सडलो छी तैयो राजपुततँ छी
यो भनाइ विराटनगरे कोइराला, तराईका राजपुत र पहाडका ठकुरी क्षेत्रीका चरित्रमा शतप्रतिशत लागू हुने गरेको देखिन्छ । हात्तीको दाँत एकपटक बाहिर निक्लेपछि फेरि भित्र पस्दैन भनिन्छ । यो कुरो कताकति मान्छेमा पनि लागू हुन्छ । राजाले बोलेको कुरो बदलिँदैन भनिन्थ्यो तर हाम्रा देशका राजा वीरेन्द्रले गिरिजाप्रसादलाई एकपटक पञ्चायतको विकल्प तिमी पनि खोज, म पनि जनभावना बुझ्छु भनेको केही महिनापछि ‘व्यवस्थाको विकल्प खोज्नु निरर्थक छ’ भनिदिएका थिए । नाता पनि पर्ने योग्य भनेर शेबदेले जे भने त्यही गर्ने गरेका राजा वीरेन्द्रले शेबदेलाई नै असक्षम भनेर हटाएका थिए । शेरबहादुरको बानी पनि विचित्रकै थियो । मेरा गोरुको बारै टक्का गर्थे ।
उनलाई कुर्सी र पैसा अति प्यारा थिए । बारम्बार संकटकाल लाउँदा सिध्याउँदैनन् यिनले ? जनतामाथि अन्याय हुन्छ त्यो फिर्ता गरभन्दा पार्टी नै फुटाइदिए । गिरिजाप्रसाद कोइराला पनि उस्तै थिए । आफूले गरेका कुरामा कहिल्यै पुनर्विचार गर्न तयार नहुने । मान्छेहरू गिरिजाले बोल्यो कि पोल्यो भन्थे । गिरिजाले चिताए कि बिताए पनि भन्थे । निर्णय गर्नुभन्दा पहिले सबै प्रकारका राय सल्लाह लिने, समुचित किसिमले सोच्ने अनि गरिएका निर्णयमा अडिग रहने प्रजातन्त्रवादी नेताको चारित्रिक विशेषता नै मानिन्छ ।
चुनदेवी फुर्किनु र सानेपा थर्कनुको कुनै अर्थ र तुक छैन । शेरबहादुरको विकल्प अति आवश्यक भएको थियो गगन विश्वले जुन बेला पर्खने धैर्य गरेनन् कुरो त्यत्तिमात्र हो । राजनीति गर्नेले मौकामा चौका जसले पनि हान्छन् । शेरबहादुरलाई ओली, प्रचण्ड, पत्नी र पद भए पुगेको देखिन्थ्यो ।
आफ्नै मुराद पूरा गर्न र सत्ता सर्वोपरी हो भनेर मूल्यमान्यता पद्धति मिच्ने प्रवृत्ति दुबैमा थियो । कल, छल, बल आफ्नै कुरा लागू गराउने यी दुबै (कोइराला–देउवा)को बानी, स्वभाव र चिन्तन प्रजातान्त्रिक आचरण विपरीत नै थिए । शेबदेका गुरु नै थिए कोइराला । पछि किसुनजीले कोइरालालाई तह लाउने हतियारका रूपमा कूटनीतिक पाराले शेबदेलाई उपयोग गरेको पनि देखियो । यस कुराबाट भर्तृहरिको ‘नगरबधू र राजनीतिको चरित्र समान हुन्छ’ भन्ने भनाइलाई पुष्ट्याइँ मिल्छ ।
मरलो भुन्ना रहुक दू गुन्ना
लामो संघर्षबाट खारिएको भनेर मान्नैपर्छ शेरबहादुरजीलाई । यद्यपि नेपाली कांग्रेसका नेतामध्ये भाग्यले अति सहयोग गरेको नेतामा पर्छन् । विधानको छिद्र, संविधानको प्रावधान, दलमा पाएको जनसमर्थन, क्रियाशील सदस्यता कब्जा गरेर भए पनि नेपाली कांग्रेसलाई आफ्नै स्वार्थपूर्तिको साधन बनाउन यिनी पनि सफल भए । लगभग नेपाली कांग्रेसका सबैले दललाई बहुमत र संघर्षको कठिन समयको निहुँमा स्वार्थपूर्तिको माध्यम बनाएकै थिए तर शेबदेले अलि बढी गरेको सबैले महसुस किन गरे भने उनले विपरीत विचारसँग गठबन्धन गरेर आफ्नै दललाई भोट दिन चाहने कार्यकर्तामाथि पार्टीनिर्णय उल्लंघन गरेको आरोपमा बबिसको विष हालेर खोलाका माछा मारेझैं दलका इमानदार कार्यकर्ताको कत्लेआम पनि गरे ।
पछिल्लो समयमा उनको भन्दा उनकी पत्नीको हैकम चलेको कुरो धेरै सुनिन लागेको पनि थियो । राजा वीरेन्द्रको भन्दा ऐश्वर्य र अरू पारिवारिक सदस्यको हुकुम बढी चल्न लागेपछि रानी ऐश्वर्यका सम्बन्धमा अनेकौं उपनामात्मक आलोचना समाजमा व्याप्त भएका थिए । शेरबहादुरको र उनकी पत्नीको पनि यो माम्ला बाक्लिएको थियो । शेरबहादुरका लागि प्रचण्ड र केपी शर्मा ओली मुराद पूर्तिका राम्रा पात्र बनेका थिए । यदि ‘इनफ इज इनफ’ र भदौ २३-२४ को तरुण आन्दोलन नभएको भए सम्भवतः शेरबहादुरको विकल्प ओली र ओलीको विकल्प प्रचण्डका क्रममा देश कतिन्जेल घुम्ने मेचको अन्धोमान्छे बनेर चक्कर लाउन विवश बन्थ्यो ।
अहिले भने बालेन्द्रका आलाकाँचा र संसदीय व्यवस्थाले कल्पना नगरेका उद्दण्ड विधि-व्यवहारले नेपाली जनता ‘तावाबाट उम्केको माछो भुंग्रामा’ बनेको अनुभव गर्न लागेका छन् । विज्ञान तथा प्रविधि प्रतिष्ठानलाई मन्त्रालयको एउटा विभाग बनाउने, विश्वविद्यालयलाई शिक्षामन्त्रालय मातहतमा लाने योजना गर्दैछन् रे । यसभन्दा लज्जास्पद सोच केही होला ? हुनसक्छ ? यही हो श्वेतआतंक, सरकारी आतंक जे भन्नुस् तानाशाही सोच भनेको यही हो । सम्भवतः अदालत पनि यस्तै अनुभवका कारणले आफ्नो निर्णय पुनरवलोकनका लागि तयार भएको हुनसक्छ । भारत, चीन र रुसको त्रिकोणीय संरक्षणमा शेबदे नेपाल आउँदैछन् पनि भन्न लागिएको छ ।
यो प्रक्रिया पनि आफूलाई ज्यान गए पनि गगनभन्दा विशिष्ट ठानी विशेष महाधिवेशनभन्दा उपल्लो मान्ने गगनलाई अवैध सभापति मानेर, हिजो गगनले सही गरेर दिएको टिकट लिएर चुनावमा जाने तर उनलाई सभापति नमान्ने बल पनि यही धरातलीय राजनीतिले त दिएको होइन ? मरेको भुना माछो पनि रहुको दुईगुना हुन्छ भन्ने भ्रम पार्ने नेकाको विधानको व्याख्या सर्वोच्चले गर्ने नै छ । एक पटकको गल्तीले पुनरवलोकन पाउनुभनेको कांग्रेसका विधानमा भएको वाक्य वाक्यांशका वाक्यगत अर्थ र सूच्यार्थको भ्रम पार्ने कुराको स्पष्ट व्याख्याको अवसर हो । आफ्नो निर्णय आफैंले पुनरवलोकन गर्ने न्यायको परिपक्व र विश्वव्यापी पद्धति हो ।
अतः चुनदेवी फुर्किनु र सानेपा थर्कनुको कुनै अर्थ र तुक छैन । शेरबहादुरको विकल्प अति आवश्यक भएको थियो गगन-विश्वले जुन बेला पर्खने धैर्य गरेनन् कुरो त्यत्तिमात्र हो । राजनीति गर्नेले मौकामा चौका जसले पनि हान्छन् । शेरबहादुरले जति देशका बौद्धिक वर्गलाई बेवास्ता अहिलेसम्म अरूले गरेका पनि थिएनन् । उनलाई ओली, प्रचण्ड, पत्नी र पद भए पुगेको देखिन्थ्यो । पाँचौं थियो भने पनि कसैलाई थाह छैन हुन दिएनन् ।
वादीप्रतिवादीभ्यां निर्णितोऽर्थ सिद्धान्तः
वादीप्रतिवादीका बीचमा विचारविमर्श भएर निर्णित भएको कुरो नै निर्णय हुन्छ भन्ने विधिशास्त्रीय निर्देश उल्लंघन भएको छ कि भनेर पुनः आरम्भदेखि नै हेर्ने निस्सा अदालतले दिएको हुनुपर्छ । ५४ प्रतिशत भन्दा बढी मान्छे देशभरिबाट तयारीका साथ आएर तीन तीन दिन विशेष महाधिवेशन भएको देशविदेशले देखेको छ । महाधिवेशनमा आएको तरुण पुस्ताको त्यो आइरोलाई नजरअन्दाज गर्ने कुनै तागत होला ? पटकपटक अवसर पाएर पनि देश, जनता, मूल्यमान्यताभन्दा आफ्नै स्वार्थको चिन्तनमा डुबेका स्वघोषित बडासाहेबका पछि को जालान् ? प्रजातन्त्र मर्यादित व्यवस्था हो । यसलाई अति अमर्यादित बनाएकै कारणले अनेकौं विकल्पको खोज भइरहेका सन्दर्भमा भएको त्यो महाधिवेशनले निहित स्वार्थलाई बाहेक सबैलाई आशाभरोसा जगाएको थियो ।
नेपालमा भएका राजनीतिक दलमध्ये देशदेशावरमा प्रजातन्त्र, स्वतन्त्रता र विधिको सर्वोच्चताप्रति दृढ रहेको दल नेपाली कांग्रेस नै हो । यसो भएका कारणले सबैले आस गर्ने पनि यसैसँग हो तर करनी र कथनी एकनास नदेखिएपछि जनताले विकल्प खोज्छन् र खोजे पनि । विकल्पमा रोजेको दलको प्रधानमन्त्रीको व्यवहार देखेर पश्चातापग्रस्त छन् एकथरी ।
आज विचार गर्दा स्वयं सभापति गगन थापा उत्साह र संकल्पभएका तर बौद्धिक परिपक्वता नभएका देखिन्छन् । प्रशंसामात्र खोज्ने नेता हुँदैन । अमेरिका र पाकिस्थानको घुसपैठलाई चिर्न भारत लागेको त छैन ? भन्ने आशंका पनि बौद्धिक विश्लेषकले गर्न लागेका देखिन्छन् । न्यायालयमा पनि अनेकौं अस्वस्थ खेल भएका छन् । ‘यथा राजा तथा प्रजा’ भनेजस्तो जुन प्रकारको मान्छे प्रधानमन्त्री बन्छ विश्वव्यापी नियमलाई पनि तदनुकूल नगर्दा गराउँदा रहेछन् र त भनिँदोरहेछ हात्तीका देखाउने र चबाउने दुई दाँत । आज कांग्रेस बीपीको मूल्यमान्यतायुक्त मार्गमा अभिसार गर्ला कि भनेर तमाम मान्छे पर्खेर बसेका छन् तर त्यता लाग्ने लक्षण हराउँदै गएको छ । त्यस्तै भएर पुनरवलोकनले १४औं महाधिवेशनकै समिति ल्यायो भने पनि राजनीति त्यसले थेग्नेवाला छैन ।
पटकपटक राजनीतिलाई कानुनका सिङमा झुण्ड्याउने प्रवृत्ति निकम्मा राजनीतिकर्मीको चरित्र हो । यी सबैका खुट्टी जनताले राम्ररी देखेका छन् । एकथरी प्राध्यापकहरू छट्पटाएका छन् । विष्टका घरमा रोटी पाक्यो पुहुनीलाई छट्पटजस्तै भएको छ । हामीले भनेर कहिल्यै यिनीहरूले सुनेनन्, आज पनि सुन्दैनन् भनेर लोते कान लाउने प्राध्यापक धेरै देखिँदारहेछन् । कालेका बाख्रा र बाघको कथा राजनीतिक दलका क्रियाकलाप र बौद्धिक समुदायका बीचमा आज टड्कारिएको रहेछ । २०४६ भन्दा पहिलेको कांग्रेस चाहियो भने केही प्राध्यापकले । कांग्रेस दुईवटा भयो भने र ४०-६० को भागबण्डा अनि अप्राकृतिक गठनबन्धनका पृष्टपोषकको बोलवाला चल्यो भने आगामी धेरै वर्ष कांग्रेस कमजोर भएर बस्छ ।
अनि ०४६ सालभन्दा पहिलेको कांग्रेस स्वतः भेट्छन् ती प्राध्यापकले पनि । देश हुकुमी शासनका तौरतरिकातिर जानलागेको देख्दा भने चिन्ता लाग्छ तर राजनीति खुला भएपछि राजनीतिकर्मी नै सुध्रनुपर्छ । हामी पेसाव्यवसायमा लागेका वर्गका छट्पटीले केही हुँदैन । मान्छेको लासमा कर लाउने, जनताले बाल्ने बत्तीमा, शिक्षामा कर लाएर गरिबको ढन्न्नासो सेक्ने सरकारका विरुद्ध संसद्मा प्रभावकारी किसिमले कुरो उठाएर टुंग्याउन नसक्ने राजनीतिक दलका लागि कोही ज्यान हत्केलामा लिएर सडकमा जाँदैनन् । न बोली ठीक, न व्यवहार ठीक, न त चिन्तन ठीक यिनको शासन हिजो देखिएन र ? यही अवस्था अब रवि र बालेनले पनि दुईचार महिनामा नै भोग्नुपर्छ ।
नेपालमा भएका राजनीतिक दलमध्ये देशदेशावरमा प्रजातन्त्र, स्वतन्त्रता र विधिको सर्वोच्चताप्रति दृढ रहेको दल नेपाली कांग्रेस नै हो । यसो भएका कारणले सबैले आस गर्ने पनि यसैसँग हो तर करनी र कथनी एकनास नदेखिएपछि जनताले विकल्प खोज्छन्/खोजे पनि । विकल्पमा रोजेको दलको प्रधानमन्त्री लाँचेजस्तो काला टोडकामा बसेर डिङ हाँक्ने दम्भी, छली, सुल्फे र नेप्पोबेबीहरूको झुण्ड परेकामा पश्चातापग्रस्त छन् एकथरी भने अर्काथरी जुन जोगी आए पनि कानै चिरेका देखेर लोते कान लाउन विवश छन् ।
यद्भविष्यति तद्भविष्यति
संस्कृतको नीतिशास्त्रले भन्छ मानवीय पुरुषार्थमा पटकपटक डढेलो लाग्यो, आशाका तरंगमा तुषारपात भयो, मान्छेको बुद्धि विवेक र उद्यमशीलताले अडिने धरातल भेटेन भने बाध्य भएर जे हुन्छ त्यही स्वीकार्न विवश बन्छ मान्छे । यसै कारण मान्छेले विधि बनायो त्यसैका आडमा नियम बनायो तर उसभित्रको नृशंसताले सोझा सरल आफ्नो बुद्धिविवेक र पुरुषार्थमा विश्वास गर्ने ओझेलमा पर्नलाग्दा क्रान्तिको ज्वारभाटा उठ्ने गरेको छ । आजका न्यायिक पद्धति र प्रक्रिया, मानवीय विवेक, नियम नमरून् । अतिले सीमा ननाघोस् । देश चलाउने र देश चलाउन मद्दत गर्नेहरूको पनि बुद्धि फिरोस् । फेरि देशले जल्नुबल्नु नपरोस् र सबै आ-आफ्नो कुटोकोदालो गरेर खाएर बस्ने वातावरण मिलेर मुलुकमा शान्ति आओस् ।
घृतात् स्वादीयो मधुनश्चवोचत । (घ्यूभन्दा पोसिलो र महजस्तो मीठो बोल) ।







यस्तो छ आजका लागि विदेशी
सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा