काठमाडौं । मन्दीका बाबजुद पनि मंगलबारदेखि सुरु भएको अटोमोबाइल्सको क्षेत्रको कुम्भ मेला ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा आकर्षण देखिएको छ । मेला अवधिभरमा करिब डेढ लाखले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेकोमा पहिलो दिनमै २९ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका थिए । दोस्रो दिन बुधबार पनि २६ हजारभन्दा बढीले अवलोकन गरेका थिए । खासगरी पछिल्लो समय नेपालमा पनि विस्तार हुँदै गएको दुईपांग्रे र चारपांग्रे विद्युतीय सवारीसाधन(इभी)मा अवलोकनकर्ताको बढी आकर्षण देखिएको बताइएको छ ।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा एक्स्पो नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो । आयोजकका अनुसार एक्स्पोमा नेपालमा पहिलोपटक प्रवेश गरेका ब्राण्डदेखि अन्य नयाँ मोडलका विद्युतीय कार, ई-स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षणका रूपमा रहेका छन् । साउन ३१ गते अर्थात् छ दिनसम्म सञ्चालन हुने एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता रहेको छ ।
एक्स्पोमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले सवारी खरिदका लागि विशेष अफर तथा सहुलियत कर्जा उपलब्ध गराइरहेका छन् । एक्स्पोको पहिलो दिन विभिन्न ब्राण्डले ४८ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका थिए भने दोस्रो दिन पनि थप नयाँ ब्राण्ड दुईपांग्रे र चारपांग्रे सवारीसाधन सार्वजनिक गर्ने क्रम चलिरहेको थियो । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ लाई लक्षित गर्दै बीमा कम्पनीहरूले सवारीसाधन बीमामा विशेष ब्याजदर तथा विभिन्न सहुलियतपूर्ण योजनाहरू सार्वजनिक गरेका छन् ।
खासगरी पछिल्लो समय नेपालमा पनि विस्तार हुँदै गएको दुर्ईपांग्रे र चारपांग्रे विद्युतीय सवारीसाधन(इभी)मा अवलोकनकर्ताको बढी आकर्षण देखिएको बताइएको छ ।
त्यस्तै सवारीसाधन खरिद गर्ने ग्राहकलाई आर्थिक सुरक्षा र सहजता प्रदान गर्ने उद्देश्यले बीमा कम्पनीहरूले एक्स्पोमै सेवाहरू प्रदान गरिरहेका छन् । एनएलजी इन्स्योरेन्स र सलिको इन्स्योरेन्स मुख्य बीमा पार्टनरका रूपमा एक्स्पोमा सवारीसाधनको बीमाअन्तर्गत दुर्घटना, आगलागी, प्राकृतिक विपत्ति, चोरी, तेस्रो पक्षको दायित्व तथा व्यक्तिगत घटनासम्म समेट्ने गरी व्यापक सुरक्षा योजना सार्वजनिक गरेका छन् ।
एक्स्पोकै अवसरमा नाइमाले अटोमोबाइलसँग सम्बन्धित विभिन्न सत्रहरू पनि सञ्चालन गरिरहेको छ । पहिलो दिन ‘इन्भेष्टमेन्ट एण्ड फरेन डाइरेक्ट इन्भेष्टमेन्ट(एफडिआइ) : मोबिलाइजिङ-फूयल फर इकोनोमिक ग्रोथ’ विषयक सत्र सञ्चालन गरिएको थियो । पूर्वबैंकर अनिलकेशरी शाहले सहजीकरण गर्नुभएको उक्त छलफलमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं आर्थिक अनुसन्धान विभाग प्रमुख डा. सत्येन्द्र तिमल्सिना, डोल्मा फाउण्डेसनका अध्यक्ष टिम गोचर, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र नाइमा अध्यक्ष वैद्यले प्यानलिस्टका रूपमा सहभागिता जनाउनुभएको थियो ।
उक्त कार्यक्रममा ‘बेसिक लाइफ सपोर्ट एण्ड इमिडिएट केयर आफ्टर रोड ट्राफिक एक्सिडेन्ट्स’ विषयमा ग्राण्डी इन्टरनेसनल हस्पिटलले विशेष प्रस्तुति दिएको थियो । आयोजकका अनुसार मंगलबारको लर्निङ सेसनमा मात्रै तीन सयभन्दा बढीले सहभागिता जनाएका थिए । एक्स्पो अवधिभर स्वदेशी तथा विदेशी विज्ञहरूद्वारा ‘लर्निङ सेसन्स, पोलिसी डायलग एण्ड इण्डष्ट्रिज इन्टर्याक्सन्स’लगायतका कार्यक्रमहरू सञ्चालन हुने बताइएको छ । मेलाको को-स्पोन्सरमा ग्लोबल आइएमई बैंक लिमिटेड रहेको छ भने रेडबुल पावर्डबाईका रूपमा रहेको छ । त्यस्तै बैंकिङ पार्टनरका रूपमा एनएमबी बैंक र सिद्धार्थ बैंक रहेका छन् ।
त्यस्तै टेक्नोलोजी पार्टनरमा बोस सर्भिलियन्स पार्टनरमा भत्सल इम्पेक्स(हिकभिजन) तथा फायर एण्ड सेफ्टी पार्टनरमा हिट्को प्रालि रहेका छन् । एक्स्पोको टिकेटिङ पार्टनरमा आइएमई खल्ती, म्यानेजमेन्ट पार्टनरमा मिडिया स्पेस सोलुसन्स, कनेक्टिभिटी पार्टनरमा वर्ल्डलिंक रहेका छन् ।
डोङफेङका दुई इभी बस सार्वजनिक
हिमालयन अर्गनाइजेसनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रालिले चीनको प्रतिष्ठित अटोमोबाइल निर्माता डोङफेङका दुई नयाँ बस(इभी) नेपाली बजारमा सार्वजनिक गरेको छ । नाइमा मोबिलिटी एक्स्पो २०२६ मा कम्पनीले सार्वजनिक गरेका बसमध्ये एउटा ७.२ मिटरको २५ सिट क्षमताको र अर्को २७ सिट क्षमताको रहेको छ । कम्पनीका अनुसार बसको प्रारम्भिक मूल्य एक करोड १४ लाख ५० हजार रुपैयाँदेखि सुरु हुन्छ ।
एक्स्पोमा बुकिङ गर्ने पहिलो ५० जना ग्राहकका लागि पाँच लाख रुपैयाँसम्मको विशेष छुट उपलब्ध हुनेछ । डोङफेङ मोटर कर्पोरेसन सन् १९६९ मा स्थापना भएको चीनको प्रमुख तथा प्रतिष्ठित अटोमोबाइल उत्पादक कम्पनी हो । जसले यात्रुवाहक सवारीसाधन, व्यावसायिक सवारी, बस, ट्रक, विद्युतीय सवारीसाधन, विशेष प्रयोजनका सवारी तथा अटोमोबाइलका विभिन्न पार्टपूर्जा उत्पादन गर्दै आएको छ । डोङफेङका सवारीसाधन एसिया, युरोप, अफ्रिका, मध्यपूर्व तथा दक्षिण अमेरिकालगायतका विभिन्न बजारमा बिक्री तथा सञ्चालनमा छन् । नेपालमा पनि डोङफेङ ब्राण्डका ट्रक, कार तथा माइक्रोबसहरू बिक्री हुँदै आएका छन् । नयाँ बसको प्रवेशसँगै नेपाली व्यावसायिक तथा सार्वजनिक यातायात क्षेत्रमा डोङफेङको उपस्थिति थप विस्तार हुने अपेक्षा गरिएको छ ।
कम्पनीले यसअघि भारतको फोर्स मोटर्स तथा चीनको एसएआइसी ग्रुपअन्तर्गतको म्याक्ससका सवारीसाधन नेपालका लागि आधिकारिक बिक्रेताका रूपमा बिक्री–वितरण गर्दै आएको छ ।
डोङफेङका बस नेपाल भित्र्याइएको र ग्राहकको आवश्यकता र मागअनुसार सार्वजनिक गरिएका बसमा थप सुविधा तथा उपकरण जडान गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बसहरूमा पाँच वर्ष वा दुई लाख किलोमिटरसम्मको वारेन्टी उपलब्ध हुने, ग्राहकले थप शुल्क तिरेर तीन वर्षसम्मको थप वारेन्टी खरिद गर्न सक्ने, ग्राहकको मागअनुसार बसमा लक्जरी सिट जडान गर्न सकिने, बसमा प्रवेशद्वार ग्राहकको आवश्यकताअनुसार एक वा दुर्ईवटा बनाउन सकिनेछ ।
कम्पनीले निकट भविष्यमा डोङफेङका थप बस मोडल नेपाल ल्याउने तयारी गरेको जनाएको छ । जसमा ८.२ मिटरको स्कुल बस, नौ मिटरको ३८ सिट क्षमताको बस तथा १२ मिटरको ५२ सिट क्षमताको बस रहेका छन् । आयाम इन्टरकन्टिनेन्टलले डोङफेङ बसका ग्राहकलाई बिक्रीपछिको सेवा सहज रूपमा उपलब्ध गराउन विशेष ध्यान दिएको जनाएको छ ।
चेरीका इभी भ्यानमा ‘हायर पर्चेज’ सुविधा
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा चेरी ब्राण्डले स्मार्ट विद्युतीय व्यावसायिक इभी भ्यान प्रस्तुत गरेको छ । एक्स्पोको स्टल नम्बरः १६, हल डीमा चेरी ब्राण्डका ११, १२, १४ र १६ सिट क्षमताका विद्युतीय व्यावसायिक सवारी प्रदर्शनमा राखिएका छन् । कम्पनीका अनुसार व्यावसायिक तथा स्कुल, कलेजलाई ध्यानमा राखेर तयार गरिएका इभी भ्यानमा आधुनिक प्रविधि, पर्याप्त ब्याट्री क्षमता, उच्च पिकपावर र उत्कृष्ट ग्राउन्ड क्लियरेन्सलाई प्राथमिकता दिइएको छ । चेरी ब्राण्डका ११ र १२ सिटका मोडलमा ४१.८६ किलोवाटको सिएटिएल ब्याट्री, ७० किलोवाट पिकपावर, १८० मिलिमिटर ग्राउन्ड क्लियरेन्स र एकपटकको चार्जमा तीन सय किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ ।
त्यस्तै, १४ सिट क्षमताको मोडलमा ५३.५८ किलोवाट सिएटिएल ब्याट्री, ८० किलोवाट पिकपावर, दुई सय मिलिमिटर ग्राउन्ड क्लियरेन्स तथा तीन सय किलोमिटरसम्मको रेन्ज रहेको छ । १६ सिट क्षमताको मिनी बसमा ५३.५८ तथा ७० किलोवाटको सिएटिएल ब्याट्री, ८० तथा १२० किलोवाट पिकपावर, २१० मिलिमिटर ग्राउन्ड क्लियरेन्स र मोडलअनुसार २८० देखि ३५० किलोमिटरसम्मको रेन्ज रहेको छ । कम्पनीले हायर पर्चेजमार्फत् बिनाधितो गाडी खरिद गर्ने सुविधासमेत उपलब्ध गराइएको जनाएको छ ।
जगदम्बा मोटर्सको प्रोटोन इ.मास ५
नेपालस्थित प्रोटोन गाडीको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले भर्खरै नेपाली बजारमा सार्वजनिक गरेको नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयुभी प्रोटोन इ.मास ५ नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा विशेष आकर्षणको केन्द्र बनेको जनाएको छ । एक्स्पोमा हल ‘बी’ स्थित स्टल ‘एल-६’ मा नयाँ इ.मास ५ लाई नजिकबाट अवलोकन तथा बुकिङ गर्न सकिने बताइएको छ । सार्वजनिक भएसँगै अत्यधिक मात्रामा बुकिङ भइरहेको र एक्स्पोमा पनि ग्राहकहरू तथा अटो पारखीहरूको व्यापक ध्यान खिचिरहेको कम्पनीको दाबी छ ।
सेग्मेन्टमै पहिलोपटक रियर–ह्विल–ड्राइभ प्लेटफर्ममा आधारित गाडीमा सन्तुलित तौल वितरण, उत्कृष्ट ड्राइभिङ क्षमता, उच्च स्थायित्व तथा सहज नियन्त्रण सुविधा रहेको छ । उल्लेखित विशेषताले व्यस्त शहरी सडकदेखि राजमार्ग र नेपालको पहाडी सडकमा पनि सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न मद्दत गर्ने कम्पनीको विश्वास रहेको छ ।
कम्पनीका अनुसार इ.मास ५ मा सामान व्यवस्थापनका लागि तीनवटा स्मार्ट स्टोरेज सुविधा उपलब्ध छन् । जसमा ७० लिटर क्षमताको अगाडिको स्टोरेज, आफ्नो वर्गमै विशेष २८ लिटर क्षमताको सिटमुनिको स्टोरेज तथा २० लिटर क्षमताको सेन्टर कन्सोलमुनिको स्टोरेज समावेश गरिएको छ । अन्य विशेषतामा रियर मल्टि-लिंक इन्डिपेन्डेन्ट सस्पेन्सन, तीन सय ७५ लिटरको बुट स्पेस, १४.६ इन्चको फुल एचडी डिस्प्ले युनिट, ३६.९ मिटरको उत्कृष्ट ब्रेकिङ दूरी र जि-ट्रयाक्सन कन्ट्रोल सिस्टमजस्ता अत्याधुनिक सुरक्षा प्रणाली समावेश गरिएको छ । त्यसैगरी ४.९५ मिटर काटर्निङ रेडियस, सेग्मेन्टमै पहिलो रियर-ह्विल ड्राइभ प्रणाली, ६५ डिग्रीको फराकिलो डोर ओपनिङ एंगल र बाह्य विद्युतीय उपकरण चलाउन मिल्ने भेहिकल-टु-लोड (भिटुएल) जस्ता प्रविधि उपलब्ध छन् ।
त्यस्तै प्रिमियम भेरियन्टमा ८५ किलोवाटको ११-इन-१ इलेक्ट्रिक मोटर र पावर्ड टेलगेट, ३६०-डिग्री क्यामेरा जस्ता उत्कृष्ट सुविधाहरू रहेका कम्पनीले जनाएको छ । प्रोटोन इ.मास ५ प्राइम र प्रिमियम गरी दुर्ई भेरियन्टमा उपलब्ध रहेको छ । कम्पनीले जसको अद्यावधिक बजार मूल्य प्राइम भेरियन्टका लागि ३२ लाख ९९ हजार र प्रिमियम भेरियन्टका लागि ३६ लाख ९९ हजार निर्धारण गरेको छ ।
मोन्ट्रा इलेक्ट्रिकको ‘सुपर अटो’
पूर्णरूपमा विद्युतीय कमर्सियल भेहिकलमा केन्द्रित भारतीय ब्राण्ड मोन्ट्रा इलेक्ट्रिकले नेपालको इलेक्ट्रिक मोबिलिटी बजारमा आफ्नो फ्ल्यागसिप यात्रुवाहक इलेक्ट्रिक थ्री-ह्विलर ‘सुपर अटो’ सार्वजनिक गरेको छ । नेपाल मोन्ट्रा इलेक्ट्रिक सुपर अटोको पहिलो अन्तर्राष्ट्रिय बजार बनेको कम्पनीले जनाएको छ ।
मोन्ट्रा इलेक्ट्रिक नेपालका लागि आधिकारिक बिक्रेता हिप्को ट्रेडिङ प्रालिमार्फत् बजारमा प्रवेश गरेको हो । काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले सुपर अटो सार्वजनिक गर्दै नेपालमा औपचारिक सुरुवात गर्नुभएको थियो । सुपर अटोको इञ्जिनियरिङ विकास नेपालका सडक, भू-भाग र स्थानीय प्रयोगका आवश्यकतालाई ध्यानमा राखेर गरिएको कम्पनीले जनाएको छ । नेपालमा विद्युत् उत्पादन क्षमता विस्तार भइरहेका बेला विद्युतीय मोबिलिटीले स्वदेशमै उत्पादित ऊर्जाको उपयोग बढाउँदै आयातित पेट्रोलियम इन्धनमाथिको निर्भरता घटाउन योगदान गर्न सक्ने कम्पनीको विश्वास छ ।
कम्पनीका अनुसार इलेक्ट्रिक थ्री-ह्विलरमा रूपान्तरण हुँदा चालक तथा फ्लिट सञ्चालकको कुल स्वामित्व लागत घटाउन सहयोग पुग्छ । नेपालको पहाडी भू-भागलाई ध्यानमा राखेर सुपर अटोमा ३२ प्रतिशत ग्रेडेबिलिटी र हिल–होल्ड असिस्ट जस्ता सुविधा राखिएको छ । जसले तीव्र उकालोमा सवारी सञ्चालन तथा उकालोमा रोकिएपछि पुनः स्टार्ट गर्न सहज बनाउनेछ । सुपर अटोमा नौ किलोवाट ब्याट्री प्याक र पिएमएसएम मोटर प्रयोग गरिएको छ । जसले ६० एनएम टर्क, एकपटकको पूर्ण चार्जमा एक सय ५० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज र ५५ किलोमिटर प्रतिघण्टाको अधिकतम गति प्रदान गर्छ ।
ब्याट्री करिब ४.५ घण्टामा पूर्ण चार्ज गर्न सकिने बताइएको छ । शहरी सडकदेखि नेपालको विविध भू–भागसम्म प्रयोग गर्न सकिने गरी डिजाइन गरिएको सुपर अटोको नेपाली बजार मूल्य आठ लाख ६४ हजार नौ सय रुपैयाँ तोकिएको छ । हिप्को ट्रेडिङ प्रालिका निर्देशक हिमांशु गोल्छाले नेपालको आर्थिक विकाससँग जोडिएको इन्धन आयात खर्च घटाउन विद्युतीय मोबिलिटी महत्त्वपूर्ण हुने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘सुपर अटोको आगमन आयातित इन्धनमा निर्भरता र प्रदूषण घटाउने यात्रातर्फको पहिलो कदम हो, देशभर इलेक्ट्रिक मोबिलिटीलाई प्रोत्साहन गर्दै जाँदा यस्ता साझेदारीले नेपालको यातायात क्षेत्रलाई नेपाली जनताको आकांक्षासँगै अघि बढ्न सहयोग गर्नेछ ।’ मोन्ट्रा इलेक्ट्रिकका अध्यक्ष अरुण मुरुगप्पनले नेपाल प्रवेशलाई स्थानीय आवश्यकतामा आधारित इञ्जिनियरिङको उदाहरणका रूपमा व्याख्या गर्नुभयो भने कम्पनीका प्रबन्ध निर्देशक जलज गुप्ताले नेपाल प्रवेशलाई मोन्ट्रा इलेक्ट्रिकको विश्वव्यापी विस्तार यात्राको महत्त्वपूर्ण अध्याय भएको बताउनुभयो । हिप्को ट्रेडिङका निर्देशक सिद्धार्थ जजोडियाले नेपालभर विस्तार भइरहेको डिलर तथा सर्भिस नेटवर्कमार्फत् बिक्री, बिक्रीपछिको सेवा, स्पेयर पार्ट्स र ग्राहक सहायता उपलब्ध गराइने जानकारी गराउनुभयो ।
बजाजको विद्युतीय स्कुटर ‘चेतक’
बजाज अटोले नेपालमा आफ्नो इलेक्ट्रिक स्कुटर ‘चेतक’को नयाँ मोडल सार्वजनिक गरेको छ । नेपालका लागि बजाजको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीसँगको सहकार्यमा ल्याइएका दुवै मोडल नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरेको हो । चेतक सिरिजअन्तर्गत सी २५०१ र सी ३५०३ गरी दुर्ई नयाँ स्कुटर रहेका छन् । एक सय १३ किलोमिटर रेन्ज दिने र मूल्य दुई लाख ८१ हजार चेतक सी २५०१ मा २.५ किलोवाटको लिथियम–आयन ब्याट्री रहेकाले एकपटकको चार्जमा प्रमाणित आइडिसी परीक्षणअनुसार एक सय १३ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ । त्यस्तै अधिकतम गति ६० किलोमिटर प्रतिघण्टा रहेको बताइएको छ ।
स्कुटरमा फास्ट चार्जिङ सुविधा पनि रहेको छ । जसमार्फत् ब्याट्रीलाई शून्यबाट ८० प्रतिशतसम्म चार्ज गर्न दुई घण्टा २५ मिनेट लाग्ने कम्पनीको दाबी छ । सी २५०१ मा कलर एलसिडी डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, म्युजिक प्लेरपज कन्ट्रोल, रिभर्स मोड र २५ लिटरको अन्डर–सिट स्टोरेजलगायतका सुविधा छन् । विभिन्न छवटा कलरमा उपलब्ध स्कुटरको मूल्य दुई लाख ८१ हजार नौ सय रुपैयाँ तोकिएको छ ।
त्यस्तै चेतक सी ३५०३ मा ३.५ किलोवाट आवरको लिथियम-आयन ब्याट्री जडान गरिएको छ । जसले एकपटकको चार्जमा एक सय ५१ किलोमिटरसम्म रेन्ज दिने र अधिकतम गति ७० किलोमिटर प्रतिघण्टा रहेको कम्पनीले जनाएको छ । सी ३५०३ मा पनि डिजिटल एलसिडी डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, कल तथा म्यासेज अलर्ट र ३५ लिटरको अन्डर–सिट स्टोरेज सुविधा छ । विभिन्न चार कलरमा उपलब्ध उक्त स्कुटरको मूल्य तीन लाख ३९ हजार नौ सय रुपैयाँ तोकिएको छ । कम्पनीका निर्देशक अभिमन्यू गोल्छाले चेतकको नयाँ मोडल विस्तारले नेपालमा विद्युतीय गतिशीलताको क्षेत्रमा कम्पनीको उपस्थितिलाई थप विस्तार गर्ने दाबी गर्नुभएको छ ।
अल्ट्रा भायोलेट एक्स ४७ क्रस ओभर बाइक
वैद्यज अर्गनाइजेसनले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्राण्ड अल्ट्रा भायोलेटको नयाँ क्रस ओभर एक्स ४७ सार्वजनिक गरेको छ । नेपालका लागि अल्ट्रा भायोलेटको आधिकारिक बिक्रेता वैद्यज अर्गनाइजेसनले सार्वजनिक गरेको एक्स ४७ को मूल्य छ लाख ८४ हजार नौ सय रुपैयाँ तोकेको छ ।
क्रसओभर डिजाइन, आधुनिक प्रविधि र उच्च प्रदर्शनलाई संयोजन गरिएको उक्त मोटरसाइकलले नेपाली इलेक्ट्रिक मोटरसाइकल बजारमा नयाँ विकल्प थप्ने कम्पनीको विश्वास छ । कम्पनीले यसअघि नै नेपाली बजारमा अल्ट्रा भायोलेटको एफ–७७ ओरिजिनल र एफ–७७ रिकन मोडलको बुकिङ खुलाइसकेको छ । एफ–७७ ओरिजिनलको सुरुवाती मूल्य आठ लाख ११ हजार र एफ–७७ रिकनको मूल्य नौ लाख ६९ हजार रुपैयाँ तोकिएको थियो । एफ–७७ मा १०.३ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ । जसले एकपटकको पूर्ण चार्जमा तीन सय २३ किलोमिटर आइडिसी रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ । उक्त बाइकमा ३० किलोवाटको इलेक्ट्रिक मोटर रहेको छ, जसले अधिकतम सय एनएम टर्क उत्पादन गर्छ ।
प्रदर्शनका हिसाबले एफ-७७ ले शून्यदेखि ६० किलोमिटर प्रतिघण्टा गति २.८ सेकेण्डमै हासिल गर्न सक्ने बताइएको छ । जसको अधिकतम गति एक सय ५५ किलोमिटर प्रतिघण्टा रहेको छ । त्यस्तै, ३९ लेभलको र्ट्याक्सन कन्ट्रोल सिस्टमले विभिन्न सडक तथा राइडिङ परिस्थितिमा बाइकको पकड र स्थिरता कायम राख्न सहयोग गर्ने कम्पनीको भनाइ छ । नाइमा मोबिलिटी एक्स्पोका अवसरमा एफ–७७ को मूल्य १० लाख ५० हजार रुपैयाँ तोकिएको छ । एक्स ४७ सार्वजनिकसँगै अल्ट्रा भायोलेटले नेपाली बजारमा आफ्नो इलेक्ट्रिक मोटरसाइकल पोर्टफोलियोलाई थप विस्तार गरेको छ ।
मोर्बिडेली टी २५० एक्स
इटालियन प्रिमियम मोटरसाइकल ब्राण्ड मोर्बिडेलीले नेपाली बजारमा आफ्नो नयाँ एड्भेन्चर मोटरसाइकल टी २५० एक्स सार्वजनिक गरेको छ । नेपालका लागि आधिकारिक बिक्रेता वैद्यज अर्गनाइजेसनले २५० सीसी सेग्मेन्टको यो नयाँ मोटरसाइकल सार्वजनिक गर्दै बिक्रीसमेत सुरु गरेको हो ।
कम्पनीले नाइमा मोबिलिटी एक्स्पो २०२६ को अवसर पारेर इटालियन प्रिमियम मोटरसाइकल मोर्बिडेलीलाई प्रदर्शनीमा समेत राखेको छ । कम्पनीले मोर्बिडेली टी २५० एक्सको मूल्य छ लाख २० हजार रुपैयाँ निर्धारण गरेको छ । जुन नेपाली बजारमा उपलब्ध मोर्बिडेलीको सबैभन्दा किफायती मोटरसाइकल भएको कम्पनीको दाबी छ । नयाँ मोडलको आगमनसँगै कम्पनीले नेपाली एड्भेन्चर मोटरसाइकल बजारमा आफ्नो उपस्थिति थप विस्तार गर्ने अपेक्षा गरेको छ ।
यसअघि नेपाली बजारमा मोर्बिडेलीको एड्भेन्चर सेग्मेन्टअन्तर्गत टी ३५२ एक्स, टी ५०२ एक्स र टी १००२ भिएक्स सुपर एड्भेन्चर बिक्री हुँदै आएका छन् । टी २५० एक्सलाई कम्पनीले सोही लाइनअपमा इन्ट्रि-लेभल एड्भेन्चर मोटरसाइकलका रूपमा प्रस्तुत गरेको हो । कम्पनीका अनुसार टी २५० एक्समा २४९.४ सीसी सिंगल सिलिन्डर, फोर-भल्भ, एयर–कुल्ड इएफआई इञ्जिन जडान गरिएको छ । उक्त इञ्जिनले सात हजार पाँच सय आरपिएममा अधिकतम २२.४ हर्सपावर र छ हजार आरपिएममा २२.३ एनएम टर्क उत्पादन गर्छ । जसमा ६-स्पिड गियरबक्स रहेको छ भने मोटरसाइकलको अधिकतम गति करिब एक सय १५ किलोमिटर प्रतिघण्टा रहेको छ ।
मोटरसाइकलमा १७७ एमएम फ्रन्ट र ५५ एमएम रियर ट्राभल, लङ-ट्राभल युएसडी फ्रन्ट फोर्क तथा रियर प्रिलोड एड्जस्टेबल मोनोशक दिइएको छ । त्यसैगरी स्पोक ह्विल, डिस्क ब्रेक र डुअल-पर्पस टायरले सडक तथा अफरोड दुवै अवस्थामा स्थिरता र नियन्त्रणमा सहयोग पुर्याउने कम्पनीले जनाएको छ । एक सय ५४ केजी तौल रहेको टी २५० एक्समा २२० एमएम ग्राउण्ड क्लियरेन्स, ८२० एमएम सिट हाइट र ११.७ लिटर क्षमताको फ्युल ट्यांक रहेको छ । जसले नेपाली सडक तथा अफरोड यात्राका लागि आवश्यक उच्च ग्राउण्ड क्लियरेन्स र पर्याप्त राइडिङ क्षमता प्रदान गर्ने कम्पनीको विश्वास छ ।
टाटाका नयाँ पञ्च इभी र टियागो इभी
टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नयाँ पञ्च इभी र टियागो इभी सार्वजनिक गरेको छ । कम्पनीका अनुसार नयाँ पञ्च इभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । एक्स्पो अवधिमा बुकिङ गर्ने ग्राहकले भने विशेष अफरअन्तर्गत ३२ लाख ९९ हजार रुपैयाँमा पञ्च इभी खरिद गर्न सक्नेछन् । नयाँ टियागो इभीको सुरुवाती मूल्य २८ लाख ९९ हजार रुपैयाँ रहेको छ । एक्स्पो अवधिमा यी दुवै मोडल बुकिङ गर्ने ग्राहकलाई कम्पनीले ११ वर्ष वा दुई लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी उपलब्ध गराउने जनाएको छ ।
सो अवसरमा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमा पछिल्लो प्रविधियुक्त विद्युतीय सवारीसाधन भित्र्याउने कम्पनीको प्रतिबद्धताअनुसार नयाँ पञ्च इभी र टियागो इभी सार्वजनिक गरिएको बताउनुभयो । सिप्रदी ट्रेडिङका प्रमुख सञ्चालन अधिकृत राजेशप्रसाद गिरीले विद्युतीय सवारीसाधनको बिक्रीसँगै त्यससँग सम्बन्धित पूर्वाधार र सेवा सञ्जाल विस्तारमा पनि कम्पनीले प्राथमिकता दिएको बताउनुभयो । उहाँका अनुसार कम्पनीले हाल २१ भन्दा बढी इभी सर्भिस सेन्टर, ४० डीसी चार्जिङ प्वाइन्ट र एक सय ५० भन्दा बढी एसी चार्जिङ प्वाइन्ट सञ्चालन गरिरहेको छ । अत्याधुनिक एक्स इभी प्लेटफर्ममा आधारित नयाँ पञ्च इभीमा ३२ किलोवाट र ४० किलोवाट क्षमताका दुर्ई ब्याट्री विकल्प उपलब्ध छन् । नेपालको सडकमा गरिएको परीक्षणका आधारमा उल्लेखित ब्याट्रीले एकपटकको पूर्ण चार्जमा तीन सयदेखि तीन सय २५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छन् । पञ्च इभीमा १९५ मिलिमिटर ग्राउण्ड क्लियरेन्स, बिएनसिएपी ५-स्टार सुरक्षा रेटिङ, छवटा एयरब्याग, ३६० डिग्री क्यामेरा, १.५ सिडिसी फास्ट चार्जिङ, भ्वाइस–एक्टिभेटेड सनरूफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेसजस्ता सुविधा रहेका छन् । नयाँ टियागो इभीमा नयाँ डिजाइन, आकर्षक रङ तथा विभिन्न प्रविधि र सुरक्षा सुविधा समावेश गरिएको छ । जसमा ३६० डिग्री एचडी क्यामेरा प्रणाली, २६.०३ सेन्टिमिटरको इन्फोटेनमेन्ट प्रणाली र छवटा एयरब्यागलगायतका सुविधा रहेका कम्पनीले जनाएको छ ।
सिद्धार्थ बैंकको विशेष अफर
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को बैंकिङ पार्टनरका रूपमा सहभागी सिद्धार्थ बैंकले ग्राहकलाई लक्षित गरी विशेष अफर सार्वजनिक गरेको छ । बैंकले एक्स्पो अवधिभर सवारीसाधन खरिदका लागि कर्जा लिने ग्राहकका लागि ०.५ प्रतिशत सेवा शुल्क तथा आधार दरमा वार्षिक थप एक प्रतिशत प्रिमियमको ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउने अफर ल्याएको हो । उक्त विशेष योजना साउन ३१ गतेसम्म आयोजना भइरहेको एक्स्पो अवधिभर लागू हुने र सवारीसाधन खरिद गर्न इच्छुक ग्राहकले एक्स्पोमा सहभागी भई बैंकको विशेष कर्जा योजनाको लाभ लिन सक्ने बैंकले जनाएको छ । योजनामार्फत् ग्राहकलाई सहज, सरल तथा प्रतिस्पर्धी कर्जा सुविधा उपलब्ध गराउँदै आफ्नो आवश्यकताअनुरूपको सवारीसाधन खरिद गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।






सेलिब्रेटी सांसदहरूलाई धक्का
शरणार्थीले निम्त्याउने समस्या
मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट
आजका लागि तोकियो विदेशी मुद्राको
कक्षा १२ को मौका परीक्षाको
सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष