काठमाडौं । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने हालको व्यवस्था तत्काल पुनरावलोकन नगर्ने स्पष्ट पारेको छ।
बिहीबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट जवाफ दिँदै कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले तत्काल दुई दिने सार्वजनिक बिदा हटाउने वा परिवर्तन गर्ने कुनै गृहकार्य नभएको जानकारी दिनुभएको हो।
मन्त्री गौतमले अन्तर्राष्ट्रिय अभ्यास र मुलुकको आन्तरिक आवश्यकतालाई ध्यानमा राखेर सातामा दुई दिन सार्वजनिक बिदाको व्यवस्था लागू गरिएको बताउनुभयो।
बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले सातामा दुई दिन बिदा दिने निर्णय ‘असफल विधि’ भएको टिप्पणी गर्दै यसले शिक्षा, व्यापार तथा सरकारी सेवामा गम्भीर असर पारेको दाबी गर्नुभएको थियो। उहाँले उक्त व्यवस्था खारेज गरी पुनः सातामा एक दिन मात्र सार्वजनिक बिदा दिने व्यवस्था कायम गर्न सरकारसँग माग गर्नुभएको थियो।
जवाफमा मन्त्री गौतमले तत्कालीन समयमा इन्धन आपूर्तिमा देखिएको असहजता तथा इन्धन खपत घटाउने उद्देश्यले २०८२ चैत २३ गतेदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था कार्यान्वयनमा ल्याइएको स्मरण गराउनुभयो।
उहाँका अनुसार कर्मचारीको कार्य–जीवन सन्तुलन, ऊर्जा तथा प्रशासनिक खर्चमा मितव्ययिता, आन्तरिक पर्यटन प्रवद्र्धन तथा आर्थिक गतिविधिलाई चलायमान बनाउन यो व्यवस्था प्रभावकारी देखिएको छ।
मन्त्री गौतमले बिहान ९ बजेदेखि नै सरकारी कार्यालय खुल्ने व्यवस्थाले सेवाग्राहीलाई सहजता पुगेको तथा कर्मचारीको मनोबल र कार्यक्षमतामा समेत सकारात्मक प्रभाव परेको दाबी गर्नुभयो। विशेषगरी आन्तरिक पर्यटकको संख्या बढ्दा स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव परेको सरकारको भनाइ छ।
सांसदहरूले दुई दिने बिदाका कारण विद्यार्थीको पाठ्यक्रम पूरा गर्न कठिनाइ हुने, विद्यार्थीमा असुरक्षा बढ्न सक्ने तथा सरकारी सेवामा सुस्तता आउन सक्ने विषय उठाएका थिए।
त्यसको जवाफमा मन्त्री गौतमले विद्यार्थीको चौतर्फी विकासका लागि पढाइसँगै सामाजिक घुलमिल, सिर्जनशीलता र खेलकुद पनि आवश्यक रहेको बताउनुभयो।
‘हाललाई यो व्यवस्था परिवर्तन गर्ने सम्बन्धमा कुनै गृहकार्य भएको छैन। यद्यपि प्राप्त सुझावहरूलाई सरकारले अध्ययनको विषय बनाउनेछ,’ उहाँले भन्नुभयो।
पूरक प्रश्नमा सांसद विश्वकर्माले दुई दिने बिदाका कारण शिक्षा र सरकारी सेवामा पर्न सक्ने असरबारे पुनः सरकारको ध्यानाकर्षण गराउनुभएको थियो। मन्त्री गौतमले शिक्षालाई विद्यालयको घेराभित्र मात्र सीमित नगरी समाज, सिर्जनशीलता र व्यवहारिक सिकाइसँग जोडेर हेर्नुपर्ने धारणा राख्नुभयो।







मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट
आजका लागि तोकियो विदेशी मुद्राको
कक्षा १२ को मौका परीक्षाको
सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष
कठिन चुनौतीबीच जनादेशको जिम्मेवारी
नेपाल गुणस्तर परिषद्को बैठक :