काठमाडाैं । सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन संघीय संसद् भवनको निर्माण कार्य करिब सात वर्ष पुग्न लाग्दा पनि सम्पन्न हुन सकेको छैन । २०७९ साल असोजमा सकिनुपर्ने भवन निर्माणको काम ६ पटक म्याद थप हुँदा अहिले अन्तिम चरणमा पुगेर सुस्त बनेको छ ।
भवन निर्माणका लागि सातौँपटक म्याद थप गर्न निर्माण व्यवसायीले सहरी विकास तथा भवन निर्माण विभागसमक्ष निवेदन पेस गरेको छ। सबै कागजात प्राप्त नभएकाले म्याद थप भइनसकेको विभागको विशेष भवन निर्माण आयोजना निर्देशक रोशन श्रेष्ठले बताउनुभयाे । ‘म्याद थपका लागि निवेदन आएको छ। म्याद थप भइसकेको अवस्था छैन। इन्स्युरेन्ससहित अरू कागजात पुगेका छैनन्,’ उहाँले भन्नुभयाे ।
६ अर्ब ९२ करोड रुपैयाँ लगानीमा १५६ रोपनी क्षेत्रफलमा संघीय संसद् भवन निर्माण भइरहेको छ। यहाँ प्रतिनिधिसभा, राष्ट्रिय सभा, अति विशिष्ट व्यक्ति (भीभीआईपी) कक्ष, पुस्तकालय, चमेनागृह, संसदीय दलका कार्यालय र सुरक्षाकर्मीका भवनसहित कुल १२ वटा ठूला भवन निर्माण हुनेछन्। यो कामको ठेक्का तुँदी–सेक जेभीले लिएको थियो।
हालसम्म करिब ९५ प्रतिशत भौतिक प्रगति भएको निर्देशक श्रेष्ठले बताए। बढीमा डेढ महिनामा सकिने काम बाँकी भए पनि ठेकेदारको गति सुस्त देखिएको उहाँले बताउनुभयाे । छैटौँपटक थप गरिएको म्याद गत जेठको पहिलो साता सकिइसकेको छ। म्याद सकिएपछि निर्माणको काम पनि निकै सुस्त भएको छ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनपछि संसदीय गतिविधि यही भवनबाट सञ्चालन गर्ने योजनाअनुसार २०७६ सालमा निर्माण अघि बढाइएको थियो । २०८२ सालमा निर्वाचन भएर नयाँ सांसद आइसक्दा पनि संसद् भवन निर्माण सम्पन्न हुन सकेको छैन ।
सिभिलतर्फको काम नसकिँदा इन्टेरियरको ठेक्का सम्झौता पनि प्रभावित भएको छ । केसी–श्यामसुन्दर–बानियाँ जेभीले २ अर्ब ३४ करोड रुपैयाँमा आन्तरिक सजावट, फर्निचर, सूचना प्रविधि, साउण्ड सिस्टम तथा सम्पूर्ण सफ्टवेयर र हार्डवेयरको काम गर्ने गरी ठेक्का लिएको थियो।
२०८० साल असारमा सम्झौता भएको यो काम २०८१ साल असारमा सकिनुपर्ने थियो। तर, भवन निर्माणकै काम नसकिँदा इन्टेरियरको जिम्मा लिएको ठेकेदारले गर्ने काम पनि प्रभावित भएको छ। यो सम्झौताको भौतिक प्रगति करिब ५५ प्रतिशत छ।
भवन निर्माण र इन्टेरियरको काम गर्ने दुवै ठेकेदारको म्याद थप गर्नुपर्ने अवस्था रहेको निर्देशक श्रेष्ठले बताउनुभयाे । ‘दुवै काम एकअर्कासँग जोडिएका छन्। दुवैको म्याद थप गर्नुपर्ने हुन्छ,’ उहाँले भन्नुभयाे । विभागले दुवै कामको म्याद ६ महिनासम्म थप गर्ने तयारी गरेको छ। २०७६ साल असोज १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद् भवन निर्माणको शिलान्यास गर्नुभएकाे थियाे ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी
















‘हुलास डे २०२६’ मा सामुदायिक
प्रस्तावित दूरसञ्चार ऐनको अवधारणा पत्र
केयू-सिकागो विश्वविद्यालयको सहकार्यमा अन्तर्राष्ट्रिय अनुवाद
न्यायपालिकाको स्वतन्त्रता संकटमा
रास्वपामा चिसिँदो सम्बन्ध, सल्किँदो आगो
राशिफल २२ साउन, वृष :