काठमाडौं । हिमालयन अर्गनाइजेसनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रालिले चीनको प्रतिष्ठित अटोमोबाइल निर्माता डोङफेङका दुई नयाँ बस(इभी) नेपाली बजारमा सार्वजनिक गरेको छ । नाइमा मोबिलिटी एक्स्पो २०२६ मा कम्पनीले सार्वजनिक गरेका बसमध्ये एउटा ७.२ मिटरको २५ सिट क्षमताको र अर्को २७ सिट क्षमताको रहेको छ ।
कम्पनीका अनुसार बसको प्रारम्भिक मूल्य एक करोड १४ लाख ५० हजार रुपैयाँदेखि सुरु हुन्छ । एक्स्पोमा बुकिङ गर्ने पहिलो ५० जना ग्राहकका लागि पाँच लाख रुपैयाँसम्मको विशेष छुट उपलब्ध हुनेछ । डोङफेङ मोटर कर्पोरेसन सन् १९६९ मा स्थापना भएको चीनको प्रमुख तथा प्रतिष्ठित अटोमोबाइल उत्पादक कम्पनी हो । जसले यात्रुवाहक सवारीसाधन, व्यावसायिक सवारी, बस, ट्रक, विद्युतीय सवारीसाधन, विशेष प्रयोजनका सवारी तथा अटोमोबाइलका विभिन्न पार्टपूर्जा उत्पादन गर्दै आएको छ ।
डोङफेङका सवारीसाधन एसिया, युरोप, अफ्रिका, मध्यपूर्व तथा दक्षिण अमेरिकालगायतका विभिन्न बजारमा बिक्री तथा सञ्चालनमा छन् । नेपालमा पनि डोङफेङ ब्राण्डका ट्रक, कार तथा माइक्रोबसहरू बिक्री हुँदै आएका छन् । नयाँ बसको प्रवेशसँगै नेपाली व्यावसायिक तथा सार्वजनिक यातायात क्षेत्रमा डोङफेङको उपस्थिति थप विस्तार हुने अपेक्षा गरिएको छ ।
कम्पनीले यसअघि भारतको फोर्स मोटर्स तथा चीनको एसएआइसी ग्रुपअन्तर्गतको म्याक्ससका सवारीसाधन नेपालका लागि आधिकारिक बिक्रेताका रूपमा बिक्री-वितरण गर्दै आएको छ ।
डोङफेङका बस नेपाल भित्र्याइएको र ग्राहकको आवश्यकता र मागअनुसार सार्वजनिक गरिएका बसमा थप सुविधा तथा उपकरण जडान गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बसहरूमा पाँच वर्ष वा दुई लाख किलोमिटरसम्मको वारेन्टी उपलब्ध हुने, ग्राहकले थप शुल्क तिरेर तीन वर्षसम्मको थप वारेन्टी खरिद गर्न सक्ने, ग्राहकको मागअनुसार बसमा लक्जरी सिट जडान गर्न सकिने, बसमा प्रवेशद्वार ग्राहकको आवश्यकताअनुसार एक वा दुर्ईवटा बनाउन सकिनेछ ।
कम्पनीले निकट भविष्यमा डोङफेङका थप बस मोडल नेपाल ल्याउने तयारी गरेको जनाएको छ । जसमा ८.२ मिटरको स्कुल बस, नौ मिटरको ३८ सिट क्षमताको बस तथा १२ मिटरको ५२ सिट क्षमताको बस रहेका छन् । आयाम इन्टरकन्टिनेन्टलले डोङफेङ बसका ग्राहकलाई बिक्रीपछिको सेवा सहज रूपमा उपलब्ध गराउन विशेष ध्यान दिएको जनाएको छ ।






मेसीको दुई गोलमा इन्टर मियामीको
नेपालले एसियाडमा २२ खेलमा १३६
२०२७ एकदिवसीय विश्वकप छनोट
फिफा अध्यक्षले माफी मागे, तत्काललाई
एनटी टप एण्ड टी-२० खेल्न
देशभरका आदिवासी जनजाति काठमाडौंमा जुट्दै,