‘नैबेद’ कथाकार विनोदबाबु रिजालको दोस्रो कृति तथा कथा विधाको पहिलो कृति हो । शिखा बुक्सबाट प्रकाशित यस कथासंग्रहमा चौधवटा कथाहरू समेटिएका छन् । विषयवस्तुको विविधता, समकालीन यथार्थ र मानवीय संवेदनाको संयोजन नै यस कृतिको विशेषता हो । संग्रहको पहिलो कथा ‘अर्की गर्लफ्रेन्ड’ले कृत्रिम बुद्धिमत्ता (एआई) र मानवीय सम्बन्धबीचको सम्भावित भविष्यलाई प्रश्नका रूपमा प्रस्तुत गर्छ । यदि एआईले मानवीय संवेदना र मनोभावना बुझ्नसक्ने बनिदियो भने मानिसको अस्तित्व र सम्बन्धको स्वरूप कस्तो होला भन्ने जिज्ञासालाई कथाले रोचक ढंगले उठाएको छ ।
समग्रमा ‘नैवेद’ विविध विषयवस्तुमा आधारित कथासंग्रह हो । कतिपय कथाहरूमा भूतप्रेत, बोक्सी, सपना र अन्धविश्वासका प्रसंग मिसिए पनि तिनले कथाको प्रभावलाई कमजोर बनाएका छैनन् । पहिलो कथामार्फत एआईजस्तो समकालीन विषयलाई पाठकमाझ परिचित गराउनु कथाकारको अर्को सबल पक्ष हो ।
‘माइली’ मा अनावश्यक शंका, मदिरा सेवन र अविश्वासले एउटा सुखी परिवार कसरी बिस्तारै विघटनतर्फ जान्छ भन्ने यथार्थ चित्रण गरिएको छ । परिस्थितिले माइलीलाई अर्को सम्बन्ध रोज्न बाध्य बनाए पनि यस्ता अवस्थामा महिलाले आत्मनिर्भर र संघर्षशील बन्ने विकल्प अझ सशक्त हुने अनुभूति कथा पढिसकेपछि हुन्छ ।
‘टाई’ गरिबी र आधुनिक शिक्षाप्रणालीबीचको असमानताको मार्मिक कथा हो । विद्यालयको प्रतिष्ठाको प्रतीक बनेको टाई नै एउटा गरिब परिवारका लागि घाँटीको पासो बन्छ । शिक्षा सबैको अधिकार भए पनि बाह्य आडम्बरले त्यो अधिकार कसरी खोस्नसक्छ भन्ने कुरा कथाले प्रभावकारी रूपमा देखाएको छ ।
‘लीली गार्डेन’ प्रेम, विश्वास र वियोगको कथा हो । बिना कुनै सूचना वा कारण सम्बन्ध टुटेपछि विवेकले भोग्ने मानसिक छटपटी अत्यन्त जीवन्त ढंगले प्रस्तुत गरिएको छ । मलाई कथामा महिला पात्र सशक्त होऊन् भन्ने चाहन्छु, तर श्रेयाजस्तो कठोर होइन, जसले निमेषभरमै कसैको मन चकनाचुर पारिदियोस् ।
‘क्याप्टेन डाँडा’ पढ्न सुरु गर्दा यात्रा संस्मरण वा यात्रा डायरीजस्तो लाग्छ । तर, अन्त्यसम्म पुग्दा कथाले एक्कासि फरक मोड लिन्छ र पाठकलाई स्तब्ध बनाइदिन्छ । पूर्णबहादुर रानाको पात्रमार्फत लेखकले प्रभावशाली अन्त्य दिन सफल भएका छन् ।
‘दोस्रो बिहे’मा समाजले लगाइदिने बिभिन्न किसिमका ठप्पाहरूले महिलालाई मरेतुल्य बनाइदिन्छ । दोष काटिने विश्वासमा भगवानसँग पहिलो विवाह विधि पुर्याएरमात्र प्रेमीसकसँग लगनगाठोमा कसिएकी नवविवाहित औश्याहा केटीलाई समाजले श्रीमान्लाई मार्न आएकी हत्याराको नजरले हेरिदिँदा मानसिक असन्तुलनको शिकार हुनपुग्छे । कुनै न कुनै रूपमा कमजोर भनिने दागमात्र देखिए पनि महिलालाई खेदिरहने यो समाज कहिले र कसरी सचेत बन्ला ?
‘बोक्सी’ अन्धविश्वासको पीडादायी पक्षलाई उजागर गर्ने कथा हो । समाज धेरै हदसम्म सचेत बन्दै गए पनि कतिपय ठाउँमा अझै यस्ता सोचहरू जीवित छन्, जहाँ आफ्नै आमालाई पनि बोक्सीको आरोप लगाइन्छ । कथा निकै हृदयस्पर्शी लाग्यो ।
कथाहरू छोटा, कसिला र सहज भाषामा लेखिएका छन् । एउटै स्वादका कथाभन्दा फरक–फरक विषय पढ्न रुचाउने पाठकका लागि यो संग्रह अझ रोचक लाग्छ । विविध स्वादका कथामार्फत पाठकलाई अन्तिम पृष्ठसम्म बाँधिराख्न सफल भएको ।
‘अन्तिम चुम्बन’ अभाव, जिम्मेवारी र मातृत्वको कथा हो । आर्थिक अभावले सरितालाई आफ्नै अस्तित्व बेच्न बाध्य बनाउँछ । प्रयोगमात्र गर्ने तर सम्बन्धको नाम दिन नसक्ने पुरुषहरूको प्रवृत्तिमाथि कथाले प्रश्न उठाएको छ । अन्त्यमा रूपेशले सरिताको छोरालाई अँगालोमा समेटेको दृश्यले भने कथालाई थप भावुक बनाएको छ । ‘भोग’ अन्धविश्वासको भयावह रूप प्रस्तुत गर्ने कथा हो । कथाको अन्त्यसम्म पुग्दा पाठक आफैं झस्किन बाध्य हुन्छ । समयमै प्रहरी नपुगेको भए हुनसक्ने सम्भावित दुर्घटनाको कल्पनाले नै शरीर सिरिंग हुन्छ ।
‘अपहरण’ प्रेम, जिम्मेवारी र मातृत्वको संवेदनालाई केन्द्रमा राखेर लेखिएको कथा हो । आफ्नो भविष्यको बहानामा गर्भवती प्रेमिकालाई सम्बन्धबाट पछि हट्न बाध्य बनाउने पुरुष पात्रले समाजको एउटा कटु यथार्थ उजागर गर्छ । कथाको मध्यभागमा केही अन्योल देखिए पनि अन्त्यले त्यसलाई सहज रूपमा समेटेको छ ।
‘अकाल’ कोभिडकालको त्रासदीलाई आधार बनाएर लेखिएको सशक्त कथा हो । मानिसले आफ्नै जीवनसँग संघर्ष गर्नुपरेको त्यो समय, आफन्त गुमाउँदाको पीडा र मृत्युको भय कथामा अत्यन्त प्रभावकारी रूपमा अभिव्यक्त भएको छ । कथा पढिसकेपछि जीवनप्रतिको माया अझ बढेर आउँछ । ‘बाध्यता’ले देशमा बढ्दो बेरोजगारीका कारण विदेशिन बाध्य युवाहरू र त्यसले पारिवारिक सम्बन्धमा पारेको प्रभावलाई विषय बनाएको छ । आजको नेपाली समाजको सान्दर्भिक यथार्थलाई कथाले समेटेको छ ।
‘शिविर’ सन्तानको चाहना र मातृत्वको गहिरो मनोविज्ञानमा आधारित कथा हो । सपनाको माध्यमबाट भए पनि एउटी महिलाले सन्तानका लागि गहिरो चाहना बोकेकी हुन्छे भन्ने कुरा कथाले संवेदनशील रूपमा प्रस्तुत गर्छ । ‘एक्सन–कट’ एउटा सामान्य शिक्षकको रंगीन सपना र त्यसपछि भएको मोहभंगको कथा हो । चलचित्र क्षेत्रमा प्रवेश गर्ने रहरले उसलाई क्षणिक आकर्षणतर्फ डोर्याउँछ, तर अन्ततः स्वाभिमानभन्दा ठूलो कुनै सपना नहुने सन्देश कथामार्फत व्यक्त भएको छ ।
समग्रमा ‘नैवेद’ विविध विषयवस्तुमा आधारित कथासंग्रह हो । कतिपय कथाहरूमा भूतप्रेत, बोक्सी, सपना र अन्धविश्वासका प्रसंगहरू मिसिए पनि तिनले कथाको प्रभावलाई कमजोर बनाएका छैनन् । पहिलो कथामार्फत एआईजस्तो समकालीन विषयलाई पाठकमाझ परिचित गराउनु कथाकारको अर्को सबल पक्ष हो ।
कथाहरू छोटा, कसिला र सहज भाषामा लेखिएका छन् । एउटै स्वादका कथाभन्दा फरक-फरक विषय पढ्न रुचाउने पाठकका लागि यो संग्रह अझ रोचक लाग्छ । विविध स्वादका कथामार्फत पाठकलाई अन्तिम पृष्ठसम्म बाँधिराख्न सफल भएकोमा कथाकार विनोदबाबु रिजाललाई हार्दिक बधाई । ‘नैवेद’ले पाठकको मन जित्नेमा कुनै दुईमत छैन ।
नारायणगढ, चितवन







प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :
फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै