काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज (बिहीबार) स्वदेश फर्किंदै हुनुहुन्छ । स्वास्थ्य उपचारको लागि सिंगापुर जानुभएका देउवा साढे पाँच महिनापछि स्वदेश फर्किन लाग्नुभएको हो । ‘जेन-जी’ आन्दोलनका क्रममा भदौ २४ गते आफ्नै निवास बूढानीलकण्ठमा प्रदर्शनकारीको आक्रमणमा परी गम्भीर घाइते हुनुभएका पूर्वप्रधानमन्त्री देउवा १३ फागुनमा सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर जानुभएको थियो । उहाँ ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुग्नुभएको थियो । हङकङबाट थाइल्याण्डको बैंकक पुग्नुभएका देउवा थाई एयरवेजको उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मध्यान्ह अवतरण गर्ने कार्यक्रम छ । देउवाको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो संख्यामा समर्थक उतार्ने तयारी भइरहेको छ ।
खासगरी कांग्रेस संस्थापनइतर समूहका नेताहरू देउवाको स्वागतलाई शक्ति प्रदर्शनका रूपमा देखाउने तयारीमा छन् । निवर्तमान सभापति देउवाको स्वागतको लागि राष्ट्रिय भेला आयोजक समितिका सबै नेताहरू विमानस्थल पुग्ने भेला आयोजकको प्रचारप्रसार उपसमिति संयोजक मीन विश्वकर्माले जानकारी दिनुभएको छ । प्रचार उपसमितिका संयोजक विश्वकर्माले भन्नुभयो, ‘उहाँलाई स्वागत गर्न राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा शीर्ष नेताहरू विमानस्थलमा पुग्नुहुन्छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइरालासहितका पूर्वपदाधिकारी, केन्द्रीय सदस्यहरूसहितको ठूलो समूह उहाँको स्वागतका लागि विमानस्थलमा पुग्छौँ ।’ पार्टीका शीर्ष नेताहरू देउवाको स्वागत गर्न अतिथि कक्षमा नै पुग्नेछन् । त्यसपछि देउवासँग मिडिया साक्षात्कार हुनेछ । उहाँको स्वागतको लागि पाँच हजारभन्दा माथिको संख्यामा नेता कार्यकर्ता विमानस्थल पुग्ने बताइएको छ ।
देउवाको स्वागतको लागि नेपाल तरुण दल तथा नेविसंघका कार्यकर्ताहरूसँग समन्वय गर्ने जिम्मेवारी तरुण दलका पूर्वअध्यक्ष जितजंग बस्नेत र युवा नेता कुन्दन काफ्लेलाई दिइएको छ । देउवालाई विमानस्थलमा स्वागत गर्ने नेता कार्यकर्ताले चुनदेवीस्थित निवाससम्मै स्कर्टिङ गर्नेछन् । विशेषगरी काठमाडौं, ललितपुर र भक्तपुरका नेता कार्यकर्तालाई स्वागतका लागि झण्डा र देउवाको फोटोसहित विमानस्थलमा उपस्थित हुन भनिएको छ । देउवाले २९ साउनको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने बताइएको छ । कांग्रेस नेता प्रकाशशरण महतका अनुसार देउवा २८ गते दिउँसो १२ बजे नेपाल आइपुग्ने भए पनि उहाँकी पत्नी एवं पूर्व-परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र छोरा जयवीर स्वदेश फर्किने छैनन् ।
राष्ट्रिय भेलाको स्थान तय
नेपाली कांग्रेसको संस्थापनइतर समूहले राष्ट्रिय भेलाका लागि स्थान तय गरेको छ । २९ साउनका लागि घोषणा गरिएको राष्ट्रिय भेलाका लागि इतर समूहले सुकेधारास्थित मिराकल पार्टी प्यालेस बुकिङ गरेको हो । इतर समूहको प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माले मिराकल पार्टी प्यालेसमा भेला गर्ने निर्णय भएको जानकारी दिनुभएको छ । संयोजक विश्वकर्माले भन्नुभयो, ‘भेला सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने निश्चित भएको छ । भेलाको प्रमुख अतिथि शेरबहादुर देउवा हुनुहुन्छ ।’ राष्ट्रिय भेलाको उद्घाटन समारोह शुक्रबार दिउँसो १ बजे सुरु हुनेछ । राष्ट्रिय भेला पूर्वसभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा तीन दिनसम्म चल्ने बताइएको छ । भेलामा पाँच हजार नेता कार्यकर्ताहरूको उपस्थिति हुने इतर समूहको दाबी छ । पहिलो दिन उद्घाटन सत्र हुने र बाँकी दुई दिन बन्दसत्र हुने बताइएको छ ।
अहिलेलाई देउवा दाइको आवश्यकता हो : नेता महत
नेपाली कांग्रेसइतर समूहका नेता डा.प्रकाशशरण महतले पार्टी जीवन र समग्र मुलुकको राजनीतिको लागि अहिले शेरबहादुर देउवाको आवश्यकता रहेको दाबी गर्नुभएको छ । कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बिहीबार काठमाडौं आउँदै हुनुहुन्छ । परिवारसहित हङकङमा रहनुभएका देउवा एक्लै स्वदेश फर्किन लाग्नुभएको हो । अहिले आफूहरूलाई पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको आवश्यकता रहेको उल्लेख गर्दै महतले भन्नुभयो, ‘अहिलेलाई शेरबहादुर दाइको मात्रै आवश्यकता छ । भाउजू विस्तारै आउनुहोला । दाइले आएर कांग्रेसको राजनीति सुधार्नुहुन्छ भन्ने अपेक्षा राखेका छौँ ।’ देउवा फेरि राजनीतिमा सक्रिय हुन लाग्नुभएको हो ? भन्ने प्रश्नमा नेता महतले साउन २९ गतेको सम्बोधनपछि सबै कुरा छर्लङ्ग हुने जवाफ दिनुभएको छ ।
कांग्रेस फुट्ने कि जुट्ने देउवाले बोलेपछि स्पष्ट हुन्छ : नेता लेखक
नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टी फुट्ने वा नफुट्ने विषय पूर्वसभापति शेरबहादुर देउवा नेपाल आएर धारणा राखेपछि मात्रै स्पष्ट हुने बताउनुभएको छ । पूर्व-गृहमन्त्रीसमेत रहनुभएका तथा देउवाका विश्वासपात्र नेता लेखकले देउवाले २९ गते सम्बोधन गरेपछि कांग्रेस कसरी अघि बढ्ने ? भन्ने विषयमा टुंगो लाग्ने बताउनुभएको हो । राष्ट्रिय भेलामा पूर्वसभापति देउवासहित विभिन्न नेताले समसामयिक राजनीतिक विषयमा धारणा राख्ने कार्यक्रम रहेको उल्लेख गर्दै लेखकले भन्नुभयो, ‘कसरी अगाडि बढ्ने भन्ने विषयमा शेरबहादुर दाइ आएपछि आफ्ना कुरा राख्नुहोला । त्यसपछि यही गर्ने भन्ने एउटा निष्कर्षमा पुग्छौँ । २९ गते उहाँसहित अन्य नेताहरूले बोलेपछि सबै कुरा स्पष्ट हुन्छ ।’ गत पुसमा विशेष महाधिवेशनमार्फत गगन थापा सभापतिमा निर्वाचित हुनुभएको थियो । तर, देउवा पक्षले थापाको नेतृत्वलाई अस्वीकार गर्दै आएको छ । यस्तै, नेता डा.शेखर कोइराला पनि पछिल्लो समय देउवा पक्षसँग नजिकिएको चर्चा चलेको छ । कोइरालाले समेत २९ गते हुने कार्यक्रममा सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।
महामन्त्री घिमिरेको प्रश्न- ‘शेरबहादुर दाइलाई मोहरा बनाएर के गर्न खोजिँदै छ ?’
नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीभित्रको एक पक्षले पूर्वसभापति शेरबहादुर देउवाको नाम र व्यक्तित्वलाई दुरुपयोग गरी पार्टीलाई कमजोर बनाउने खेल खेलिरहेको आरोप लगाउनुभएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा बोल्दै महामन्त्री घिमिरेले देउवाको लामो राजनीतिक योगदानको सम्मान गर्नुपर्नेमा जोड दिँदै अर्को पक्षले देउवाको नाममा आफ्नो राजनीतिक अस्तित्व स्थापित गर्न खोज्नु गलत भएको तर्क गर्दै भन्नुभयो, ‘तपाईं (शेरबहादुर देउवा) लाई गोटी बनाएर, तपाईंको काँधमा बन्दुक राखेर र तपाईंको चरम दुरुपयोग गरेर नेपाली कांग्रेसलाई भताभुंग पार्ने प्रयत्न भइरहेको छ । जब आफ्नो केही गर्ने सामर्थ्य र तागत छैन, तब शेरबहादुर दाइलाई मोहरा बनाएर के गर्न खोजिँदै छ ?’






प्रधानमन्त्रीलाई कांग्रेस नेता आचार्यको सुझाव
ग्यासको कृत्रिम अभाव र कालोबजारी
नेपाल–युरोप स्वास्थ्य सहकार्य विस्तारमा जोड,
सरकार लेनभन्दा बाहिर जान पाउँदैन
नेपालमा पहिलो ‘कमेडी एक्ट’ रियालिटी
कांग्रेसको १५औँ महाधिवेशनको मिति तलमाथि