काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औँ बोर्ड बैठकले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ मिति तय गरेको छ।
बिहीबार सिंहदरबारमा बसेको बोर्ड बैठकले आगामी मंसिर १६ देखि २९ गतेसम्म सुर्खेतमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको राखेपका सदस्यसचिव रामचरित्र मेहताले जानकारी दिनुभयो।
यसअघि पनि प्रतियोगिताको मिति पटक–पटक सर्दै आएको थियो। कर्णाली प्रदेशमा प्रतियोगिता आयोजना गर्ने तयारी भए पनि पूर्वाधार निर्माणमा भएको ढिलाइका कारण प्रतियोगिता अनिश्चित बन्दै आएको थियो।
बोर्ड बैठकले १०औँ राष्ट्रिय खेलकुदका लागि आवश्यक विभिन्न मापदण्ड तथा निर्देशिकासमेत पारित गरेको छ।
त्यस्तै, जापानमा आयोजना हुने १९औँ एसियाली खेलकुदमा खेलाडी र अफिसियल गरी कुल २१८ जनाको सहभागितालाई परिषद्ले अन्तिम सहमति दिएको छ।
बैठकले खेलकुद क्षेत्रको प्रशासनिक सुधारतर्फ पनि विभिन्न निर्णय गरेको छ। कर्मचारी व्यवस्थापन, आन्तरिक स्रोतको विनियोजन तथा चालु आर्थिक वर्षको बजेट प्रमाणीकरणलगायत विषयमा निर्णय भएको सदस्यसचिव मेहताले बताउनुभयो।
पहिलोपटक पारा राष्ट्रिय खेलकुद आयोजना हुने
राखेप बोर्डले नेपालमा पहिलोपटक ‘प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिता’ आयोजना गर्ने निर्णयसमेत गरेको छ।
प्रथम पारा राष्ट्रिय खेलकुद आगामी पुस १५ गतेदेखि सुरु हुने सदस्यसचिव मेहताले जानकारी दिनुभयो।
यसैबीच, बैठकमा अखिल नेपाल फुटबल संघ (एन्फा) मा देखिएको पछिल्लो विवाद तथा निलम्बनको विषयमा समेत छलफल भएको छ।
परिषद्ले एन्फाको पछिल्लो अवस्थाबारे जानकारी लिँदै समस्या समाधानका लागि सम्बन्धित पक्षसँग समन्वय र सहकार्य गरिरहेको जनाएको छ। सरकार र परिषद्का तर्फबाट निकट भविष्यमा विवादको उचित समाधान निकाल्ने गरी पहल भइरहेको जनाइएको छ।







हरेक वर्ष कोशीको बाढी र
विश्व आदिवासी दिवस आज, अधिकार
पर्यटन नीति एकातिर, बजेटको बाटो
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै,
इलाममा अदुवाको आकर्षक मूल्य, खेती
कान्ति राजमार्ग स्तरोन्नतिको भौतिक प्रगति