काठमाडौं । राष्ट्रिय जनमोर्चाका राष्ट्रिय सभा सदस्य तुलप्रसाद विश्वकर्माले देशमा बढ्दो महँगी नियन्त्रण गर्न तथा सामाजिक सद्भाव खल्बलिन नदिन सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ।
बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद विश्वकर्माले महँगीका कारण आम नागरिकको दैनिक जीवन कष्टकर बन्दै गएको बताउनुभएको हो। उहाँले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरी जनताको मौलिक अधिकारमाथि असर पार्ने काम भइरहेको भन्दै कालोबजारी र माफियालाई तत्काल कानुनी दायरामा ल्याउन सरकारसँग माग गर्नुभएको छ।
उहाँले ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने बताउनुभएको छ।
‘जनताले निर्धक्कसँग चुलो बाल्न सक्ने अवस्था अझै सिर्जना हुन सकेको छैन। कृत्रिम अभाव सिर्जना गर्नेहरूको पहिचान गरी उनीहरूलाई कारबाही गर्दै जनतालाई सहज रूपमा ग्यास उपलब्ध गराउनेतर्फ सरकारले तत्काल कदम चालोस्,’ उहाँले भन्नुभयो।
सांसद विश्वकर्माले पछिल्लो समय देशका विभिन्न भागमा देखिएको साम्प्रदायिक तथा धार्मिक तनावप्रति समेत गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। तराईबाट सुरु भएको तनाव मोरङलगायतका जिल्लामा समेत फैलिएको उल्लेख गर्दै उहाँले यस्ता गतिविधिले मुलुकको शान्ति सुरक्षामा चुनौती थपेको बताउनुभएको हो।
धार्मिक आस्था व्यक्तिको निजी विषय भएको उल्लेख गर्दै उहाँले धर्मलाई राजनीतिक स्वार्थपूर्तिको माध्यम बनाउन नहुनेमा जोड दिनुभएको छ।
‘धार्मिक आस्था व्यक्तिको निजी विषय हो। यसलाई राजनीतिकरण गरेर समाजमा अराजकता फैलाउने र सामाजिक सद्भाव खल्बलाउने छुट कसैलाई छैन। यसप्रति सरकार सचेत रहन जरुरी छ,’ उहाँले भन्नुभयो।
धार्मिक अतिवाद तथा कतिपय धार्मिक अगुवाबाटै आउने साम्प्रदायिक अभिव्यक्ति दुःखद् भएको बताउँदै सांसद विश्वकर्माले सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभएको छ।
उहाँले महँगी, कालोबजारी र सामाजिक तनाव नियन्त्रणमा सरकार प्रभावकारी रूपमा प्रस्तुत हुनुपर्ने बताउनुभएको छ।







घरबाट हराएका व्यक्ति खोलामा मृत
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने
हिमालयन रिइन्स्योरेन्स शेयर कारोबार प्रकरण:
आन्दोलनका कारण योजनावद्ध काम गर्न
करिब ६४७ किलो गाँजासहित दुई
विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष