काठमाडौं । प्रेस काउन्सिल नेपालले आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरिएको तथा सञ्चारमाध्यमको कार्यालयमा हातहतियारसहित प्रवेश गरी कम्प्युटरसहितका सामग्री जफत गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
काउन्सिलले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै श्रेष्ठलाई २०८३ साउन २७ गते बुधबार राति पक्राउ गरी उहाँको निजी निवासमा खानतलासी गरिएको र त्यसको भोलिपल्ट बिहानै जनआस्था साप्ताहिकको कार्यालयमा हातहतियारसहित प्रवेश गरी कम्प्युटरलगायत सामग्री जफत गरिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको हो।
प्रेस काउन्सिलले कुनै सञ्चारमाध्यम वा पत्रकारले व्यावसायिक आचारसंहिता उल्लङ्घन गरेको अवस्थामा काउन्सिलमा उजुरी दिन सकिने कानुनी व्यवस्था रहेको स्मरण गराएको छ। पत्रकारिता क्षेत्रमा स्वस्थ वातावरण निर्माण गर्ने, प्रेस स्वतन्त्रताको दुरुपयोग हुन नदिने, पत्रकार आचारसंहिता कार्यान्वयन गराउने तथा प्रेस स्वतन्त्रता र पत्रकारिताको मर्यादा कायम राख्नु काउन्सिलको जिम्मेवारी रहेको जनाएको छ।
काउन्सिलका अनुसार पत्रकार तथा सञ्चारमाध्यमविरुद्ध परेका उजुरीमाथि छानबिन गरी आवश्यक कारबाही गर्ने, दुवै पक्षलाई बोलाएर संवाद तथा मेलमिलाप गराउने र स्वअनुगमन गर्ने कार्य हुँदै आएको छ।
आचारसंहिता उल्लङ्घन भए खण्डन प्रकाशन वा प्रसारण, भूलसुधार तथा क्षमायाचनाका लागि निर्देशन दिने, ध्यानाकर्षण वा सचेत गराउनेलगायतका कारबाही गर्न सकिने काउन्सिलले जनाएको छ। गम्भीर उल्लङ्घनका अवस्थामा सम्बन्धित निकायलाई प्रेस प्रतिनिधि प्रमाणपत्र वा प्रेस पास निलम्बन गर्न निर्देशन दिने तथा थप कारबाहीका लागि नेपाल पत्रकार महासंघ र सम्बन्धित सञ्चार संस्थामा सिफारिस गर्न सकिने व्यवस्था रहेको पनि काउन्सिलले स्पष्ट पारेको छ।
प्रेस काउन्सिलले नागरिकको सूचनाको हकको प्रत्याभूति प्रेस स्वतन्त्रताबाट हुने भएकाले प्रेसको मर्यादा कायम राख्नु सबैको कर्तव्य भएको जनाएको छ। प्रेस स्वतन्त्रताको सदुपयोग र सम्मान हुनुपर्ने उल्लेख गर्दै काउन्सिलले पत्रकार तथा सञ्चारकर्मीले पनि पेसागत मर्यादा र आचारसंहिताप्रति सचेत रहनुपर्नेमा जोड दिएको छ।
सत्य, तथ्य, सन्तुलित र विश्वसनीय पत्रकारितामार्फत पत्रकारिताको व्यावसायिक अभ्यासलाई मर्यादित, जवाफदेही र उत्तरदायी बनाउनुपर्ने काउन्सिलको भनाइ छ।
कुनै समाचारको विषयमा चित्त नबुझेमा सम्बन्धित पक्षले कानुनी तथा संस्थागत प्रक्रियाअनुसार प्रेस काउन्सिल नेपालमा उजुरी दिनसमेत काउन्सिलले आग्रह गरेको छ।
काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत तथा प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा पत्रकार र सञ्चारमाध्यमको अनुगमन आफ्नो क्षेत्राधिकारभित्र रहेर गर्दै आएको उल्लेख गरिएको छ।








सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :