एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले युइएफए सुपर कपको उपाधि लगातार दोस्रो पटक जितेको छ । बुधबार राती जर्मनीमा भएको रोमाञ्चक खेलमा पिएसजीले इंग्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लालाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको हो ।
पिएसजीको जितमा ख्विचा क्वारात्स्खेलिया र डिजिरे डुएले गोल गर्नुभयो । एस्टन भिल्लाका लागि १७ वर्षीय युवा खेलाडी ब्रायन माड्जोले एक गोल फर्काउनुभयो । खेलमा पिएसजीले सुरुवातदेखि नै आक्रामक शैली अपनाए पनि एस्टन भिल्लाले उत्कृष्ट प्रतिरोध गर्दै खेललाई प्रतिस्पर्धात्मक बनाएको थियो ।
पिएसजीले खेलको २०औँ मिनेटमा अग्रता लिएको थियो । डिजिरे डुएले उपलब्ध गराएको उत्कृष्ट पासलाई सदुपयोग गर्दै क्वारात्स्खेलियाले गोल गर्नुभएको थियो । सुरुवाती अग्रता लिएपछि पिएसजी थप आत्मविश्वासका साथ खेलमा अघि बढेको थियो । तर, एस्टन भिल्लाले लामो समय पिएसजीलाई अग्रता कायम राख्न दिएन । खेलको ३५औँ मिनेटमा १७ वर्षीय ब्रायन माड्जोले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याउनुभयो । युवा खेलाडीको गोलसँगै एस्टन भिल्लाले खेलमा पुनरागमनको संकेत दिएको थियो ।
दोस्रो हाफमा भने पिएसजीले पुनः दबाब बढायो । खेलको ६१औँ मिनेटमा डिजिरे डुएले निर्णायक गोल गर्दै पिएसजीलाई २–१ को अग्रता दिलाउनुभयो । उहाँलाई औसमाने डेम्बेलेले उत्कृष्ट पास उपलब्ध गराउनुभएको थियो । त्यसपछि एस्टन भिल्लाले बराबरी गोलका लागि लगातार प्रयास गरे पनि पिएसजीको रक्षापंक्तिले उसको आक्रमणलाई सफल हुन दिएन ।
पिएसजीका प्रशिक्षक लुइस इन्रिकेले दोस्रो हाफमा औसमाने डेम्बेलेसँगै विश्वविजेता फावियन रुइजलाई मैदान प्रवेश गराउनुभएको थियो । अनुभवी खेलाडीको प्रवेशपछि पिएसजीले खेलमा थप नियन्त्रण कायम गरेको थियो ।
यस जितसँगै पिएसजीले युइएफए सुपर कपको उपाधि लगातार दोस्रो पटक आफ्नो नाममा राखेको छ । गत सिजन पनि पिएसजीले फाइनलमा इंग्लिस क्लब टोटनहमलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पहिलो पटक सुपर कपको उपाधि जितेको थियो ।
लगातार दोस्रो पटक सुपर कप जित्दै पिएसजीले युरोपेली क्लब फुटबलमा आफ्नो प्रभावलाई थप बलियो बनाएको छ । पछिल्ला सिजनमा घरेलु तथा युरोपेली प्रतियोगितामा प्रभावशाली प्रदर्शन गर्दै आएको पिएसजीका लागि यो उपाधि नयाँ सिजनको सुरुवातमा महत्त्वपूर्ण उपलब्धिका रूपमा रहेको छ ।






केयू-सिकागो विश्वविद्यालयको सहकार्यमा अन्तर्राष्ट्रिय अनुवाद
न्यायपालिकाको स्वतन्त्रता संकटमा
रास्वपामा चिसिँदो सम्बन्ध, सल्किँदो आगो
राशिफल २२ साउन, वृष :
‘जय नेपाल पार्टी’को उदय :
नयाँ तलबमान सार्वजनिक