काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले हवाई दुर्घटना हुनै नदिने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।
राष्ट्रिय सभामा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले हवाई सुरक्षा र यात्रुको अधिकारका विषयमा सरकार गम्भीर रहेको बताउनुभएको हो।
हवाई सुरक्षालाई थप प्रभावकारी बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई नियामक र सेवा प्रदायक गरी दुईवटा स्वायत्त संस्थामा विभाजन गर्ने गरी विधेयक तयार पारिएको उहाँले जानकारी दिनुभयो।
नेपालका विमान युरोपेली संघको ‘ब्ल्याक लिस्ट’मा रहेको भन्ने शब्दावलीप्रति असहमति जनाउँदै मन्त्री पौडेलले उक्त सूचीलाई ‘एयर सेफ्टी लिस्ट’ अर्थात् हवाई सुरक्षा सूची भन्न उपयुक्त हुने धारणा राख्नुभयो। ‘ब्ल्याक लिस्ट’ शब्द नै रङ्गभेदी भएको उहाँको तर्क छ।
नेपाललाई उक्त सूचीबाट हटाउन मन्त्रालयले विभिन्न सुधारका काम अघि बढाइरहेको जानकारी दिँदै उहाँले आगामी छ महिनाभित्र सकारात्मक परिणाम आउने अपेक्षा व्यक्त गर्नुभयो।
प्राविधिक कारणले ढिलाइ हुँदा वायुसेवा कम्पनीलाई दायित्व नहुने
विधेयकमाथिको छलफलका क्रममा उठेका प्राविधिक प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले मौसम, एयर ट्राफिक वा अन्य प्राविधिक कारणले उडान ढिलो भए वायुसेवा कम्पनीमाथि दायित्व सिर्जना नहुने कानुनी व्यवस्था विधेयकमा गरिएको बताउनुभयो।
विश्वव्यापी अभ्यासअनुसार नै यस्तो व्यवस्था गरिएको उहाँले स्पष्ट पार्नुभयो।
विधेयकका कारण हवाई भाडा महँगिन सक्ने सांसदहरूको आशंकाप्रति मन्त्री पौडेलले त्यस्तो व्यवस्थाले भाडादरमा उल्लेख्य वृद्धि नहुने बताउँदै आश्वस्त पार्नुभयो।
त्यस्तै, विदेशी नागरिकका लागि नेपालमा लागू गरिएको ‘डलर फेयर’ अर्थात् दोहोरो हवाई भाडादरका विषयमा मन्त्रालयले अध्ययन गरिरहेको उहाँले जानकारी दिनुभयो। उक्त व्यवस्थाका सबल र दुर्बल पक्षबारे अध्ययन तथा छलफल गरी आवश्यक निर्णय लिइने उहाँको भनाइ छ।
मन्त्री पौडेलले हवाई सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै यात्रुको अधिकार संरक्षण र नेपालको हवाई क्षेत्रलाई सुरक्षित तथा विश्वसनीय बनाउनेतर्फ सरकार केन्द्रित रहेको बताउनुभयो।







सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :