काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले परिवर्तनको आकांक्षालाई आत्मसात् गर्दै पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्ने बताउनुभएको छ।
स्वास्थ्य उपचारपछि स्वदेश फर्किएलगत्तै अपिल जारी गर्दै उहाँले नेपाली कांग्रेस लोकतान्त्रिक इतिहास बोकेको पार्टी भएकाले वर्तमान राजनीतिक परिस्थितिलाई गम्भीरतापूर्वक आत्मसात् गर्नुपर्ने बताउनुभएको हो।
उहाँले लामो स्वास्थ्य उपचारपछि आफू पुनः देशको सेवामा समर्पित हुन पाउँदा कृतज्ञता व्यक्त गर्दै स्वास्थ्य लाभको कामना गर्ने सबैप्रति हार्दिक धन्यवाद दिनुभएको छ। उहाँले आफू विनम्र सेवकका रूपमा उपस्थित भएको उल्लेख गर्दै देशलाई सुदृढ र समुन्नत बनाउने यात्रामा आफूलाई पुनः समर्पित गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
देउवाले नेपाली कांग्रेस केवल लोकतान्त्रिक इतिहास बोकेको दल मात्र नभई दशकौँको राजनीतिक संघर्षबाट आफ्नो अस्तित्व र मर्यादा जोगाएको सफल पार्टीसमेत भएको उल्लेख गर्नुभएको छ। पार्टीका अग्रज नेताहरू बीपी कोइराला, सुवर्णशमशेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालगायतको योगदान स्मरण गर्दै उहाँले उनीहरूको त्याग र योगदानलाई कांग्रेसले कहिल्यै भुल्न नहुने बताउनुभएको छ।
उहाँले २०२० सालदेखि निरन्तर राजनीतिक दुःख, सुख र संघर्षपूर्ण दिनहरू आफूले भोग्दै आएको स्मरण गर्दै मुलुकले प्राप्त गरेको स्वतन्त्रता, लोकतन्त्र र विकासमा आफूले पनि सक्दो योगदान गर्ने अवसर पाएको बताउनुभएको छ।
युवापुस्ताको आवाज र अपेक्षालाई आफूले स्पष्ट रूपमा बुझेको उल्लेख गर्दै उहाँले नेपाली कांग्रेसले युवाले माग गरेको परिवर्तनलाई आत्मसात् गर्नुपर्ने बताउनुभएको छ। विश्व बदलिएको र युवाको सोच तथा आकांक्षा पनि परिवर्तन भएको भन्दै उहाँले समाज र राष्ट्र निर्माणमा युवाको सार्थक सहभागिता सुनिश्चित गर्न नेतृत्वले निरन्तर काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ।
उहाँले गत भदौमा भएको जेनजी आन्दोलनको जायज मागलाई आफूले सम्बोधन गर्नुपर्ने धारणा त्यतिबेलै राखेको पनि उल्लेख गर्नुभएको छ। परिवर्तनको अर्थ विगतको त्याग र बलिदानलाई भुल्नु नभएको भन्दै उहाँले लोकतन्त्र, स्वतन्त्रता तथा विभिन्न जातजाति, क्षेत्र र समुदायका अधिकारका लागि भएका संघर्षलाई सम्मान गर्नुपर्ने बताउनुभएको छ।
देउवाले परिवर्तनको ठूलो आकांक्षा देखिएको वर्तमान अवस्थामा त्यसलाई सम्बोधन गर्ने प्रमुख दायित्व सरकारको भएको बताउनुभएको छ। राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर जनताको आकांक्षा पूरा गर्ने बाटोमा सरकार अघि बढ्नुपर्ने उहाँको भनाइ छ।
उहाँले आफू परिवर्तन व्यवस्थापन प्रक्रियामा सहयोग गर्न तयार रहेको जनाउँदै अधैर्य नहुने, विवेक, पारदर्शिता र न्यायका आधारमा प्रत्येक रूपान्तरणलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
नेपाली कांग्रेसले आफूलाई एकताबद्ध बनाएर देशका क्रियाशील अन्य सबै राजनीतिक दलसँग सहमति र सहकार्य गर्दै अघि बढ्नुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ। संविधानको संरक्षण तथा आवश्यक संशोधनसमेत राष्ट्रिय सहमतिका आधारमा गर्नुपर्ने उहाँको धारणा छ।
अंकगणितीय रूपमा संसदमा कांग्रेस सानो–ठूलो जे भए पनि २००७ सालदेखि नेपाली राजनीतिक परिवर्तनको नेतृत्व गर्दै आएको पार्टी भएकाले अहिले पनि देशको आवश्यकता र जनताको हितअनुसार नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनुभएको छ।
उहाँले कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक, समर्थक तथा मतदातालाई पार्टीप्रतिको विश्वास कायम राख्न आग्रह गर्दै सबैको त्याग, बलिदान र संघर्षलाई स्वीकार गरी पार्टीलाई अझ बलियो बनाउन आह्वान गर्नुभएको छ।
युवापुस्तालाई अघि बढाउनुपर्ने भए पनि त्यसको अर्थ अनुभवी पुस्ता सबै खराब हुन्छ भन्ने गलत भाष्य निर्माण गर्न नहुने उहाँको भनाइ छ। आफ्नो राजनीतिक अनुभवबाट नयाँ पुस्तालाई सिकाउन सक्ने र नयाँ पुस्ताको अनुभवबाट आफूहरूले पनि सिक्न सक्ने उहाँले उल्लेख गर्नुभएको छ।
देउवाले नेपाली कांग्रेसप्रतिको आफ्नो अटुट विश्वास र माया कहिल्यै कम नहुने बताउँदै पार्टीका साथीहरू निराश भएको अवस्थामा उनीहरूको मनोबल बढाउन आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले पार्टीभित्र देखिएका विवाद र मतभेदलाई संवाद तथा सहकार्यबाट समाधान गर्नुपर्ने धारणा राख्नुभएको छ।
उहाँले आफू आत्मसमीक्षा र मार्ग सुधारप्रति प्रतिबद्ध रहेको बताउँदै कुनै विषयमा आफू विचलित भए सुधार गर्ने र कुनै विषयमा चुके पुनः उठ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। कांग्रेसको यात्रा निरन्तर सुधारको यात्रा भएको भन्दै उहाँले पार्टीलाई हरेक नागरिकको सुझाव, अपेक्षा र आकांक्षाअनुसार अघि बढाउनुपर्ने बताउनुभएको छ।
अन्त्यमा उहाँले आफू शक्ति प्राप्तिका लागि नभई राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको बताउनुभएको छ। २०३३ सालमा बीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्कँदा सबै राष्ट्रवादी तथा प्रजातन्त्रवादी शक्तिलाई एक ठाउँमा उभिनुपर्ने समय आएको स्मरण गर्दै देउवाले अहिले पनि राष्ट्रिय एकताको आवश्यकता रहेको बताउनुभएको छ।
उहाँले विगतका विभाजन र द्वन्द्वका घाउमा मलम लगाउँदै मेलमिलापको मार्ग रोज्न आग्रह गर्नुभएको छ। प्रत्येक बालकले निर्भीक सपना देख्न सक्ने, ज्येष्ठ नागरिकले सम्मानपूर्वक विश्राम गर्न पाउने तथा हरेक समुदाय समृद्ध र अवसरयुक्त बन्न सक्ने नेपाल निर्माण गर्नुपर्ने उहाँको भनाइ छ।
उहाँले आफ्नो सम्पूर्ण राजनीतिक जीवनमा राष्ट्र, लोकतन्त्र, नागरिक, संविधान र कानुनलाई सर्वोपरि मानेर काम गरेको उल्लेख गर्दै आगामी दिनमा पनि यही मूल्य–मान्यताअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
अपिलको अन्त्यमा उहाँले आफू नेपाली कांग्रेसको मात्रै नभई आम नेपाली नागरिक बनेर फर्किएको उल्लेख गर्दै विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तयार रहेको बताउनुभएको छ।









सेलिब्रेटी सांसदहरूलाई धक्का
शरणार्थीले निम्त्याउने समस्या
मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट
आजका लागि तोकियो विदेशी मुद्राको
कक्षा १२ को मौका परीक्षाको
सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष