विराटनगर । नेपाली कांग्रेसका चार मन्त्री र एक राज्यमन्त्रीले सामूहिक राजीनामा दिएसँगै कांग्रेस औपचारिक रूपमा कोशी प्रदेश सरकारबाट बाहिरिएको छ।
कांग्रेसका तर्फबाट कोशी प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले बुधबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष राजीनामा बुझाएका हुन्।
भौतिक पूर्वाधार विकासमन्त्री प्रदीप सुनुवारको नेतृत्वमा कांग्रेसका मन्त्रीहरूले राजीनामा बुझाएका हुन्। राजीनामा दिनेमा भौतिक पूर्वाधार विकासमन्त्री प्रदीप सुनुवार, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, स्वास्थ्य मन्त्री मानबहादुर लिम्बु, उद्योग, कृषि तथा सहकारीमन्त्री इसराइल मन्सुरी र राज्यमन्त्री शोभा चेम्जोङ पालुङ्वा रहेका छन्।
राजीनामापछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री सुनुवारले लोकतन्त्रमा प्रतिपक्षको भूमिका महत्वपूर्ण हुने भएकाले कांग्रेस सरकारबाट बाहिरिएको बताउनुभयो।
यसअघि नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच प्रदेश सरकार गठनका विषयमा तीनबुँदे सहमति भएपछि कांग्रेसले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। समर्थन फिर्ता लिए पनि कांग्रेसका मन्त्रीहरू भने सरकारमै रहँदै आएका थिए।
बुधबार मन्त्रीहरूले सामूहिक राजीनामा दिएसँगै कांग्रेसले औपचारिक रूपमा कोशी प्रदेश सरकारबाट बाहिरिएको हो।
कांग्रेस सरकारबाट बाहिरिएसँगै कोशी प्रदेशमा नयाँ राजनीतिक समीकरण निर्माणको बाटो खुलेको छ। एमाले र नेकपाबीच भएको सहमतिअनुसार प्रदेश सरकार सञ्चालन तथा मन्त्रालय बाँडफाँडको समीकरण अब थप स्पष्ट हुने अपेक्षा गरिएको छ।






न्यायपालिकाको स्वतन्त्रता संकटमा
रास्वपामा चिसिँदो सम्बन्ध, सल्किँदो आगो
राशिफल २२ साउन, वृष :
‘जय नेपाल पार्टी’को उदय :
नयाँ तलबमान सार्वजनिक
कांग्रेस विवाद निरूपणको प्रश्न फेरि