मियामी । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनेल मेसीले आफ्ना बुबा तथा लामो समयदेखि एजेन्ट रहनुभएका जर्ज मेसीको निधनपछि आफू अब धेरै लामो समयसम्म फुटबल खेलिरहने कि नरहने भन्नेमा गम्भीर शंका व्यक्त गर्नुभएको छ । लामो समयको बिरामीपछि ६८ वर्षको उमेरमा गत हप्ता बुबाको निधन भएपछि मेसीले सामाजिक सञ्जालमार्फत्् भावनात्मक श्रद्धाञ्जली अर्पण गर्दै यो कठिन परिस्थितिमा आफू अन्योलमा रहेको बताउनुभएको हो ।
बुबाको निधनले गहिरो रूपमा विक्षिप्त ३९ वर्षीय मेसीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘बुबा, तपाईंबिना म के गर्नेछु, मलाई थाहा छैन । म कसरी अगाडि बढ्ने भन्नेमा अन्योलमा छु । मैले आजसम्म केवल फुटबल खेल्नमात्र जानेको थिएँ, तर अब मलाई लाग्दैन कि म लामो समयसम्म यो खेल जारी राख्न सक्छु । तपाईं सुरुदेखि नै मेरो साथमा हुनुहुन्थ्यो । हामी यात्राको अन्त्यतिर थियौँ, अझै केही समय किन रोकिनुभएन ताकि हामीले यो यात्रा सँगै टुंग्याउन पाऊँ ?’
मेसीले १४ वर्षको उमेरदेखि नै आफ्ना बुबाले एजेन्टका रूपमा काम गर्दै आफूलाई विश्वकै महान् खेलाडी बनाउन ठूलो भूमिका खेलेको स्मरण गर्नुभएको छ । उहाँले आफ्ना बुबालाई एक पितामात्र नभई मिल्ने साथी र मार्गदर्शकका रूपमा सम्झँदै भन्नुभएको छ, ‘तपाईं बुबा, साथी र एजेन्ट हुनुहुन्थ्यो । हरेक क्षणमा मेरा लागि तपाईं जस्तो हुनु आवश्यक थियो, त्यस्तै हुनुभयो र तपाईंले कहिल्यै गलत कदम चाल्नुभएन । म आफ्ना छोराछोरीलाई पनि तपाईंले मलाई सिकाएझैं संस्कारमा हुर्काउनेछु ।’
हालै सम्पन्न सन् २०२६ को विश्वकपमा अर्जेन्टिना फाइनलमा स्पेनसँग १-० गोलले पराजित भएको थियो । बुबाको स्वास्थ्य नाजुक हुँदाहुँदै पनि बुबाकै इच्छा र प्रेरणाका कारण मेसीले यो विश्वकप खेल्नुभएको थियो । विश्वकपका स्मृतिहरू साट्दै मेसीले भन्नुभएको छ, ‘तपाईं मलाई सधैँ अन्तिम एक पटक विश्वकप खेलेको हेर्न चाहनुहुन्थ्यो । मैले तपाईंलाई हामी फाइनलमा पुग्नेछौं र तपाईं आउन सक्नुहुनेछ भनेर बारम्बार भन्दै आएको थिएँ । हामी फाइनलमा पुग्यौं, तर तपाईं त्यहाँ हुन सक्नुभएन । म ट्रफी जितेर तपाईंलाई देखाउन र समर्पण गर्न चाहन्थेँ, तर मेरा खुट्टाहरूमा अब शक्ति बाँकी थिएन । यस पटक मैले आफ्नो शारीरिक क्षमता र सीमाभन्दा बाहिर गएर प्रयास गरेँ, तर सकिनँ । मलाई कहिल्यै पनि ठीक महसुस भएन ।’ खेल सकिएपछि सधैँ बुबाको मेसेज पर्खिने गरेको तर यसपटक सन्देश नआउँदा मात्रै स्थिति कति गम्भीर छ भन्ने महसुस भएको उहाँले बताउनुभयो ।
जुन महिनामा सम्पन्न विश्वकप प्रतियोगिताका दौरान जर्ज मेसीको अनुपस्थितिले सबैको ध्यान खिचेको थियो । जर्जको स्वास्थ्य अवस्थाबारे विभिन्न अफवाहहरू फैलिरहँदा मेसीको परिवारले सञ्चारमाध्यमलाई ‘मानवीय संवेदना’ अपनाउन आग्रह गरेको थियो । समूह चरणको खेलमा अल्जेरियाविरुद्ध गोल गरेपछि भावुक बन्नुभएका मेसीले आफूले मैदान बाहिरको एउटा गम्भीर परिस्थितिसँग जुधिरहेको त्यसैबेला स्वीकार गर्नुभएको थियो ।
स्थानीय सञ्चारमाध्यमका अनुसार क्यान्सरपीडित जर्ज मेसीको गत साता निधन भएपछि आइतबार रोजारियो नजिकैको पेरेज शहरमा परिवारका सदस्य, आफन्त र केही अर्जेन्टिनी सहकर्मी खेलाडीहरूको उपस्थितिमा अन्त्येष्टि गरिएको थियो । बुबाको अन्त्येष्टि सकेर मेसी मंगलबार रातीमात्रै आफ्नो मेजर लिग सकर क्लब इन्टर मियामीमा फर्किनुभएको थियो । मेसीको इन्टर मियामीसँग सन् २०२८ को सिजनको अन्त्यसम्मको सम्झौता कायम छ । मेसीको यो दुःखद घडीमा विश्वभरबाट सहानुभूति र समवेदना प्रकट गरिएको छ । एजेन्सी







राशिफल २२ साउन, वृष :
‘जय नेपाल पार्टी’को उदय :
नयाँ तलबमान सार्वजनिक
कांग्रेस विवाद निरूपणको प्रश्न फेरि
सेलिब्रेटी सांसदहरूलाई धक्का
शरणार्थीले निम्त्याउने समस्या