नेपालको वित्तीय पहुँच विस्तार, उद्यमशीलता विकास, गरिबी निवारण तथा महिला सशक्तीकरणमा लघुवित्त क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । तर, पछिल्लो समय लघुवित्तको ब्याजदर, बहुबैंकिङ, ऋणग्रस्तता, अस्वस्थ प्रतिस्पर्धा तथा कर्जा असुलीलगायत विषयमा प्रश्न उठ्दै आएका छन् । लघुवित्त क्षेत्रकै समस्याबारे आन्दोलनसमेत भएपछि सरकारले अध्ययन समिति गठन गरेको थियो । समितिले लघुवित्तको लक्ष्यमा विचलन, कमजोर आन्तरिक प्रणाली तथा संस्थागत सुशासन, ग्राहकको ऋणग्रस्तता र ग्राहक संरक्षणमा समस्या देखाएको थियो । पछिल्लो समय भने क्षेत्र सुधारोन्मुख रहेको नेपाल लघुवित्त बैंकर्स संघको भनाइ छ । प्रस्तुत छ, लघुवित्त क्षेत्रको पछिल्लो अवस्था, चुनौती र सम्भावनाबारे संघका अध्यक्ष रामबहादुर यादवसँग हिमालय टाइम्सका लागि लेखनाथ पोखरेलले गर्नुभएको कुराकानीको संक्षिप्त अंशः-
अहिले लघुवित्त क्षेत्रको अवस्था कस्तो छ ?
अहिले लघुवित्त वित्तीय संस्थाहरूले देशका सातै प्रदेशमा करिब पाँच हजार शाखामार्फत् वित्तीय सेवा दिइरहेका छन् । करिब ६० लाख घरधुरीमा वित्तीय पहुँच पुर्याइएको छ । त्यसमध्ये करिब २६ लाखभन्दा बढी घरपरिवारले लघुवित्तमार्फत् कर्जा लिएर कारोबार गरिरहेका छन् । लघुवित्तमा आबद्धमध्ये करिब ९६ प्रतिशत महिला छन् । लघुवित्तको मुख्य काम ग्रामीण तथा दूरदराजका क्षेत्रमा सेवा पुर्याउनु हो । धितो दिन नसक्ने र अन्य बैंक तथा वित्तीय संस्थासम्म सहज पहुँच नभएका समुदायलाई लघुवित्तले वित्तीय सेवा दिँदै आएको छ ।
लघुवित्तले कर्जा दिनेबाहेक अन्य क्षेत्रमा पनि काम गर्छ ?
अवश्य गर्छ । लघुवित्तले कर्जामात्रै दिने होइन, वित्तीय साक्षरता, उद्यमशीलता प्रवर्द्धन र महिला सशक्तीकरणका क्षेत्रमा पनि काम गर्छ । अन्य बैंक तथा वित्तीय संस्थाबाट सेवा लिन ग्राहक कार्यालयसम्म पुग्नुपर्छ भने लघुवित्त ग्राहकको घरदैलोमै पुगेर सेवा प्रदान गर्छ । वाणिज्य बैंकहरूले पनि अहिले साना तथा बिनाधितो कर्जा दिन थालेका छन् ।
अनलाइनबाट समेत कर्जा दिने क्रम सुरु भएको छ । यसले लघुवित्तलाई असर गरेको छैन ?
खासै असर परेको छैन । लघुवित्त, सहकारीलगायत बैंक तथा वित्तीय संस्थाहरूको कार्यक्षेत्र फरक-फरक छ । नेपाल राष्ट्र बैंकले नै ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका रूपमा संस्थाहरूको कार्यक्षेत्र निर्धारण गरेको छ । वाणिज्य बैंकहरूको सेवा सबै स्थानीय तहमा पुगे पनि टोल-टोलसम्म पुगेर साना कर्जा प्रवाह गर्ने अवस्था छैन । त्यस्ता ठाउँमा लघुवित्तले सेवा दिने हो ।
लघुवित्तको पहुँच ग्रामीण क्षेत्रमा कति छ ?
लघुवित्तका करिब ४९ सय शाखामध्ये लगभग ३० प्रतिशत शाखामात्रै शहरी क्षेत्रमा छन् भने ७० प्रतिशत शाखा ग्रामीण क्षेत्रमा छन् । तीमध्ये धेरै ठाउँमा अन्य बैंक तथा वित्तीय संस्थाको पहुँच अझै पुग्न सकेको छैन । लघुवित्तले नागरिकता, विश्वास र परियोजनाका आधारमा बिनाधितो कर्जा प्रदान गर्दै आएको छ ।
वाणिज्य बैंक र लघुवित्तबीच प्रतिस्पर्धा बढेको देखिँदैन ?
वाणिज्य बैंकहरू पनि स-सानो कर्जाका लागि त्यति उत्सुक देखिँदैनन् । अर्को महत्त्वपूर्ण कुरा, लघुवित्त आफैं वाणिज्य बैंकमा स्रोतका लागि निर्भर छ । लघुवित्तले अन्य बैंक तथा वित्तीय संस्थाजस्तो सार्वजनिक निक्षेप संकलन गर्न पाउँदैन । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर त्यसलाई लगानी गर्ने हो । त्यसैले यसलाई प्रतिस्पर्धाभन्दा पनि सहकार्यका रूपमा हेर्नुपर्छ । वाणिज्य बैंकहरूले लघुवित्तलाई स्रोत व्यवस्थापनमा सहयोग गरिरहेका छन् ।
ग्रामीण क्षेत्रमा सहकारीले पनि सेवा दिइरहेका छन् । के सहकारी लघुवित्तका प्रतिस्पर्धी हुन् ?
लघुवित्त र सहकारीलाई एउटै ठान्ने गरेको पाइन्छ, तर यी दुईको प्रकृति फरक छ । सहकारी सदस्य-सदस्यबीच कारोबार गर्ने संस्था हो । सदस्यबाट बचत संकलन गरेर सदस्यलाई नै कर्जा दिने यसको मुख्य आधार हो । लघुवित्तको अवधारणा भने सुरुमा कर्जा प्रदान गरेर ग्राहकलाई व्यावसायीकरणतर्फ उत्प्रेरित गर्ने र आयआर्जनमा सहयोग गर्ने हो । सहकारीको निश्चित लक्षित समूह हुँदैन । जुनसुकै आर्थिक अवस्थाका व्यक्तिले सहकारी गठन गर्न सक्छन् । तर, लघुवित्तको लक्षित वर्ग भने विपन्न तथा न्यून आय भएका समुदाय हुन् । सहकारीले करोडौँ रुपैयाँसम्म कर्जा दिन सक्छन् भने लघुवित्तले सानो-सानो कर्जा प्रवाह गर्छ । अहिले लघुवित्तले अधिकतम सात लाख रुपैयाँसम्म कर्जा दिन पाउने व्यवस्था छ ।
लघुवित्तलाई ‘लघुवित्त बैंक’ नाम दिनुपर्ने माग किन गर्नुभएको हो ?
लघुवित्त र सहकारीबीचको भिन्नता जनमानसमा स्पष्ट हुन आवश्यक छ । लघुवित्तलाई सहकारी र सहकारीलाई लघुवित्त भन्ने गरेको पनि पाइन्छ । त्यसैले लघुवित्त वित्तीय संस्था नभई ‘लघुवित्त बैंक’ लेख्न दिनुपर्ने हाम्रो माग हो । विगतमा पनि लघुवित्तलाई ‘लघुवित्त बैंक’ भनेर चिनिन्थ्यो ।
लघुवित्तको ब्याजदर महँगो भयो भन्ने गुनासो पनि थियो । अहिले अवस्था के छ ?
अहिले लघुवित्तको ब्याजदर महँगो छैन । विश्वका अन्य मुलुकको तुलनामा नेपालमा लघुवित्तको ब्याजदर सस्तो छ । नेपाल राष्ट्र बैंकले लघुवित्तको ब्याजदर १५ प्रतिशत तोकेको छ । भारतमा २२ देखि २६ प्रतिशत र बंगलादेशमा २२ देखि २७ प्रतिशतसम्म ब्याजदर रहेको अवस्था छ । तर, लघुवित्तको ब्याजदर तुलना गर्दा यसको सञ्चालन लागत पनि हेर्नुपर्छ । लघुवित्तले घर–घरमा पुगेर सेवा दिनुपर्छ । स-सानो कर्जा धेरैभन्दा धेरै व्यक्तिमा पुर्याउनुपर्ने भएकाले यसको ट्रान्जेक्सन कस्ट बढी हुन्छ । वाणिज्य बैंकले एउटै ग्राहकलाई करोडौँ रुपैयाँ कर्जा दिन सक्छ । तर, लघुवित्तले त्यही रकम धेरै ग्राहकलाई स-सानो कर्जाका रूपमा दिनुपर्छ । त्यसका लागि धेरै शाखा र कर्मचारी आवश्यक पर्छ । त्यसैले लघुवित्तको ब्याजदरलाई वाणिज्य बैंकको ब्याजदरसँग तुलना गर्नु उपयुक्त हुँदैन ।
पछिल्लो समय लघुवित्तप्रति ग्राहकको आकर्षण कस्तो छ ?
लघुवित्तप्रतिको आकर्षण घटेको छैन । अहिले पनि लघुवित्तमा कर्जाको माग छ । केही समयअघि लघुवित्त चाहिँदैन भनेर आन्दोलन गर्नेहरू पनि अहिले लघुवित्त आवश्यक छ भन्न थालेका छन् । लघुवित्त गरिबको सहारा हो भन्ने बुझाइ विकास भएको छ । यदि लघुवित्तप्रति आकर्षण नभएको भए दुई वर्षअघि चारैतिरबाट प्रहार हुँदा यो क्षेत्र निकै कमजोर भइसक्थ्यो । तर, ग्राहकहरूले नै लघुवित्तलाई बचाएका हुन् । उनीहरूले लघुवित्त आफूलाई आवश्यक रहेको बताएका छन् । त्यसैले लघुवित्तको विकल्प तत्काल देखिँदैन ।







प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :
फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै