काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीस्थित नरसिंह भगवान मन्दिरको नाममा रहेको १० कठ्ठा ५ धुर सार्वजनिक जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा नामसारी तथा दर्ता गराई बिक्री गरेको आरोपमा संलग्न व्यक्तिविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार सुनसरीको धरान उपमहानगरपालिका–१४ दुईधारेस्थित नरसिंह भगवान मन्दिरको नाममा कायम रहेको साविक भादगाउँ सिनवारी गाविस–४क का कित्ता नम्बर १ को ५ कठ्ठा ७ धुर र कित्ता नम्बर ४ को ४ कठ्ठा १८ धुर जग्गा मिलेमतोमा व्यक्तिको नाममा नामसारी गरिएको हो।
अनुसन्धानका क्रममा प्रतिवादीहरूले आपसी मिलेमतो र योजनामा झुट्टा विवरणसहितको सर्जमिन मुचुल्का तयार गराएको तथा नाता प्रमाणित प्रमाणपत्रसमेत बनाएको आयोगले जनाएको छ।
साविक सिंगिया गाविसले तयार पारेको नाता प्रमाणित प्रमाणपत्रका आधारमा धरान नगरपालिकाले मालपोत कार्यालय, सुनसरीलाई उक्त जग्गा मन्दिरका तत्कालीन पुजारी टिर्रु चौधरीको नाममा नामसारी गर्न सिफारिस गरेको आयोगको अनुसन्धानबाट खुलेको छ।
त्यसपछि मालपोत कार्यालय, सुनसरीले २०६५ जेठ २१ गते नामसारी गर्ने निर्णय गरेको आयोगले जनाएको छ।
यसरी मन्दिरको नाममा रहेको कुल १० कठ्ठा ५ धुर जग्गा गैरकानुनी रूपमा नक्कली जग्गाधनी खडा गरी टिर्रु चौधरीको नाममा दर्ता कायम गरिएको र पछि उक्त जग्गासमेत बिक्री गरिएको आयोगको दाबी छ।
आयोगका अनुसार आर्थिक वर्ष २०८२/८३ को न्यूनतम मूल्यांकनअनुसार उक्त सार्वजनिक जग्गाको मूल्य ३६ लाख १० हजार रुपैयाँ रहेको छ।
अनुसन्धानबाट सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्याई भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि भएको भन्दै आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ज) तथा दफा १९ को उपदफा (२) बमोजिम सजायको मागदाबीसहित संलग्न प्रतिवादीहरूविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।







सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :