नेवारी संस्कृतिलाई प्रारम्भदेखि नै प्राथमिकतामा राखेको मेरो पारिवारिक जीवनमा चाडपर्वहरू ‘नखः’ र ‘चखः’ गरी दुई प्रकारका हुन्छन् । नखः ठूलो चाड हो । यस्ता चाडमा आफन्त तथा विवाह गरिसकेका चेलीबेटीलाई निम्तो दिई ‘नखत्या’ भोज खुवाइन्छ । चखः भने सानो चाड हो । यस्तो अवसरमा आफन्त तथा छोरीचेलीलाई निम्तो दिनुपर्दैन, घरपरिवारका सदस्यमात्र सहभागी हुन्छन् ।
नखः-चखःमा मेरो घरमा भने पारिवारिक जमघट ठप्प हुन्छ । छोरी नभएकी र छोरो पनि ट्रेकिङमा निस्केको भएकाले बाँकी रहन्छौं हामी दुई जोई–पोई । यही समयमा हामी प्रायः धार्मिक स्थलहरूको अवलोकन भ्रमणका लागि दिल्ली निस्कन्छौं । यसवर्ष भने बडादशैँमा पोखरामा भाइ सुजनकहाँ जाने कार्यक्रम बन्यो । पूर्णिमाको दिन हिँड्ने भयौं । घटस्थापनादेखि पूर्णिमासम्म श्रीमती पूजामा व्यस्त रहने भएकाले आफू भने ‘हेरेको हेर्यै’ हुने । त्यसैले उपन्यास पढ्ने निधोमा पुगेँ ।
चाडपर्वहरू ‘नखः’ र ‘चखः’ गरी दुई प्रकारका छन् । नखः ठूलो चाड हो । यस्ता चाडमा आफन्त तथा विवाह गरिसकेका चेलीबेटीलाई निम्तो दिई ‘नखत्या’ भोज खुवाइन्छ । चखः भने सानो चाड । यस्तो अवसरमा आफन्त तथा छोरीचेलीलाई निम्तो दिनुपर्दैन, घरपरिवारका सदस्यमात्र सहभागी हुन्छन् ।
डा.तीर्थ श्रेष्ठको नेपालको गाथा, वसन्त चौधरीको देवयानी र डा.तीर्थ श्रेष्ठकै नेपालका नखुलेका पाटाहरू किनियो । समाज, संस्कृति र सम्पदालाई जोगाउने मूल तत्व प्रकृति हो । प्रकृतिलाई जोगाउनु भनेको समग्र जीवजगत्लाई जोगाउनु हो । मानिसले प्रकृतिको संरक्षण गर्दा सारा जीवजन्तु र वनस्पतिको सुरक्षा हुन्छ । घरपरिवार र समाजभित्रका रीतिथिति मनाउँदै आफ्ना संस्कृति, धर्म र परम्परालाई पुस्तान्तरण गर्दै जानुपर्ने विषय डा.तीर्थ श्रेष्ठले आफ्नो पुस्तकमा प्रस्तुत गर्नुभएको छ ।
देवयानीमा लेखक चौधरीले पृथक अवधारणा र परिवेशमा हुर्किएका दुई नारीको मनस्थितिको बीचबाट यात्रा गर्नुपर्ने परिबन्धमा परेको पुरुषको मानसिकतालाई प्रभावकारी रूपमा प्रस्तुत गरेका छन् । नेपालका नखुलेका पाटाहरू पल्टाउन थालेँ । ५१ वटा लेखमार्फत नेपालको भौगोलिक संरचना, विज्ञान तथा प्रविधि, परम्परा र जैविक सम्पदाका विविध पक्ष समेटिएका छन् ।
पुस्तकभित्रको ‘बान्की बन्दीपुरको’ लेखलाई नेपालको भौगोलिक संरचनाअन्तर्गत राखिएको छ । ‘मेरो ठाउँ बन्दीपुर’ पढ्न तम्सिए । डा.तीर्थ श्रेष्ठले उक्त पुस्तकमा बन्दीपुरको यात्रामा लालुपाते फूल पनि हेर्नुपर्ने उल्लेख गर्नुभएको छ । यहाँ फुल्ने लालुपातेको रङ अन्य सामान्य लालुपातेभन्दा फरक, बढी चम्किलो र गाढा रातो सिम्रिकजस्तो हुन्छ । लालुपाते नेपालको रैथाने वनस्पति नभई मेक्सिकोबाट भारत हुँदै लाहुरे दाजुभाइमार्फत भित्रिएको अतिथि वनस्पति भएको उल्लेख छ । बन्दीपुरका वनस्पतिमा सुनाखरी, सुनागाभालगायत प्रसिद्ध अर्किड फूलहरू अग्ला पुराना रूखका हाँगामा फुलेका देखिन्छन् ।
डा.तीर्थ श्रेष्ठ र चौधरीका पुस्तकले दशैँसम्मका लागि मेरो पुस्तक पढ्ने कोटा पुग्यो । नयाँ किताब स्टकमा थिएनन् । धन्य, डा.हेनरी किसिन्जरको लिडरसिप र अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको अ प्रोमिस्ड ल्याण्ड पहिले नै पढ्न थालेका पुस्तक थिए । दिल्लीको एमजी मार्केट (फुटपाथ)बाट किनेका यी दुवै पुस्तकका केही अध्याय बाँकी थिए ।
किसिन्जरले आफ्ना पुस्तकमा कोनराड एडेनावर, चार्ल्स डी गा‘ल, रिचर्ड निक्सन, अनवर सादात, ली क्वान यू र मार्गरेट थ्याचरलाई संसारकै सर्वश्रेष्ठ नेताका रूपमा चर्चा गरेका छन् । ओबामाको अ प्रोमिस्ड ल्याण्ड भने मोटो पुस्तक छ । बाँकी अध्याय पूरा गर्न कठिन भयो । भाषा केही कठिन र विषय पनि जटिल भएकाले होला ।
बन्दीपुरे बालसखी योगेन्द्रसँगको यात्रा
बन्दीपुरे बालसखी योगेन्द्र प्रधान घर आए । कफी खुलाए । कफीको चुस्की लिँदै उनले भने, ‘पोखराबाट आजै आएको हुँ । ससुरालीमा विवाहको कार्यक्रम छ । दुई-चार दिन बुटवल बसिन्छ । पर्यटकीयस्थलहरू पनि चाहार्नुपर्यो । फुर्सद होला नि !’ भवानीपुर, जगदीशपुर र रानीमहल लैजाने योजना बन्यो । अर्को दिन योगेन्द्रजीले भवानीपुर जान बिहानै मलाई जगाइहाले ।
बुद्धको मावली मानिने भवानीपुरमा आमा मायादेवीको घर जीर्ण अवस्थामा रहेछ । पोखरीहरू पुरिएका छन् । बगैँचाका बोटबिरुवा ओइलाएका छन् । अगाडि ठूलो भवन छ । हामीभित्र छिर्यौं । एउटा कोठामा बुद्धका पुराना तेलचित्रहरू थन्काएर राखिएका छन् । संख्या थोरै भएकाले अवलोकन गर्न धेरै समय लागेन ।
त्यसपछि हामी दक्षिणतिर मोडियौं । साँझपख कपिलवस्तुको जगदीशपुर जलाशय पुगिहाल्यौं । जलाशयको कान्लामा बस्यौं । थरीथरीका ठूला-साना चराहरू जलाशयमा डुबुल्की मार्दै थिए । ओभानो ठाउँमा पखेटा फिजाएर घाम ताप्ने चराहरूको संख्या पनि असंख्य थियो । त्यो ठाउँले हामीलाई धेरै बेरसम्म बसिरहुँजस्तो बनायो । मैले जगदीशपुर जलाशयबारे आफूले जानेका र पढेका कुरा मित्र प्रधानजीलाई सुनाउन थालेँ । तर, योगेन्द्रजी भने सुन्तला फोर्नमै व्यस्त भए ।
सन् १९७१ फेब्रुवरी २ मा इरानको रामसार शहरमा सम्पन्न विश्व महासन्धिले प्रत्येक पक्षधर राष्ट्रले कम्तीमा एउटा अन्तर्राष्ट्रिय महत्त्वको सिमसार क्षेत्र सूचीकृत गर्ने व्यवस्था गरेको छ । यस्ता सिमसारलाई रामसार क्षेत्र भनिन्छ । नेपालमा कोशीटप्पु वन्यजन्तु आरक्ष रामसार क्षेत्रमा सूचीकृत छ, जहाँ ४६५ भन्दा बढी प्रजातिका चराचुरुंगी पाइन्छन् । तीमध्ये कैयौं चराहरू साइबेरियादेखि श्रीलंकासम्म पुग्ने र फर्कने गर्छन् । यसैगरी चितवनको बीसहजारी ताल, कपिलवस्तुको जगदीशपुर जलाशय र कैलालीको घोडाघोडी ताललाई पनि सरकारले रामसार क्षेत्रका लागि सिफारिश गरेको छ ।
रानीमहलतर्फ
दोस्रो दिन हामी रानीमहलतिर सोझिँदै गर्दा योगेन्द्रजीले निर्माणाधीन बुटवल–सिद्धबाबा सुरुङमार्गभित्र पनि छिरौं भन्न भ्याए । उनी एक्लै सुरुङभित्र छिरे । भुइँ चिप्लो भएकाले धेरै भित्रसम्म जान पाएनछन् । म भने सिद्धबाबा मन्दिर दर्शनका लागि डाँडो चढ्दै थिएँ । हतारो थियो । त्यसैले हामी बाटो लागिहाल्यौं ।
बर्तुङ पुग्दा चिया खाने बेला भयो । यहाँबाट रानीमहल जाने बाटोबारे हामी द्विविधामा पर्यौं । पहिले तानसेन बसपार्क पुग्ने र त्यसपछि सोच्ने निधो भयो । योगेन्द्रजीले बसपार्कमुनिको अर्को बाटोबाट रानीमहल चाँडै पुगिने भन्दै गाडी झारिहाले । तर, फेरि बर्तुङमै आइपुगियो । बल्ल थाहा भयो– यहाँबाट पोखरा जाने दिशातर्फ रानीमहल जाने नयाँ र्ट्याक खुलेको रहेछ । गाडीबाट झर्यौं । चौतारामा बसौँ, खाँऔँ र पेट अडिलो भएपछि महल परिक्रमा गर्ने निधो भयो । चौतारो जानुअघि खोला तर्नुपर्ने रहेछ । चौतारो डाँडाको फेदीमा छ । हावा सिरसिर चलिरहेको थियो । घाम पनि न्यानो थियो ।
हाम्रो दृष्टि यताउता घुम्न थाल्यो । अलि पर हरियो डाँडाको फेदीबाट बग्दै आएको कालीगण्डकीको छाल महलको उत्तरतर्फको भित्तामा ठोक्किँदो रहेछ । खोलावारिपारि टेन्ट, कटेज र गाडीले चउर भरिएका थिए । बोटिङ गर्नेहरूको पनि भीड थियो । स्याङ्जा र पाल्पाको सीमा जोड्ने झोलुंगे पुल खोलाभन्दा धेरै माथि देखिन्थ्यो ।
रानीमहलको परिवेश
हामी रानीमहलभित्र छिर्यौं । महलको भुइँतलामा अग्लो पर्खाल छ । दोस्रो तलामा टिकट काउन्टर छ । प्रतिव्यक्ति ५० रुपैयाँ टिकट रहेछ । यहाँ लामो बरन्डा र दुई–चारवटा कोठा छन् । कोठाहरू ओसिला र प्रायः रित्तै छन् । तेस्रो तलामा जान पनि टिकट लिनुपर्ने रहेछ । तैपनि सबैभन्दा बढी भिड त्यहीँ थियो । ठाउँ फराकिलो र खुला छ । शिवजी र गंगाजीका दुई मन्दिर छन् । माथिल्लो भागमा जान काठको भर्याङ छ । दायाँ–बायाँ दुईवटा कोठा छन् । दुवै कोठामा राजा–रानीका तस्वीर र कलाकृति राखिएका छन् ।
दुवै कोठाको बीचको करिडोरमा ठूलो झ्याल छ । झ्यालबाट महल वरिपरिका कोठा, बगैँचा, शिवालय, पानीपोखरी, शिवलिंगमा नाग–नागिनीले जल चढाएको दृश्य, भान्साघर, घोडा बाँध्ने तबेला, महादेव मन्दिर र ठूला घण्टाहरू देखिन्छन् । महल र पहाडको खोँचमा कालीगण्डकीको पानी जमेर सानो आहालजस्तो बनेको छ । महल पछाडिको पहाड र खोलाको दृश्य मनमोहक छ । तर, परबाट महलको बाहिरी रूप जति आकर्षक देखिन्छ, सामुन्नेबाट भने त्यति प्रभावशाली लाग्दैन ।
खड्ग शमशेर धीरशमशेरका छोरा तथा जंगबहादुर राणाका कान्छा भाइका सन्तान थिए । उनकी आमा जौहरकुमारी देवी थिइन् । जंगबहादुर राणाको पालामा लेफ्टिनेन्ट कर्नेलको दर्जामा रहेका खड्ग शमशेरले रणोद्दीपको मृत्युपछि वीरशमशेरको शासनकालमा कमाण्डर इन चिफको जिम्मेवारी सम्हालेका थिए । रणोद्दीपको हत्याको अपजस पनि उनीमाथि लागेको थियो । पछि वीरशमशेरको हत्या षड्यन्त्रमा संलग्न भएको आरोप लागेपछि उनलाई पदबाट हटाई निर्वासनमा पठाइएको थियो ।
राणा शासनकालमा कमाण्डर इन चिफ रहेका खड्ग शमशेरलाई पछि बडाहाकिम बनाएर पाल्पा गौंडामा पठाइएको थियो । रूपन्देही, कपिलवस्तु, बागलुङ, पर्वतलगायत क्षेत्र हेर्ने जिम्मेवारी पनि उनलाई दिइएको थियो ।
खड्ग शमशेरकी श्रीमती तेजकुमारी सुशील र रूपवती थिइन् । सन् १९४९ मा तेजकुमारीको निधन भएपछि उनकै सम्झनामा खड्ग शमशेरले पाल्पा र स्याङ्जाको सीमाना कालीगण्डकी किनारमा रानीमहल निर्माण गराएका हुन् । महलको निर्माण विसं १९५० मा सुरु भएर १९५४ मा पूरा भएको थियो ।
तानसेनको रानीमहल र बन्दीपुरको रानीवनको ऐतिहासिक पृष्ठभूमि केही हदसम्म मिल्दोजुल्दो देखिन्छ । यी दुवै ठाउँ पाल्पाली राजासँग जोडिएका ऐतिहासिकस्थल हुन् । तर, विडम्बना के छ भने तानसेनको रानीमहलमा वर्षेनी करिब ७० हजार पर्यटक पुग्ने गरेको बताइन्छ, जबकि बन्दीपुरको रानीवनमा पर्यटकको उपस्थिति लगभग नगन्य छ ।
इँटाको धुलोजस्तो विशेष सामग्रीबाट बनेका इँटा र सालको काठ प्रयोग गरी महल निर्माण गरिएको बताइन्छ । बेलायती इन्जिनियरले युनानी शैलीमा बनाएको यो महल नदीछेउको विशाल चट्टानमाथि अवस्थित छ । त्यसैले रानीमहल प्रेमको प्रतीकमात्र होइन, राणाकालीन वास्तुकला, इतिहास र सांस्कृतिक सम्पदाको उत्कृष्ट नमुना पनि हो । तानसेनबाट करिब १३ किलोमिटर टाढा रहेको चारतले यो भवन ५६ फिट चौडा र ११८ फिट उचाइको रहेको उल्लेख छ । यही कारण रानीमहललाई ‘रानीघाट’ तथा ‘नेपालको ताजमहल’ पनि भन्ने गरिन्छ ।
बन्दीपुरको रानीवन
मेरो गाउँ तनहुँको बन्दीपुरमा पनि ‘रानीवन’ छ । बच्छिट्टै राम्रो र रानीजस्तै सौन्दर्य देखिने भएकाले यो वनको नाम रानीवन राखिएको हो भन्ने स्थानीय रैथानेहरूको मत छ । तर, यहाँका बुद्धिजीवीहरू भने पाल्पाका राजा मणि मुकुन्द सेनले आफ्नी रानीको नामबाट बन्दीपुरको रानीवनको नामकरण गरेको किवदन्ती सुनाउँछन् । राजा मणि मुकुन्द सेन ७० वर्ष पुग्नुअघि पाल्पापछि बन्दीपुरलाई आफ्नो आश्रयस्थल बनाएको कथन पाइन्छ । त्यसैले रानीवनसँग सेन राजा-रानीको सम्बन्ध हुनुपर्छ भन्ने विश्वास गरिन्छ ।
मणि मुकुन्द सेनको जन्म राजा रुद्रसेनको परिवारमा विसं १५५३ मा भएको मानिन्छ । रुद्रसेनले रिब्दीकोट डाँडामा रहेको आफ्नो राजधानी पाल्पा भैरवस्थानमा स्थानान्तरण गरेका थिए । उनले विसं १५५० देखि १५७५ सम्म शासन गरेका थिए । रुद्रसेनको मृत्युपछि मुकुन्द सेनले विसं १६१० सम्म पाल्पामा शासन गरे ।
करिब ३० वर्षको शासनकालमा उनले आफ्ना छोराहरूलाई विभिन्न भू-भागको जिम्मेवारी बाँडफाँट गरेका थिए । पाल्पा छोडेपछि बन्दीपुरलाई आफ्नो आश्रयस्थल बनाएका राजा मुकुन्द सेनलाई यहाँ करिब ४५०० फिट उचाइमा रहेको मुचुक डाँडा मन परेको बताइन्छ । मुचुक डाँडाबाहेक झप्रीफाँट र रानीवन पनि राजाका प्रिय ठाउँ थिए । झप्रीफाँटमा राजा शिकार खेल्न रुचाउँथे भने रानीवनमा घुम्न निस्कन्थे । करिब ५००० फिट उचाइमा रहेको रानीवन हराभरा र वर्षैभरि हरियो रहने भएकाले राजालाई प्रिय भएको हुनसक्छ ।
राजा बन्दीपुर आउनुअघि यो वनलाई लामो डाँडा, लम्की डाँडा वा लाम्चे डाँडा भन्ने गरिन्थ्यो । राजा मुकुन्द सेनले वनलाई हराभरा राख्न र संरक्षण गर्न रानीको नाममा ‘रानीवन’ नामकरण गरेको भन्ने किवदन्ती छ । त्यतिबेला ठाउँ, बाटोघाटो, जंगल र पहाडको नाम रानीको नाममा राख्दा लामो समयसम्म सुरक्षित रहन्छ भन्ने जनविश्वास रहेको बताइन्छ । बन्दीपुर बजारबाट करिब एक किलोमिटर दूरीमा रहेको रानीवनमा अहिले बोटानिकल गार्डेन निर्माण गर्ने सोच अघि सारिएको छ ।
संरक्षण र पर्यटनको चुनौती
तानसेनको रानीमहल र बन्दीपुरको रानीवनको ऐतिहासिक पृष्ठभूमि केही हदसम्म मिल्दोजुल्दो देखिन्छ । यी दुवै ठाउँ पाल्पाली राजासँग जोडिएका ऐतिहासिकस्थल हुन् । तर, विडम्बना तानसेनको रानीमहलमा वर्षेनी करिब ७० हजार पर्यटक पुग्ने गरेको बताइन्छ, जबकि बन्दीपुरको रानीवनमा पर्यटकको उपस्थिति लगभग नगण्य छ । इतिहास, प्रकृति र संस्कृतिसँग जोडिएको रानीवनको संरक्षण तथा प्रचारप्रसारमा सम्बन्धित निकाय र स्थानीय समुदायले ध्यान दिनसके बन्दीपुरको पर्यटन विकासमा यसले नयाँ आयाम थप्नसक्छ ।







विशेष महाधिवेशनबारे सर्वोच्चको पुनरावलोकन सामना
फापरखेत पहिरोको विकल्पमा पक्की मोटरेबल
प्रधानमन्त्रीलाई कांग्रेस नेता आचार्यको सुझाव
ग्यासको कृत्रिम अभाव र कालोबजारी
नेपाल–युरोप स्वास्थ्य सहकार्य विस्तारमा जोड,
सरकार लेनभन्दा बाहिर जान पाउँदैन