हेटौँडा । हेटौँडा सिमेन्ट उद्योग लामो समयदेखि सञ्चालनमा नआउँदा त्यहाँ कार्यरत कर्मचारीले १४ महिनादेखि तलब पाउन सकेका छैनन् । उद्योग बन्द हुँदा कर्मचारीको नियमित पारिश्रमिक मात्र रोकिएको छैन, सञ्चय कोष, नागरिक लगानी कोष, बीमा, अवकाशपछिको उपदान लगायतका सुविधासमेत प्रभावित भएका छन् । लामो समयदेखि आम्दानी रोकिँदा कर्मचारीको दैनिक घरखर्च, ऋणको किस्ता र छोराछोरीको शिक्षासमेत प्रभावित भएको उनीहरूले बताएका छन् । उद्योग प्रशासनका अनुसार स्थायी कर्मचारीको तलब तथा विभिन्न सुविधाबापत मात्रै १२ करोड ३० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । त्यस्तै, दक्ष तथा अदक्ष श्रमिकको ज्यालाबापत एक करोड ५३ लाख २१५ रुपैयाँ, सुरक्षा सेवाबापत एक करोड ८४ लाख २५ हजार रुपैयाँ र अतिरिक्त कार्यबापत ७२ लाख ४८ हजार ७२० रुपैयाँ बक्यौता रहेको छ ।
उद्योगले कर्मचारीका विभिन्न शीर्षकमा तिर्नुपर्ने दायित्वसमेत ठूलो रहेको जनाएको छ । सामूहिक सावधिक जीवन बिमाबापत एक करोड ८६ लाख रुपैयाँ, सञ्चय कोष कट्टी दायित्व एक करोड ७२ लाख ९३ हजार रुपैयाँ, नागरिक लगानी कोषतर्फ ३७ लाख ५३ हजार रुपैयाँ, अवकाशप्राप्त कर्मचारीको उपदानबापत चार करोड ९० लाख रुपैयाँ र तलब कट्टी दायित्व ६३ लाख २५ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
तलब रोकिएपछि कर्मचारीहरू आर्थिक संकटमा परेका छन् । उद्योगमा कार्यरत कुमदेश झाले नियमित आम्दानी बन्द भएपछि परिवारको दैनिक खर्च व्यवस्थापन गर्न तथा ऋणको किस्ता तिर्न कठिन भएको बताउनुभयो । लामो समयसम्म तलब नआउँदा घरपरिवारको आधारभूत आवश्यकता पूरा गर्नसमेत समस्या भएको उहाँको भनाइ छ । त्यस्तै, कर्मचारी दीपेन्द्रकुमार ठाकुरले दुई सन्तानको विद्यालय खर्च जुटाउनसमेत कठिन भइरहेको बताउनुभयो । नियमित तलब नपाएपछि कर्मचारीको पारिवारिक दायित्व धान्न समस्या भएको उहाँले बताउनुभयो ।
उद्योगमा कार्यरत कर्मचारीले लामो समयदेखि तलब नपाए पनि हाजिरी भने लगाइरहेका छन् । कामको स्पष्ट वातावरण नहुँदा हाजिरी लगाएर बस्नुपर्ने अवस्था आएको उनीहरूको गुनासो छ । उद्योग सञ्चालन गर्ने वा कर्मचारीको समस्या समाधान गर्ने विषयमा तत्काल ठोस निर्णय लिन उनीहरूले सरकार र सम्बन्धित निकायसँग माग गरेका छन् । तलब तथा अन्य सुविधा उपलब्ध गराउन माग गर्दै कर्मचारीले जिल्ला प्रशासन कार्यालय, कर्मचारी व्यवस्थापन शाखा तथा सम्बन्धित सरकारी निकायमा पटक-पटक ध्यानाकर्षण गराउँदै आएका छन् । तर, लामो समय बितिसक्दा पनि समस्या समाधानका लागि ठोस पहल हुन नसकेको उनीहरूको गुनासो छ ।
हेटौँडा सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक भक्तिराम श्रेष्ठका अनुसार उद्योग करिब तीन वर्षदेखि सञ्चालनमा छैन । चालु पुँजीको अभावका कारण उत्पादन ठप्प भएको उहाँले बताउनुभयो । उद्योग सञ्चालनका लागि आवश्यक कोइला र जिप्सम ढुंगा खरिद गर्नसमेत पर्याप्त रकम नभएको उहाँको भनाइ छ । उद्योग सञ्चालनका लागि आवश्यक चालु पुँजी व्यवस्थापन गर्न नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयसँग कर्जा सुविधाका लागि पटक-पटक अनुरोध गरिएको श्रेष्ठले बताउनुभयो । तर, हालसम्म त्यसबारे ठोस निर्णय हुन नसकेको उहाँले जानकारी दिनुभयो ।
लामो समयसम्म उद्योग बन्द रहँदा त्यसको प्रत्यक्ष असर उत्पादनमा मात्र परेको छैन, उद्योगमा कार्यरत कर्मचारी र श्रमिकको रोजगारी तथा आर्थिक सुरक्षामासमेत परेको छ । उद्योग सञ्चालन नहुँदा एकातिर उत्पादन र आम्दानीको स्रोत बन्द भएको छ भने अर्कोतर्फ कर्मचारीको तलब, सामाजिक सुरक्षा र अवकाशसम्बन्धी दायित्व थपिँदै गएको छ ।
उद्योग प्रशासनले चालु पुँजीको व्यवस्था हुनसके उद्योग सञ्चालनमा ल्याउन सकिने जनाएको छ । तर, उद्योग पुनः सञ्चालनको स्पष्ट कार्ययोजना र कर्मचारीको रोकिएको तलब तथा सुविधाबारे ठोस निर्णय नहुँदा कर्मचारी अन्योलमा छन् । १४ महिनादेखि तलबविहीन कर्मचारीले अब उद्योग सञ्चालनसँगै आफूहरूको रोकिएको पारिश्रमिक र सुविधा तत्काल उपलब्ध गराउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।






प्रधानमन्त्रीलाई कांग्रेस नेता आचार्यको सुझाव
ग्यासको कृत्रिम अभाव र कालोबजारी
नेपाल–युरोप स्वास्थ्य सहकार्य विस्तारमा जोड,
सरकार लेनभन्दा बाहिर जान पाउँदैन
नेपालमा पहिलो ‘कमेडी एक्ट’ रियालिटी
कांग्रेसको १५औँ महाधिवेशनको मिति तलमाथि