चितवन । विद्यार्थी, युवा–युवती तथा विभिन्न उमेर समूहका मानिस वनभोजमा जाने प्रचलन सामान्य हो। तर, चितवनको सौराहामा भने बुधबार हात्तीलाई नै वनभोज गराइएको छ।
१५औँ विश्व हात्ती दिवसको अवसरमा सौराहास्थित बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा हात्तीलाई विशेष वनभोज आयोजना गरिएको हो।
हात्ती संरक्षण, उचित व्यवस्थापन तथा मानव–हात्ती सहअस्तित्वको सन्देश प्रवाह गर्ने उद्देश्यले युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाले कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा बाघमारा, चित्रसेन, जनकौली र कुमरोज मध्यवर्ती सामुदायिक वनको सहकार्य रहेको थियो।
वनभोजमा सरकारी तथा निजी गरी करिब ६० वटा हात्ती सहभागी भएका थिए। हात्तीलाई लामबद्ध गराएर उखु, गाजर, बन्दा, सुन्तला, ड्रागन फ्रुट, स्याउ, केरा, भुईँकटहर र फर्सीलगायत फलफूल तथा तरकारी खुवाइएको थियो।
सौराहाको पर्यटन इतिहास हात्ती सफारीसँग जोडिएको छ। हात्ती सफारीले चितवनको पर्यटन विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत हाल ५८ वटा हात्ती रहेका छन्। तीमध्ये सौराहामा मात्रै ४५ वटा हात्ती रहेको तथ्यांक छ। नेपालभर सरकारी तथा निजी गरी करिब १८५ वटा हात्ती रहेको जनाइएको छ।
हात्ती पर्यटनको आकर्षण मात्र नभई वन संरक्षण, गस्ती, विपद् व्यवस्थापन तथा चोरी–तस्करी नियन्त्रणमा समेत प्रयोग हुँदै आएका छन्। तर निजी हात्तीलाई निकुञ्जभित्रको घाँस उपयोग गर्न नपाउने अवस्थाले आहार व्यवस्थापनमा समस्या भएको व्यवसायीहरूको गुनासो छ।
युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले निजी हात्तीका लागि निकुञ्जबाट घाँस उपलब्ध गराउने व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ। उमेर पुगेका तथा काम गर्न नसक्ने हात्तीको दीर्घकालीन व्यवस्थापनका लागि ‘एलिफेन्ट सेन्चुरी’ निर्माण गर्नुपर्ने उहाँको भनाइ छ।
सरकारले हात्तीको किनबेच तथा ओसारपसारमा प्रतिबन्ध लगाएपछि बूढा तथा काम गर्न नसक्ने हात्तीको व्यवस्थापन थप चुनौतीपूर्ण बनेको व्यवसायीहरूले बताएका छन्। सेन्चुरी निर्माणका लागि आवश्यक स्थान उपलब्ध गराउनसमेत सरकारसँग माग गरिएको अध्यक्ष खतिवडाले बताउनुभयो।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले हात्तीबिनाको चितवन निकुञ्ज संरक्षणको कल्पना गर्न नसकिने बताउनुभयो।
उहाँका अनुसार अहिलेको मुख्य चुनौती हात्तीको संख्या बढाउनु मात्र नभई बासस्थानको क्षमताअनुसार दीगो संरक्षण र मानव–हात्तीबीच सहअस्तित्व कायम गर्नु हो।
















मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट
आजका लागि तोकियो विदेशी मुद्राको
कक्षा १२ को मौका परीक्षाको
सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष
कठिन चुनौतीबीच जनादेशको जिम्मेवारी
नेपाल गुणस्तर परिषद्को बैठक :