कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ।
बिहीबार प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले राजीनामा दिने घोषणा गर्नुभएको हो। सम्बोधनलगत्तै उहाँ राजीनामा पत्र बुझाउन प्रदेश प्रमुखको कार्यालय पुग्नुभएको थियो।
सत्ता साझेदार नेकपा एमालेले असार ३१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा पर्नुभएको थियो। सत्ता गठबन्धनमा देखिएको विवादका कारण शाह नेतृत्वको सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेटसमेत प्रदेशसभाबाट पारित हुन सकेको थिएन।
बजेट पारित हुन नसकेपछि सुदूरपश्चिम प्रदेश सरकार अहिले बजेट शून्यताको अवस्थामा छ।
शाह २०८१ साउन २० गते दोस्रोपटक सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। यसअघि नेपाली कांग्रेससँग सहकार्यमा रहेको नेकपा एमाले अहिले नयाँ गठबन्धनअनुसार नेपाली कम्युनिस्ट पार्टीसँग सहकार्यमा छ।
नयाँ गठबन्धनअनुसार सुदूरपश्चिममा नेकपाको नेतृत्वमा सरकार गठन गर्ने तयारी भइरहेको छ। प्रदेशसभाको यस कार्यकालमा अब पाँचौँ मुख्यमन्त्रीका रूपमा नेकपा संसदीय दलका नेता खगराज भट्टले सरकार गठनका लागि दाबी पेस गर्ने तयारी गर्नुभएको छ।
नेकपा संसदीय दलका नेता भट्टले शुक्रबार मुख्यमन्त्रीमा दाबी पेस गर्ने बताउनुभएको छ।
एमालेको समर्थनमा भट्टले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष सरकार गठनका लागि दाबी पेस गर्ने तयारी गर्नुभएको हो।







नाइमा मोबिलिटी एक्स्पोमा ५५ ब्रान्ड
गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी
विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो
सरकारको पूर्ण मूल्याङ्कन गर्ने बेला
सरकार लक्ष्यबाट विमुख भए हस्तक्षेप
सुनको मूल्य तोलामा चार हजार