो कार्यक्रम हुन्छ । यो भेलालाई रोक्न खोज्नेहरूले भ्रम फैलाएको हुनसक्छ, मैले हाम्रो आधिकारिक कुरा सामाजिक सञ्जालमार्फत जानकारी गराइसकेको छु ।’ कांग्रेसको आधिकारिकता सम्बन्धमा अदालतबाट मुद्दाको पुनरवलोकन आदेशपछि हतास मानसिकतामा संस्थापन पक्षबाट यस्तो गतिविधि भएको आरोप लगाउँदै विश्वकर्माले भन्नुभयो, ‘अदालतबाट मुद्दाको पुनरवलोकन गर्ने आदेश आइसकेपछि डराएको हतास मनस्थितिको उपजको रूपमा कार्यक्रमबारे जथाभावी लेखेर संयोजकको किर्ते हस्ताक्षर गरी तथाकथित, नक्कली, किर्ते विज्ञप्ति जारी गरेको पाइएकोले गम्भीर आपत्ति व्यक्त गर्दै त्यस्ता गतिविधि कसैले नगर्न नगराउन सचेत गराउँदछौँ ।’
देउवाको स्वागतमा सात हजार नेता-कार्यकर्ता उतारिने
करिब पाँच महिनापछि स्वदेश फर्किन लाग्नुभएका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको भव्य स्वागतको तयारी गरिएको छ । राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा स्वागतको तयारी भइरहेको नेता मीन विश्वकर्माले जानकारी दिनुभएको हो । देउवा यही साउन २८ गते दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रने कार्यक्रम छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देउवाको स्वागतको लागि करिब पाँचदेखि सात हजार नेता कार्यकर्ता उपस्थित हुने जानकारी दिँदै नेता विश्वकर्माले भन्नुभयो, ‘हामीले स्वागत गर्न पाउनुपर्छ भनेर नै उहाँलाई दिउँसो आउने गरी मिलाइएको हो । राष्ट्रिय भेला मूल समारोह समितिका संयोजककै नेतृत्वमा पार्टीका शीर्ष नेताहरू स्वागतमा जानुहुन्छ । हामीले उहाँको स्वागतमा करिब पाँचदेखि सात हजार नेता कार्यकर्ता उपस्थित हुने अनुमान गरेका छौँ ।’ इतर समूहका नेता एनपी साउदले देउवालाई करिब पाँच हजार नेता–कार्यकर्ताको स्वागत र धुम्बाराहीस्थित निवाससम्म ‘स्कर्टिङ’ गर्ने तयारी रहेको जानकारी दिनुभएको छ । गत फागुन १३ गते स्वास्थ्य उपचारका लागि सिंगापुर जानुभएका देउवा राष्ट्रिय भेलाको छेको पारेर काठमाडौं फर्किन लाग्नुभएको हो ।
संस्थापनइतर फेरि सर्वोच्च जाने तयारी
आधिकारिकता दाबी गर्दै दोस्रो पटक सर्वोच्च अदालत पुगेको नेपाली कांग्रेसको संस्थापनइतर पक्षले फेरि अदालत जाने तयारी गरेको छ । गत पुस अन्तिममा भएको विशेष महाधिवेशनलाई वैधता दिँदै गगन थापा नेतृत्वको कार्यसमितिलाई सर्वोच्च अदालतले दिएको आदेश पुनरवलोकन माग गर्दै इतर समूह दोस्रो पटक सर्वोच्च पुगेको थियो । प्रधानन्यायाधीश डा. मनोज शर्मा, न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले २१ साउनमा पुनरवलोकन अनुमतिका लागि निस्सा प्रदान गरेको छ । यसअघि गत ४ वैशाखमा सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले विशेष महाधिवेशन र गगनकुमार थापाको नेतृत्वलाई वैधता दिएको थियो ।
त्यतिबेला पहिलो पटक इतरपक्ष निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध सर्वोच्च पुगेको थियो । यता, कांग्रेस संस्थापन पक्षले अघिल्लो बैठकले तय गरेको तालिकाअनुसार १५औँ महाधिवेशन गर्ने तयारी सुरु भइसकेको जनाएको छ । कांग्रेसको १५औँ महाधिवेशन आगामी १६-१९ असोजमा काठमाडौंमा हुने तालिका छ । वडा तहदेखि अधिवेशनको प्रक्रिया २ भदौदेखि सुरु हुने कार्यतालिका छ । अदालतले फैसला पुनरवलोकनको अनुमति दिए पनि संस्थापन पक्षले १५ औँ महाधिवेशनको तयारी नरोक्ने जनाएको छ । मुद्दा चले पनि अधिवेशनको प्रक्रिया नरोक्ने संस्थापनको अडानपछि इतरपक्ष सशंकित बनेको छ । यसैले आधिकारिकता विवादमा सर्वोच्चले प्रारम्भदेखि नै सुनुवाइ गर्नेगरी निस्सा दिएकाले महाधिवेशन प्रक्रिया सुरु गर्न नमिल्ने दाबीसहित इतर पक्ष रिट दायर गर्ने तयारीमा लागेको हो ।






‘हुलास डे २०२६’ मा सामुदायिक
प्रस्तावित दूरसञ्चार ऐनको अवधारणा पत्र
केयू-सिकागो विश्वविद्यालयको सहकार्यमा अन्तर्राष्ट्रिय अनुवाद
न्यायपालिकाको स्वतन्त्रता संकटमा
रास्वपामा चिसिँदो सम्बन्ध, सल्किँदो आगो
राशिफल २२ साउन, वृष :