काठमाडौं । वर्षौंअघि बनेका नेपाली चलचित्र फेरि ठूलो पर्दामा प्रदर्शन गर्दा दर्शक आउलान् कि नआउलान् भन्ने प्रश्नको जवाफ चलचित्र विकास बोर्डले आयोजना गरेको ‘ओल्ड इज गोल्ड’ले दिएको छ । सात दिनसम्म चलेको ऐतिहासिक नेपाली चलचित्र प्रदर्शन शृंखलाका सबैजसो शो हाउसफुल भए । दर्शकको निरन्तर उपस्थितिले पुराना नेपाली चलचित्रप्रतिको आकर्षण अझै जीवित रहेको पुष्टि गरेको छ ।
बुधबार ‘बदलिँदो आकाश’ र ‘जीवनरेखा’को प्रदर्शनसँगै शृंखला औपचारिक रूपमा सम्पन्न भएको हो । सातदिनको अवधिमा नेपाली चलचित्र इतिहासका विभिन्न कालखण्ड प्रतिनिधित्व गर्ने दश चलचित्र ठूलो पर्दामा प्रदर्शन गरिएका थिए । ‘आमा’, ‘सिन्दूर’, ‘परिवर्तन’, ‘के घर के डेरा’, ‘मनको बाँध’, ‘कुमारी’, ‘शान्तिदीप’, ‘हिजो आज भोलि’, ‘बदलिँदो आकाश’ र ‘जीवनरेखा’ प्रदर्शनमा राखिएका थिए ।
पुराना चलचित्र पुनः प्रदर्शन गर्दा दर्शकको उपस्थिति कस्तो होला भन्ने अन्योलबीच सुरु भएको कार्यक्रमले पहिलो दिनदेखि नै उत्साहजनक प्रतिक्रिया पायो । कतिपय शोमा दर्शकले उभिएरै चलचित्र हेर्नुपर्ने अवस्था बनेको थियो । दोस्रो दिन ‘सिन्दूर’ र ‘परिवर्तन’का दुवै शो हाउसफुल भए भने तेस्रो दिन ‘के घर के डेरा’ र ‘मनको बाँध’ले पनि दर्शकको उल्लेख्य साथ पाए ।
‘ओल्ड इज गोल्ड’ सात दिनसम्म १० पुराना चलचित्र देखाइएको कार्यक्रम मात्र रहेन । यसले नेपाली चलचित्रको विगत, वर्तमान र भविष्यलाई एउटै पर्दा र एउटै पुस्ताबीच जोड्ने काम गरेको छ । सात दिनसम्म भरिएका हलले एउटा स्पष्ट सन्देश दिएका छन्, नेपाली सिनेमाको सुनौलो इतिहास दर्शकका लागि ‘गोल्ड’ नै छ ।
त्यसपछिका दिनमा समेत हल भरिने क्रम रोकिएन । अन्तिम दिनसम्म दर्शकको उत्साह कायम रह्यो । यसले नयाँ प्रविधि, डिजिटल प्लेटफर्म र स्ट्रिमिङ सेवाको विस्तारबीच पनि पुराना नेपाली चलचित्रप्रति दर्शकको भावनात्मक सम्बन्ध कायमै रहेको देखाएको छ ।
पर्दामा इतिहास, हलमा इतिहासका साक्षी
‘ओल्ड इज गोल्ड’को विशेषता पुराना चलचित्र प्रदर्शनमा मात्र सीमित रहेन । ती चलचित्रसँग प्रत्यक्ष रूपमा जोडिएका कलाकार, निर्देशक तथा चलचित्रकर्मी स्वयं हलमा उपस्थित भएर आफ्ना दशकौं पुराना सिर्जना दर्शकसँगै हेरे । कार्यक्रमका विभिन्न दिनमा नेपाली चलचित्र क्षेत्रका अग्रज कलाकार भुवन चन्द, चैत्यदेवी सिंह, वसुन्धरा भुसाल, शिव श्रेष्ठ, सन्तोष पन्त, हरिहर शर्मा, शकुन्तला शर्मा, टीका पहारी, सुष्मा शाही, शर्मिला मल्ल, पुरन जोशीलगायतको उपस्थिति रह्यो । उहाँहरूले तत्कालीन समयको चलचित्र निर्माण, अभिनय र आफ्नो अनुभव दर्शकसँग बाँडनुभयो ।
पुरानो पुस्ताका दर्शकका लागि कार्यक्रम आफ्ना पुराना स्मृतिसँगको पुनर्मिलन बन्यो भने नयाँ पुस्ताका लागि नेपाली चलचित्र इतिहास बुझ्ने जीवित कक्षाजस्तै रह्यो ।
अग्रजबाट नयाँ पुस्तालाई आशीर्वाद
समापन समारोहको सबैभन्दा अर्थपूर्ण पक्ष भने अग्रज चलचित्रकर्मीले नयाँ पुस्ताका कलाकार तथा सर्जकलाई खादा लगाएर आशीर्वाद दिएको क्षण बन्यो । नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्दले अभिनेत्री सिम्रन खड्कालाई, वरिष्ठ अभिनेता शिव श्रेष्ठले अभिनेता अरुण क्षेत्रीलाई, निर्देशक लक्ष्मीनाथ शर्माले निर्देशक डा.कपिल रिजाललाई तथा वरिष्ठ कलाकार टीका पहारीले निर्माता सुमन गिरीलाई खादा लगाएर शुभकामना दिनुभयो । वरिष्ठ कलाकार सन्तोष पन्तले वितरक करण क्रेजीलाई समेत खादा लगाएर आशीर्वाद दिनुभएको थियो । समापन कार्यक्रममा चलचित्र ‘गौँथली’का कलाकार अरुण क्षेत्री र सिम्रन खड्का, निर्देशक डा.कपिल रिजाल तथा निर्माता सुमन गिरीलगायतको उपस्थिति थियो ।
एकातिर पर्दामा ‘जीवनरेखा’ चलिरहेको थियो भने अर्कोतिर नेपाली चलचित्रको इतिहास निर्माण गरेका अग्रज पुस्ताले नयाँ पुस्तालाई अनुभव, सद्भाव र आशीर्वाद हस्तान्तरण गरिरहेका थिए । यसले कार्यक्रमको समापनलाई पुस्तान्तरणको सांकेतिक क्षणसमेत बनायो ।
पुराना फिल्मको संरक्षणमा नयाँ बहस
‘ओल्ड इज गोल्ड’ले पुराना नेपाली चलचित्रको संरक्षणसम्बन्धी बहसलाई पनि नयाँ आधार दिएको छ । पुराना चलचित्र संरक्षण गर्नु भनेको रिल, नेगेटिभ वा डिजिटल फाइल सुरक्षित राख्नुमात्रै नभई तिनलाई पुनः दर्शकमाझ पुर्याउनु पनि हो भन्ने सन्देश कार्यक्रमले दिएको छ ।
दशकौं पुराना चलचित्र हेर्न दर्शक हलसम्म पुग्नुले नेपाली सिनेमाका पुराना सिर्जनाप्रति चासो अझै रहेको देखाएको छ । विशेषगरी नयाँ पुस्ताका दर्शकले समेत पुराना चलचित्रलाई ठूलो पर्दामा हेर्ने अवसर पाउनु नेपाली चलचित्रको इतिहास र वर्तमानबीचको सम्बन्ध जोड्ने माध्यम बनेको छ ।
अब हरेक महिना पुराना फिल्मको विशेष शो
कार्यक्रमको उद्घाटनकै क्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ऐतिहासिक नेपाली चलचित्रको प्रदर्शनलाई सात दिनमा सीमित नराख्ने घोषणा गर्नुभएको थियो । उहाँले हरेक महिना पुराना तथा ऐतिहासिक नेपाली चलचित्रको विशेष शो आयोजना गर्ने र त्यसबाट प्राप्त रकम चलचित्र कल्याणकारी कोषमा जम्मा गर्ने बताएउनुभएको थियो ।
‘ओल्ड इज गोल्ड’मा देखिएको दर्शकको उत्साहले यस्तो अभियानलाई निरन्तरता दिनुपर्ने आधारसमेत तयार गरेको छ । पुराना चलचित्रप्रति दर्शकको रुचि र हलसम्मको सहभागिताले नेपाली चलचित्रका ऐतिहासिक कृतिलाई पुनः प्रदर्शन गर्ने सम्भावना देखाएको छ ।
यस अर्थमा ‘ओल्ड इज गोल्ड’ सात दिनसम्म १० पुराना चलचित्र देखाइएको कार्यक्रम मात्र रहेन । यसले नेपाली चलचित्रको विगत, वर्तमान र भविष्यलाई एउटै पर्दा र एउटै पुस्ताबीच जोड्ने काम गरेको छ । सात दिनसम्म भरिएका हलले एउटा स्पष्ट सन्देश दिएका छन्, नेपाली सिनेमाको सुनौलो इतिहास दर्शकका लागि ‘गोल्ड’ नै छ ।







प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :
फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै