विषय प्रवेश
नेपालको आधुनिक उच्च शिक्षा, प्राविधिक शिक्षा, विज्ञान तथा प्रविधि र शैक्षिक संस्था निर्माणको इतिहासमा प्राडा.सुरेशराज शर्माको नाम विशिष्ट अध्यायका रूपमा स्थापित छ । एउटा विश्वविद्यालय स्थापना गर्ने कार्यभन्दा निकै पर पुगेर उहाँले नेपालमा गुणस्तरीय, स्वायत्त, प्राविधिक, व्यावसायिक र सामुदायिक उच्च शिक्षाको आधार निर्माण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । उहाँको यही बहुआयामिक योगदानलाई स्मरण, सम्मान, दस्तावेजीकरण र नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले निष्ट फाउण्डेशनको आयोजना र उच्च शिक्षामा कार्यरत हायर एजुकेशन फाउण्डेशन, नेपाल पब्लिक क्याप्स एसोसिएशन नेपाल र नेपाल केमिकल सोसाइटीको सहकार्यमा विशेष सम्मान कार्यक्रम आयोजना हुनेभएको छ ।
आयोजक संस्थाका अनुसार कार्यक्रम यही २०८३ साउन ३० गते शनिबार नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, भण्डारखाल, सानोभर्याङ, काठमाडौंमा हुँदैछ । कार्यक्रममा शिक्षाविद्, अनुदान आयोग तथा विभिन्न विश्वविद्यालयका पदाधिकारी, शिक्षक, अनुसन्धानकर्ता, वैज्ञानिक, आंगिक, सामुदायिक र निजी क्याम्पसका प्रतिनिधि र उच्च शिक्षासँग सरोकार राख्ने महानुभावहरूको सहभागिता रहने बताइएको छ । सन् १९९७/९८ ताका बानेश्वर, थापागाउँमा सञ्चालित एमफिल तथा पिएचडी प्रथम ब्याचका विद्यार्थीको रूपमा प्राडा.शर्माको तत्कालीन शैक्षिक मनोविज्ञान, नेतृत्व क्षमता, मार्गदर्शक व्यक्तित्व तथा उच्च शिक्षाको वर्तमान सन्दर्भमा उहाँको योगदानमाथि चर्चा गर्न असमर्थ प्रयास गरेको छु । अलमलको अवस्थाबाट गुज्रिरहेको नेपालको उच्च शिक्षामा उहाँले देखाएको बाटो, लिएको संकल्प र गरेको योगदानको कारण उहाँलाई गरिने सार्वजनिक अभिनन्दन तथा संयुक्त सम्मानले उच्च शैक्षिक संस्थाहरूमा कार्यरत नेतृत्ववर्ग तथा पदाधिकारीहरूका लागि पनि मार्गदर्शक र अनुकरणीय बन्नसक्ने पर्याप्त आधारहरू देखिएका छन् ।
काठमाडौं विश्वविद्यालय निर्माणको प्रारम्भिक चरण सहज थिएन । पूर्वाधार, जमिन, दक्ष शिक्षक, आर्थिक स्रोत र सरकारी सहयोग जुटाउनु निकै ठूलो चुनौती थियो । प्रारम्भिक दिनहरूमा सो विश्वविद्यालय निजीसरह नै थियो । विश्वविद्यालय अनुदान आयोगलगायत राज्यका अन्य निकायहरूको आंशिक लगानीसँगै विश्वविद्यालय सामुदायीकरण हुँदै गएको देखिन्छ । अझै पनि न्यून सरकारी लगानी भएको हुँदा आम्दानीका प्रमुख स्रोत विद्यार्थीहरूको शुल्क, अनुसन्धान तथा शैक्षिक कार्यक्रमहरूको सञ्चालनबाट प्राप्त आम्दानी नै प्रमुख रहेको देखिन्छ ।
उहासँग साहस, अठोट र समपर्णबाहेक धेर स्रोतसाधन थिएन, अहिले धेरै स्रोतसाधन छन् तर के कुराको कमीले होला उच्च शिक्षाका संस्था विद्यार्थीविहीन हुँदैछन्, कार्यरत शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूमा व्यापक असन्तुष्टि तथा निराशा देखिँदैछ । विद्यार्थीहरू पलाउन हुँदैछन्, तैपनि धमाधम विश्वविद्यालयहरू खोलिँदै छन् । प्रतिदिन विश्वविद्यालयहरू तथा उच्च शिक्षा प्रदायक संस्थाहरूका विवरण यकिनसाथ भन्नसक्ने अवस्था छैन । उच्च शिक्षा नीतिको अभाव, लगानीको अभाव, पारदर्शिता, जवाफदेहिता तथा उच्च शिक्षामा गुणस्तरीयता, उद्यमशीलता, डिजिटलाइजेसन जस्ता सूचकहरूले नयाँ मानक तथा मापदण्ड खोजिरहेका छन् ।
प्रतिफल पाउने उच्च शिक्षाको खोजी र पढ्दै कमाउँदै शिक्षा आजको टड्कारो आवश्यकता भएको पृष्ठभूमिमा उच्च शिक्षाका नेतृत्व तथा पदाधिकारीहरू तदर्थवाद तथा पारम्परिक शिक्षाको पृष्ठपोषणमा रमाउनु ठूलो चिन्ताको विषय बन्दै गएको छ । उहाँको सम्मान र सो अवसरमा गरिने संवादले उच्च शिक्षा सुधार तथा व्यवस्थापनमा नयाँ आयाम थपिने विश्वास गर्न सकिन्छ ।
समस्या पहिचान गर्ने दूरदृष्टि
प्राडा.शर्माको योगदानलाई काठमाडौं विश्वविद्यालयको स्थापनाबाट मात्र सुरु भएको ठान्नु उहाँको कार्ययात्रालाई अधुरो गरी बुझ्नु हो । उहाँले नेपालमा उच्च शिक्षा र प्राविधिक शिक्षाका संरचनात्मक चुनौतीलाई धेरै पहिल्यै पहिचान गर्नुभएको थियो । त्रिभुवन विश्वविद्यालयमा अध्यापनबाट सुरु भएको उहाँको शैक्षिक यात्रा शिक्षा प्रशासन, नीति निर्माण, प्राविधिक तथा व्यावसायिक शिक्षा हुँदै विश्वविद्यालय निर्माणसम्म पुगेको देखिन्छ । उहाँले नेपालमा उच्च शिक्षाको विकासका लागि नीति र संस्थागत संरचना दुवै आवश्यक रहेको दृष्टिकोणलाई व्यवहारमा उतारेको देखिन्छ । उहाँको सार्वजनिक जीवन र विभिन्न समाचार माध्यमहरूमा दिनुभएका अन्तर्वार्ता तथा दस्तावेजहरूको अध्ययनबाट सिटीइभिटी का पहिलो एजुकेटिभ डाइरकेटर, राष्ट्रिय शिक्षा समितिका सदस्य–सचिव, युनेस्को सम्बन्धी राष्ट्रिय निकायमा संलग्न व्यक्तित्व तथा सार्कको विज्ञान तथा प्रविधिसम्बन्धी समितिमा नेपालको प्रतिनिधिका रूपमा रहेको पाइन्छ । यसैले उहाँको योगदानलाई नीति निर्माण, संस्था निर्माण र मानव संशाधन विकासको त्रिकोणात्मक ढंगबाट बुझ्न सकिन्छ ।
शर्माको सपना, जसले उच्च शिक्षाको भूगोल बदल्यो
नेपालको उच्च शिक्षा मूलतः काठमाडौं केन्द्रित रहेको समयमा राजधानीबाहिर एउटा आधुनिक विश्वविद्यालय निर्माण गर्ने सोच आफैँमा ठूलो जोखिम थियो । प्राडा.शर्माको नेतृत्वले यही चुनौतीलाई अवसरमा परिणत गरेको देखिन्छ । काठमाडौं विश्वविद्यालयको इतिहास अनुसार सन् १९९१ मा प्राडा.सुरेशराज शर्मालाई उपकुलपति नियुक्त गरिएको थियो । त्यसपछि १९९२ मा धुलिखेलमा विश्वविद्यालय निर्माण अघि बढ्यो र १९९५ मा धुलिखेलस्थित विश्वविद्यालयको उद्घाटन सम्पन्न भयो । धुलिखेल रोज्नु केवल स्थान परिवर्तन थिएन, यो नेपालको उच्च शिक्षाको सोचमै आएको भूगोलको परिवर्तन थियो । राजधानीभन्दा बाहिर पनि अन्तर्राष्ट्रियस्तरको विश्वविद्यालय निर्माण गर्न सकिन्छ भन्ने विश्वासको संस्थागत अभिव्यक्ति थियो । आज धुलिखेल काठमाडौं विश्वविद्यालयको पहिचानसँग अभिन्न रूपमा जोडिएको छ । इञ्जिनियरिङ, विज्ञान, व्यवस्थापन, शिक्षा, चिकित्सा, सूचना प्रविधिलगायत विभिन्न क्षेत्रमा विश्वविद्यालयले आफ्नो शैक्षिक उपस्थिति विस्तार गरेको छ । प्रारम्भिक नेतृत्वले निर्माण गरेको गुणस्तर, अनुशासन, स्वायत्तता र शैक्षिक संस्कार नै संस्थाको दीर्घकालीन पहिचानको महत्त्वपूर्ण आधार बनेको देखिन्छ ।
स्रोतसाधन कम, साहस ठूलो : संस्था निर्माणको मनोविज्ञान
काठमाडौं विश्वविद्यालय निर्माणको प्रारम्भिक चरण सहज थिएन । पूर्वाधार, जमिन, दक्ष शिक्षक, आर्थिक स्रोत र सरकारी सहयोग जुटाउनु निकै ठूलो चुनौती थियो । प्रारम्भिक दिनहरूमा सो विश्वविद्यालय निजीसरह नै थियो । विश्वविद्यालय अनुदान आयोगलगायत राज्यका अन्य निकायहरूको आंशिक लगानीसँगै विश्वविद्यालय सामुदायीकरण हुँदैगएको देखिन्छ । अझै पनि न्यून सरकारी लगानी भएको हुँदा आम्दानीका प्रमुख स्रोत विद्यार्थीहरूको शुल्क, अनुसन्धान तथा शैक्षिक कार्यवक्रमहरूको सञ्चालनबाट प्राप्त आम्दानी नै प्रमुख रहेको देखिन्छ ।
प्राडा.शर्माले आफ्ना संस्मरण तथा अन्तर्वार्ताहरूमा बताएअनुसार उहाँ र सहकर्मीहरूले काठमाडौं भ्याली कलेजबाट सुरु गरेको शैक्षिक यात्रा नै विश्वविद्यालय निर्माणको आधार बन्न पुग्यो । यसरी काठमाडौं विश्वविद्यालय एउटा कानुनी संरचनाबाट मात्र जन्मिएको संस्था होइन, यसको पछाडि दीर्घकालीन सोच, नयाँ प्रयोग गर्ने साहस, जोखिम उठाउने तत्परता र संस्थागत भविष्यप्रतिको विश्वास प्रष्ट रहेको देखिन्छ ।
प्राविधिक शिक्षा : रोजगारभन्दा पनि राष्ट्र निर्माणको आधार
प्राडा.शर्माको शिक्षा–दर्शनको अर्को महत्त्वपूर्ण आयाम प्राविधिक तथा व्यावसायिक शिक्षा हो । सीटीईभीटीका पहिलो एक्जुकेटिभ डाइरेक्टरका रूपमा उहाँले प्राविधिक शिक्षालाई संस्थागत स्वरूप र निजी क्षेत्रको लगानीलाई प्राविधिक शिक्षाको विकासमा जोड्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ । उहाँको दृष्टिमा शिक्षा केवल प्रमाणपत्र प्राप्त गर्ने प्रक्रिया होइन, सीप, रोजगार, उत्पादन, आत्मनिर्भरता र राष्ट्रिय विकाससँग जोडिएको मानव संशाधन निर्माणको माध्यम पनि हो । यही सोचले आजको सीपमूलक र रोजगारमुखी शिक्षाको बहससँग उहाँको योगदानलाई अझ सान्दर्भिक बनाउँछ र सबैले बदलिँदो परिवेशमा अवलम्बन गर्नुपर्ने महत्त्वपूर्ण कदम हो जस्तो लाग्दछ ।
कम्प्युटर इञ्जिनियरिङ शिक्षाको प्रारम्भिक नेतृत्व
काठमाडौं विश्वविद्यालयले सन् १९९४ मा क्यम्युटर इञ्जिनियरङसहित मेकानिकल इञ्जिनियरङ, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स इञ्जिनियरङ, फ्रामेसी तथा इन्भारमेन्टल साइन्सका चार वर्षे स्नातक कार्यक्रम सुरु गरेको देखिन्छ । यसै योगदानलाई मूल्यांकन गर्दै काठमाडौं विश्वविद्यालयले प्राडा.शर्मालाई पाइनियर आइसिटी अवार्ड २०२४ बाट सम्मानित गरेको छ । उहाँले सूचना प्रविधि लोकप्रिय भएपछि त्यसलाई पछ्याउनुभएको होइन, प्रविधि शिक्षाको भविष्य पहिल्यै देखेर त्यसलाई संस्थागत गर्ने प्रयास गरेकै कारण सम्मानित हुनुभएको हुनुपर्छ ।
शिक्षा नीति र संस्था निर्माणको समानान्तर यात्रा
प्राडा शर्मा राष्ट्रिय शिक्षा नीति निर्माणमा समेत सक्रिय हुनुहुन्थ्यो । राष्ट्रिय शिक्षा समितिमा सदस्य-सचिवका रूपमा काम गर्नुका साथै राष्ट्रिय शिक्षा आयोगमा पनि उहाँको सहभागिता रहेको अभिलेखहरूमा देखिन्छ । उहाँले बूढानीलकण्ठ स्कुललगायत सामुदायिक उच्च शैक्षिक संस्थाको विकासमा समेत भूमिका निर्वाह गर्नुभएको पाइन्छ । उच्च तथा प्राविधिक शिक्षासम्बन्धी लेख, अनुसन्धान, पुस्तक तथा पाठ्यक्रम विकासमा उहाँको संलग्नता रहेको देख्न सकिन्छ ।
शिक्षामा गरिएको लगानीको प्रतिफल एउटा पुस्ताले मात्र होइन, धेरै पुस्ताले प्राप्तगर्छ । धुलिखेलमा रोपिएको एउटा विश्वविद्यालयको बीउ आज हजारौं विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता र समाजसँग जोडिएको विशाल शैक्षिक वृक्षमा परिणत भएको छ । त्यस वृक्षका प्रमुख शिल्पीमध्ये एक प्राडा.सुरेशराज शर्माको योगदानलाई सम्झनु भनेको केवल इतिहास सम्झनु होइन, नेपालको उच्च शिक्षाको भविष्य कस्तो हुनुपर्छ भन्ने बाटो पनि खोज्नु हो ।
विश्वविद्यालय समाजबाट अलग होइन
प्राडा. शर्माको शिक्षा-दर्शनको गहन पक्ष विश्वविद्यालयलाई समाजको सेवासँग जोड्नु हो । सन् २०१४ मा नरवेजियन युनिर्भसिटी, साइन्स एण्ड टेक्नोलोजीले उहाँलाई मानार्थ विद्यावारिधि प्रदान गरेको थियो । उहाँलाई सम्मान गर्नुको प्रमुख आधार नै नेपालमा निजी क्षेत्रबाट स्थापना गरेको विश्वविद्यालय नै हो । विश्वविद्यालय समाजबाट अलग, सीमित व्यक्तिको ज्ञानको केन्द्र नभई समग्र समाजको कल्याणमा ज्ञान र शिक्षाको उपयोग गर्ने संस्था हुनुपर्ने उहाँको विचारधाराको जति प्रशंसा गरे पनि कम हुन्छ ।
संख्या होइन, गुणस्तरको विश्वविद्यालय
प्राडा.शर्माको नेतृत्वको अर्को महत्त्वपूर्ण विशेषता गुणस्तरप्रतिको अथाह प्रेम हो । त्यसैले होला अहिले पनि विश्वविद्यालयले धेरै सम्बन्धन बाँडेको देखिँदैन । सीमित शैक्षिक संस्थाहरूलाई मात्र सम्बन्धन दिएको कारण उहाँ पटक-पटक आलोचित र अपदस्त भएको पनि देखिन्छ । सम्बन्धनकै विषयलाई लिएर विगतमा उपकुलपति पदबाट बर्खास्त भएको इतिहास अझै ताजै छ । विश्वविद्यालयमा वैचारिक राजनीतिको बिजारोपणविरुद्ध उहाँ एकल वृहस्पतिका रूपमा उभिनुभयो । विश्वविद्यालयको अनियन्त्रित विस्तारभन्दा शैक्षिक गुणस्तर महत्त्वपूर्ण हुने धारणा उहाँले राख्दै आउनुभएको छ । विश्वविद्यालयको स्वायत्तता पनि जिम्मेवारी सहितको हुनुपर्ने उहाँको दृष्टिकोण रहेको छ । नेपालको उच्च शिक्षाले विद्यार्थी विदेशिने प्रवृत्ति, अनुसन्धानको गुणस्तर, रोजगारी, वित्तीय दिगोपन, राजनीतिक प्रभाव, डिजिटल रूपान्तरण र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाजस्ता चुनौती सामना गरिरहेको अवस्थामा यो दृष्टिकोण झन् सान्दर्भिक देखिन्छ ।
एउटा विश्वविद्यालयभन्दा ठूलो विरासत
प्राडा.शर्माको सबैभन्दा ठूलो उपलब्धि एउटा विश्वविद्यालयको भवन वा प्रशासनिक संरचनाको निर्माण मात्र होइन; संस्थागत संस्कृतिको निर्माण पनि हो । काठमाडौं विश्वविद्यालयको प्रारम्भिक चरणका चुनौती जमिन, योजना, पूर्वाधार र संस्थागत संरचना निर्माण नै थिए । त्यो पनि काठमाडौं बाहिर । आज धुलिखेलमा उभिएको काठमाडौं विश्वविद्यालय त्यस दृष्टिकोण र लगनशीलताको मूर्त परिणाम हो । आज धेरै विद्यार्थी र अभिभावकका लागि यो विश्वविद्यालय पहिलो रोजाइको गन्तव्य बन्नु केवल वर्तमान शैक्षिक कार्यक्रमको परिणाम नभई दशकौंअघि निर्माण गरिएको संस्थागत विश्वासको परिणाम पनि होला । प्राडा.शर्माको उच्च शिक्षा यात्राको चर्चा गर्दा प्रायः काठमाडौं विश्वविद्यालयको स्थापना, धुलिखेलमा विश्वविद्यालय निर्माण र नेपालको प्राविधिक शिक्षाको विकासको कथा सुनिन्छ । तर, उहाँको शैक्षिक यात्राको अर्को महत्त्वपूर्ण पक्ष छ । त्यो बाटो सधैं प्रशंसा, समर्थन र सहमतिले भरिएको छैन । उपकुलपति परिवर्तनका क्रममा उहाँले तीव्र आलोचना, विरोध र व्यक्तिगत आरोपसमेत सामना गर्नुपरेको देखिन्छ । काठमाडौं विश्वविद्यालयको प्रारम्भिक नेतृत्वकालमै उहाँमाथि विश्वविद्यालय सञ्चालनको शैलीलाई लिएर केही शिक्षक, कर्मचारी तथा विद्यार्थी पक्षबाट पटक-पटक आलोचना र आन्दोलन भएको थियो । वैचारिक संघसंस्था, स्वतन्त्र विद्यार्थी युनियन, शिक्षक कर्मचारी संगठनले विश्वविद्यालयको निर्माण, विकास तथा विस्तार र गुणस्तरमा कमी आउन नदिन उहाँले पटक–पटक आरोपित र अपमानित हुनुपरेको जगजाहेर छ । एकातिर उहाँको यसै कठोर नेतृत्वशैलीले काठमाडौं विश्वविद्यालयलाई पृथक् पहिचान स्थापना गर्न सघाउ पुर्याएको देखिन्छ भने अर्कोतिर काठमाडौं विश्वविद्यालयमा शिक्षक–कर्मचारीका अधिकार, संगठनात्मक स्वतन्त्रता र प्रशासनिक शैलीलाई लिएर विवादहरू देखिए । आलोचकहरूले उहाँको नेतृत्वलाई अत्यधिक केन्द्रीकृत भएको आरोपसमेत लगाउँछन् । केही दस्तावेजले उहाँलाई राजनीतिक रूपमा तटस्थ, गैरदलीय र संस्थाको स्वायत्तता जोगाउन सफल नेतृत्वकर्ताका रूपमा पनि चित्रण गरेको देखिन्छ । शर्माको यात्रा विवादरहित थियो भन्ने होइन बरू ठूलो संस्था निर्माण गर्ने नेतृत्वले सामना गर्ने कठिन निर्णय, असहमति र आलोचनाको एउटा पाटो पनि उहाँको जीवनकथाको महत्त्वपूर्ण अंग हो ।
उपसंहार
सतासी वर्ष प्रवेश गरेको अवसरमा आयोजना गरिएको प्राडा.सुरेशराज शर्माको सम्मान समारोह एउटा व्यक्तिको उपलब्धिको सम्मानमात्र होइन, यो नेपालमा शिक्षा परिवर्तन सम्भव छ भन्ने विश्वासको सम्मान पनि हो । प्राविधिक शिक्षाको आधार निर्माणदेखि काठमाडौं विश्वविद्यालयको धुलिखेल यात्रा, कम्युटर इञ्जिनियरिङ शिक्षाको प्रारम्भदेखि राष्ट्रिय शिक्षा नीति र संस्थागत विकाससम्म उहाँको योगदानले नेपालको शिक्षा इतिहासमा एउटा निरन्तरताको धागो निर्माण गरेको छ । काठमाडौं विश्वविद्यालयदेखि विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाहरूले उहाँलाई पटक-पटक सम्मान गरेको देखिन्छ । तर, उहाँको सबैभन्दा ठूलो सम्मान सम्भवतः धुलिखेलमा सफलतापूर्वक सञ्चालनमा रहेको काठमाडौं विश्वविद्यालय आफैं हो । त्यसैले साउन ३० गतेको कार्यक्रम विगत सम्झिने औपचारिक अवसरमा मात्र सीमित नहोस् । यो नेपालको उच्च शिक्षाले दूरदृष्टि, स्वायत्तता, गुणस्तर, प्राविधिक दक्षता, सामाजिक उत्तरदायित्व र कर्तव्यनिष्ठ नेतृत्वबाट के सिक्न सकिन्छ भन्ने राष्ट्रिय संवादको प्रारम्भको थलो बनोस् । शिक्षामा गरिएको लगानीको प्रतिफल एउटा पुस्ताले मात्र होइन, धेरै पुस्ताले प्राप्त गर्छ । धुलिखेलमा रोपिएको एउटा विश्वविद्यालयको बिउ आज हजारौं विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता र समाजसँग जोडिएको विशाल शैक्षिक वृक्षमा परिणत भएको छ । त्यस वृक्षका प्रमुख शिल्पीमध्ये एक प्राडा.शर्माको योगदानलाई सम्झनुभनेको केवल इतिहास सम्झनु होइन, नेपालको उच्च शिक्षाको भविष्य कस्तो हुनुपर्छ भन्ने बाटो पनि खोज्नु हो । उहाँको योगदानलाई सतत् नमन ।
(लेखक शत्रुघनप्रसाद गुप्ता काठमाडौं विश्वविद्यालयका पूर्वविद्यार्थी र नेपाल पब्लिक क्याम्पस संघका अध्यक्ष हुनुहुन्छ ।)







यस्तो छ आजका लागि विदेशी
सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा