काठमाडाैं । नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री डा. प्रकाशशरण महतले मुलुकको राष्ट्रिय स्वार्थ रक्षाका लागि कुटनीतिक मर्यादा वा पदभन्दा पनि प्रभावकारी संवाद र शक्ति सन्तुलन महत्वपूर्ण हुने बताउनुभएको छ ।
नेपाल कानून समाज र संविधान निगरानी समूहद्वारा आयोजित ‘नेपालको परराष्ट्रनीतिः अवसर, चुनौती र भावी कार्यदिशा’ विषयक कार्यक्रममा बोल्दै पूर्वपरराष्ट्रमन्त्री समेत रहनुभएका डा. महतले उक्त विचार व्यक्त गर्नुभएको हो । नेता महतले मुलुक हाल असहज र संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको टिप्पणी गर्नुभयो ।
वि.सं. २०३३ सालमा वीपी कोईरालाले अवलम्वन गरेको राष्ट्रिय मेलमिलापको नीतिको सन्दर्भ उल्लेख गर्दै उहाँले राष्ट्रियता र लोकतन्त्र एकअर्काका पूरक भएको बताउनु भयो । आन्तरिक राजनीतिका कमजोरीबारे चर्चा गर्दै डा. महतले पछिल्ला केही घटनाक्रमले नेपाल भित्रैदेखि खोक्रो हुँदै गएको संकेत गरेको बताउनु भयो ।
गत वर्षको भदौ २३ र २४ गतेका घटनाहरूलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उहाँले नयाँ पुस्ता (जेन-जी) ले सुशासन र इन्टरनेट जस्ता अधिकारका लागि आवाज उठाउँदा पनि नेतृत्वले त्यसलाई सही ढंगले बुझ्न र सम्बोधन गर्न नसकेको तर्क गर्नुभयो । आन्तरिक रूपमा मजबुत नभई देशलाई बलियो बनाउन नसकिने र समस्याहरू थप जटिल बन्दै जाने उहाँको ठहर छ । परराष्ट्र नीतिका सम्बन्धमा डा. महतले कुटनीतिको मुख्य ध्येय राष्ट्रिय स्वार्थको संरक्षण हुनुपर्नेमा जोड दिनुभयो । पद र मर्यादाको बराबरी खोज्नुभन्दा पनि वास्तविक शक्ति र प्रभावलाई बुझ्नुपर्ने उहाँको भनाइ छ ।
डा. महतले भन्नुभयो, ‘ देशको कुरा गर्ने हो भने हामी अहिले अत्यन्तै संकटपूर्ण अवस्थामा छौँ । २०३३ सालमा वीपी कोईराला नेपाल फर्किंदा पनि राष्ट्रिय संकटको अवस्था थियो । उहाँले राष्ट्रियता कमजोर भयो भने लोकतन्त्रको अर्थ हुँदैन र लोकतन्त्रबिना राष्ट्रियता पनि बलियो हुन सक्दैन भन्ने सन्दर्भमा राष्ट्रिय मेलमिलापको कुरा उठाउनुभएको थियो । मलाई लाग्छ, अहिलेको सन्दर्भमा पनि नेपाल निकै उकुसमुकुसपूर्ण परिवेशमा छ । भदौ २३ र २४ गतेको घटनालाई केवल आन्तरिक असन्तुष्टिका रूपमा बुझेर पुग्दैन । जेन-जी पुस्ताका भाइबहिनीहरूले इन्टरनेट बन्द किन गरियो, सुशासन किन भएन भन्ने प्रश्न उठाएका थिए । उनीहरू संसदसम्म जाने वा त्यसपछाडि जाने कुरा गरेका थिएनन् । तर उनीहरूको आवाजलाई समयमै कसैले गम्भीरतापूर्वक सुनेन । यसले हाम्रो आन्तरिक अवस्था कति कमजोर र खोक्रो भएको छ भन्ने देखाउँछ । जबसम्म हामी यो वास्तविकतालाई महशुस गरेर सुधार गर्न सक्दैनौँ, देशलाई बलियो बनाउन सक्दैनौँ र समस्याहरू झन् जटिल बन्दै जान्छन् । अर्को कुरा, कुटनीतिमा तपाईं कुन तह वा पदमा हुनुहुन्छ भन्ने मात्र महत्वपूर्ण हुँदैन । चीनमा देङ स्याओपिङ कुनै बेला औपचारिक रूपमा माथिल्लो तहमा नहुनुभए पनि अमेरिका, रुस लगायतका शक्तिहरूले उहाँलाई नै खोज्थे । त्यसैले महत्वपूर्ण कुरा भनेको पावर कहाँ छ भन्ने हो । आफ्नो राष्ट्रिय स्वार्थ संरक्षण गर्ने हो भने जुन तहमा गएर भए पनि त्यसलाई संरक्षण गर्न सक्ने क्षमता र इच्छाशक्ति महत्वपूर्ण हुन्छ । म तिमीसरहको पदमा छु, त्यसैले मलाई पनि त्यही रूपमा हेर भनेर मात्र कुटनीति चल्दैन । अन्ततः महत्वपूर्ण कुरा भनेको राष्ट्रिय स्वार्थको संरक्षण हो ।’
कुटनीतिमा अहं पाल्नुभन्दा राष्ट्रको हितका लागि लचिलो हुनुपर्ने उल्लेख गर्नुभयो ।







यस्तो छ आजका लागि विदेशी
सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा