नमागिएको सल्लाह :
पौराणिक मान्यता अनुसार श्रावण महिलालाई पवित्र र आध्यात्मिक रसयुक्त महिना मानिन्छ । श्रावण भगवान् शिवको पवित्र र प्रिय महिना हो भन्ने मान्यता रहिआएको छ । राजा इन्द्रलाई दुर्वासा ऋषिले प्रदान गरेको माला आफूले नलगाई ऐरावत हात्तीलाई लगाइदिएको र सो हात्तीले मालालाई फ्याकेर कुल्चिएको कारण दुर्वासा ऋषिले आफ्नो अपमान भएको सम्धी देवराज इन्द्रलाई ऐश्वर्यहीन हुनुभनेर श्राप दिएको कारण देवताहरू कमजोर भए र असुरहरू शक्तिशाली बन्न पुगे । जसको कारण असुरहरूले स्वर्ग कब्जा गरे । देवताहरू ब्रह्माजी हुँदै विष्णुको शरणमा पुगे, विष्णुले यो संकटबाट बच्न असुरहरूसँग मित्रता गरी समुद्र मन्थन गर्न सल्लाह दिनुभयो । देवताहरूको उद्देश्य समुद्र मन्थन गरेर अमृत प्राप्त गर्नु र शक्तिशाली बन्नु थियो भने राक्षसहरू पनि अमृत र प्राप्त हुने धनदौलत आधा पाउने लोभका कारण सहमत भएका थिए ।
‘क्षीर सागर’ अर्थात दूधको सागर मन्थन गर्ने स्थल छनौट गरिएको थियो । मन्दार पर्वतलाई मदानी बनाइएको थियो भने वासुकी नागलाई मन्थन गर्ने डोरी (नेती) बनाइएको थियो । मन्दार पर्वत समुद्रमा डुब्न लागेपछि विष्णुले कछुवा रूप (कूर्म)रूप लिई पिठ्युमा राखेर डुबानबाट जोगाउनु भएको थियो । विष्णुले समुद्र मन्थन गर्दा अगाडि असुरहरू र पछाडि देवताहरू बस्ने सरसल्लाह मिलाउनुभएको थियो । वासुकी नागको मुखबाट निस्कने भयानक विष र रापले असुरहरू शिथिल बनाउँने मनसायले यस्तो निर्णय गरिएको थियो । समुद्र मन्थनबाट हलाहल विष, कामधेनु गाई, ऐरावत हात्ती, उच्चैश्रवा घोडा, माता लक्ष्मी, अमृतको कलश प्राप्त भएको थियो । आयुर्वेदका प्रणेता धन्वन्तरी अमृतको कलश लिएर प्रकट हुनु भएको थियो ।
दक्षप्रजापतिको यज्ञमा सतीदेवीले आफ्नो देह त्याग गरेपछि उनले हिमालय पर्वतको घरमा पुनर्जन्म लिइन् । पार्वतीले शिवजीलाई पुनःपतिका रूपमा पाउन साउन महिनाभरि निराहार कठोर व्रत बसेकी थिइन् । शिवजीले यसै महिना पार्वतीलाई पत्नीको रूपमा स्वीकार गर्नुभएको थियो । परम शक्तिको पुनर्मिलन भएको दिन साउने सोमबार थियो ।
समुद्र मन्थनबाट निस्किएको हलाहल विष यति विनाशकारी र शक्तिशाली थियो कि त्यसले क्षणभरमा सम्पूर्ण सृष्टि, ब्रह्माण्ड र जीवहरूलाई नष्ट गर्ने सामर्थ्य राख्थ्यो । यस्तो विषलाई शिवले आफ्नो हत्केलामा जम्मा गरेर राख्नुभयो । विष पेटमा गएको भए संसार नष्ट हुने अवस्था रहेकाले घाँटीमा राख्नुभयो । बिषको प्रभावले शिवको घाँटी नीलो भयो । त्यसैले उहाँ नीलकण्ठ नामले लोकमा प्रसिद्ध हुनुभयो । पौराणिक कथा अनुसार साउन महिनामा नै समुद्र मन्थन गरी सृष्टिको लयलाई बचाइएको थियो भने पार्वतीले शिवलाई प्राप्त गर्न कठोर तपस्या पनि यसै महिनामा गर्नुभएको थियो । साउन महिना पानी पर्ने चारैतिर हरियाली हुने, शान्त र शीतल महिना भएकाले शिवलाई यो महिना प्रिय थियो । साउन महिनामा पनि सोमवार शिवको पूजा गर्न विशेष वार हो ।
दक्षप्रजापतिको यज्ञमा सतिदेवीले आफ्नो देह त्याग गरेपछि उनले हिमालय पर्वतको घरमा पुनर्जन्म लिइन् । पार्वतीले शिवजीलाई पुनःपतिका रूपमा पाउन साउन महिनाभरि निराहार कठोर व्रत बसेकी थिइन् । शिवजीले यसै महिना पार्वतीलाई पत्नीको रूपमा स्वीकार गर्नुभएको थियो । परम शक्तिको पुनर्मिलन भएको दिन साउने सोमबार थियो । माथिका कारणले गर्दा साउन महिना शिवको प्रिय महिना हो भन्ने पौराणिक कथन रहेको छ । श्रावणको सोमवार शिवालय दर्शन गर्ने मेसो यसपालि मिल्दै आएको छ । श्री स्वामी समर्थ आध्यात्मिक केन्द्र, पाशुपत क्षेत्र र श्री पशुपति आरती भजन समूहसमेतको आयोजनामा केही शिवालयहरूको दर्शनको व्यवस्थापन गरिएको थियो ।
पहिलो समूहमा करिब १०० जनाको सहभागिता रहेको थियो भने श्रीस्वामी समर्थ आध्यात्मिक केन्द्रको आयोजनामा भएको भ्रमणमा ३१ जनाको उपस्थिति रहेको थियो । यो भ्रमण पहिलेका भ्रमणभन्दा बढी व्यवस्थित र सुविधाजनक अनुभव गरिएको थियो । दुप्चेश्वर धामको विषयमा पहिलेको अंकमा चर्चा गरिसकिएको छ । यस आलेखमा माथि उल्लेख गरिएका दुई भ्रमणमा दर्शन गरिएका शिवालयको बारेमा चर्चा गरिनेछ ।
डोलेश्वर महादेव मन्दिर
यो मन्दिर भक्तपुर जिल्ला साविक सिपाडोल गाउँ विकास समिति र हाल सूर्यविनायक नगरपालिका वडा नं ८ मा अवस्थित छ । अरनिको राजमार्गको जगाती स्टेसनबाट करिब ४ किमी दक्षिणमा पर्दछ । भारतको उत्तराखण्डमा रहेको केदारनाथको शिरको रूपमा यसलाई पूजा गरिन्छ । पाण्डवहरूले गुप्तकाशी र केदारनाथमा दर्शन गरेपछि डोलेश्वरमा शिवको शिर प्रकट भएको पौराणिक कथन रहेको छ । यहाँ शिवरात्रि र साउने सोमवार भव्य मेला लाग्ने गरेको छ । यहाँ पुग्न सूर्य विनायकबाट घ्याम्पेडाँडाको रमणीयता हेर्दै र यस क्षेत्रका पर्यटकीय गतिविधि नियाल्दै आशापुरेश्वर जाने बाटोमा जोडिएर उत्तरतिर ओरालो लागेर आउन सकिन्छ । यो बाटो केही लामो भए तापनि रमणीय रहेको छ ।
छोटो र चलन चल्तीको बाटो जगातीबाट दक्षिण लाग्ने बाटो हो । यो बाटो हुँदै सवारीसाधनबाट १५/२० मिनेटमा पुग्न सकिन्छ । अहिले पार्किङको व्यवस्थापन राम्रो भए तापनि साउने सोमबार र शिवरात्रिको समयमा ट्राफिक व्यवस्थापन लगभग अस्तव्यस्त हुनेगरेको छ । गएको सोमबार हाम्रो समूह डोलेश्वर धाम पुग्दा लगभग साँझ परिसकेको थियो । लड्केश्वरबाट फर्केको कारण आध्यात्मिक पर्यटकहरूको अनुरोधमा त्यहाँ लगिएको थियो । फर्कने क्रममा सवारीसाधनले बाटो भुलेर विस्मय विस्मृत रोमान्चकता थपिएको थियो । चालकले सिधा बाटो नलगेर कसैको अनुरोधमा अर्को शाखा बाटोतिर गाडी लगेको कारण हामी केही समयपछि डोलेश्वर मन्दिरभन्दा माथिको भागमा पुगेछौं । ओरालो बाटो ओर्लनुपर्ने सवारीसाधन उकालो उक्लिदासम्म थाहा नपाएको कारण हामी यात्री पनि अचम्मित भयौं । अन्तिम सोमवार भएको कारण अस्तव्यस्त ट्राफिकमा फसियो । सबै भक्तहरूले शिवको कृपा यस्तै रहेछ भनेर चित्त बुझाए ।
आशापुरेश्वर/आशापुरी मन्दिर
सन्तान प्राप्ति र अन्य किसिमका सुख प्राप्तिका लागि यो मन्दिर प्रसिद्ध छ । शिव पुराणमा वर्णित ६४ लिंगमध्येको आशापुरेश्वर धाम भक्तपुर र काभ्रेको सीमानामा रहेको छ । डोलेश्वर धामबाट ६ किलो मिटर र साँगा महादेवबाट ५ किमी दूरीमा रहेको यो मन्दिर नैचालखोला, काक्रेबारी खोला, कुचाडोलबाट आउँने खोलाको संगममा रहेको छ । परापूर्वकालमा सुवर्ण नाम गरेका ऋषिले हिमालय पर्वतमा गई तपस्या गर्दा महादेव प्रसन्न भई के इच्छा छ भनी सोधो ।
यसरी सोद्धा पापमोचन होस् भनेर वर मागेको तर शिवले यति भक्तिले पुग्दैन म तिमीलाई मयलको लौरौ दिन्छु, तिमी रात्रिवास बस्दै जाँदा लौरो गाडेर विश्राम गर्नु जहाँ गाड्दा मुना पलाउँछ त्यसपछि तिम्रो इच्छा पूरा हुन्छ भनेको र आशापुरेश्वर क्षेत्रमा पुग्दा लौरो गाडेको स्थानमा मुना पलाएको पाइएको थियो । त्यो स्थान खोतली हेर्दा शिवलिंग प्रकट भएको सोही शिवलिंग नै आशापुरेश्वर धाम भएको भन्ने पौराणिक मान्यता र लोकोक्ति रहेको छ ।
धनेश्वर महादेव मन्दिर
काभ्रे जिल्लाको बनेपा र पनौती जाने बाटोमा पर्ने धनेश्वर मन्दिरलाई आकर्षक पर्यटकीयस्थलको रूपमा विकास गरिएको छ । हिमवत् खण्डमा उल्लेख भएअनुसार शिवदास नाम गरेका एकजना गरिब व्यक्ति थिए । गरिबीको कारण उनलाई आफ्नै धनी नातागोता इष्टमित्रले हेला गर्ने गरेका थिए । त्यस पीडाको कारण उनी जोगी भए । रितु नाम गरेका सन्तको सल्लाहमा उनी धनेश्वरको भक्तिमा तल्लीन भए । उनको भक्ति र समर्पणबाट प्रभावित भएर धनेश्वर भगवानले प्रशस्त सम्पत्ति दिएर धनी बनाउनुभयो । त्यसैको कृतज्ञता स्वरूप शिवदासले धनेश्वर मन्दिरको स्थापना गरेका हुन् भन्ने कथन रहेको छ । यहाँ नेपालका अन्य शिव मन्दिरमा रहने पञ्चमुखी शिव मन्दिर रहेको छ । यस्का साथै भैरव, नारायण, लक्ष्मीनारायण, हनुमान, महाँकाल, उमामहेश्वर, नन्दी आदिका मूर्ति पनि रहेका छन् । यहाँ धान्यपूर्णिमा, शिवरात्रि, बालाचतुर्दशीमा मेला लाग्ने गर्दछ ।
बनेपाबाट केही मिनेटको सवारीसाधनको यात्रामा पनौती जाने सडकबाट धनेश्वर मन्दिर प्रवेशद्वार देख्न सकिन्छ । केही मिनेटको उकालोमा पनि सवारीसाधन पुग्ने व्यवस्था भएको कारण अशक्त र वृद्धहरूलाई पनि भ्रमण गर्न सजिलो भएको छ । विपरीत दिशाबाट आएको सवारीसाधनको अल्लारे चालकको असावधानीको कारण दुई ठूला बस एकआपसमा छोएको कारण केही समय विलम्ब भए तापनि चालकदलले आपसी सल्लाह गरी अकल लगाएर सवारीसाधनलाई जोडिनबाट जोगाएका थिए । यो पनि प्रभुकै खटन होला भन्दै भ्रमणदल अगाडि बढ्यो ।
डोलेश्वर-आशापुरेश्वर-साँगा महादेव-धनेश्वर-लड्केश्वरलगायत शिवालयलाई समेटेर शिवसर्किटको रूपमा विकास गर्नसके उपत्यका आसपासको अर्थतन्त्रमा टेवा पुग्ने सम्भावना रहेको छ । धुलिखेलमा रहेको गौखुरेश्वर महादेव, दुम्जाक्षेत्रको कुशेश्वर महादेव मन्दिरलगायत भक्तपुर र काभ्रे जिल्लाका शिवालयलाई जोडेर दुईतीन दिनको शिव सर्किट पर्यटन प्याकेजका रूपमा विकसित गर्नसके आन्तरिक पर्यटनमा पनि टेवा पुग्ने निश्चित छ ।
लड्केश्वर महादेव मन्दिर
लड्केश्वर महादेव मन्दिर पुग्दा विसं २०६०/०६२ तिर यो पंक्तिकार काभ्रे पलाञ्चोक जिल्लाको प्रमुख जिल्ला अधिकारी भएको समयमा एकजना मानिस विश्वकै सवैभन्दा अग्लो शिवलिंग स्थापना गर्ने मनसायले सहयोगका लागि जिल्ला प्रशासन कार्यालय आएको र कुराकानी भएको सन्दर्भ सम्झना आयो । मैले पीठाधीश मुकुन्द शर्मासँग उहाँ को हुनुहुन्थ्यो भनेर सोद्धा थाहा भयो-उहाँको नाम लोकनाथ कश्यप रहेछ । उहाँले बनाएर ल्याएको त्रिशूल अहिले पनि बाटोमा अलपत्र अवस्थामा रहेछ । उहाँ यस कार्यमा असफल भएको पीडाले हो वा अरू कारणले हो स्वेच्छाले गंगाजीमा आफूलाई समर्पित गर्नुभयो भन्ने सुन्दा नमज्जा लाग्यो ।
मुलुक द्वन्द्वमा फसेको त्यो समय, त्यसमा पनि काभ्रे माओवादी प्रभावित जिल्ला, अझ खोपासी, बल्थलीक्षेत्र बढी प्रभावित । त्यस समयमा त्यस्तो क्षेत्रमा यत्रो ठूलो काम गर्नु त्यो पनि जनसहभागिताबाट, काम सजिलो थिएन । उहाँको साहस प्रशंसनीय भए तापनि त्यो दुस्साहस बन्न पुग्यो । उहाँले आफ्नो जीवनलाई गंगाजीमा अर्पण गर्नुभयो । जे होस् ॐकार टिलिभिजनका सञ्चालक र अहिलेका पीठाधीश मुकुन्द शर्माले यो काम सम्पन्न गर्नुभएको छ । यस धामलाई सबै क्षेत्रमा परिचित गराउनुभएको छ । उहाँ यस समाजको असल नागरिक भएको कारण धन्यवादका पात्र पनि हुनुहुन्छ । आजको दिनमा रोशी खोला र लड्कु खोलाको संगम क्षेत्रमा तामा र फलाम मिश्रित १०८ फिटको त्रिशूल स्थापित भएको छ ।
लड्केश्वर काठमाडौंबाट नजिक तीर्थस्थलको रूपमा परिचित भएको छ । काठमाडौंबाट करिब ४२ किमीको यात्रा भए तापनि बाटोको अवस्थाका कारण डेढ/दुई धण्टाको यात्रामा पुग्न सकिन्छ । बर्खा याममाभन्दा हिउँद महिनामा यहाँको यात्रा केही सहज हुनसक्छ । पनौती नगरपालिका वडा नं ११ बल्थली क्षेत्रको लड्केश्वरमा स्थापित विश्वकै अग्लो त्रिशूल २,८०० किलो तामा र फलामले बनेको छ । एउटा कोठाको आकारको भएको कारण त्रिशूलको भित्री भागमा गएर पूजाअर्चना गर्न सकिन्छ । रोशीखेला र लड्कु खोलाको संगममा स्थापित शिवालयलाई महाकालेश्वर कालरुद्र पनि भनिन्छ । महादेवले हलाहल विष सेवन गरेपछि औडाहा भएर निहुरेर सुस्ताएको स्थानको रूपमा पनि लड्केश्वर धाम परिचित रहेको छ ।
विषको पीडा सहन नसकेर लड्केश्वरबाट चिसो ठाउँको खोजीमा भौतारिँदै जाँदा गोसाइकुण्डमा त्रिशूल गाडेको कारण गोसाइकुण्ड बनेको पौराणिक कथन रहेको छ । लड्कु खोलाको किनारमा रहेको चुनढुंगाको गुफाभित्र महादेव उत्पत्ति भएकाले लड्केश्वर नामकरण भएको भनाइ रहेको छ । जुन भनाइ सत्यको धेरै नजिक रहेको छ । डोलेश्वर-आशापुरेश्वर-साँगा महादेव-धनेश्वर-लड्केश्वरलगायतका शिवालयलाई समेटेर शिव सर्किटको रूपमा विकास गर्नसके उपत्यका आसपासको अर्थतन्त्रमा टेवा पुग्ने सम्भावना रहेको छ । धुलिखेलमा रहेको गौखुरेश्वर महादेव, दुम्जाक्षेत्रको कुशेश्वर महादेवमन्दिर लगायत भक्तपुर र काभ्रे जिल्लाका शिवालयलाई जोडेर दुईतीन दिनको शिव सर्किट पर्यटन प्याकेजका रूपमा विकसित गर्नसके आन्तरिक पर्यटनमा पनि टेवा पुग्ने निश्चित छ, यसमा प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले पहलकदमी लिन उपयुक्त देखिन्छ ।







यस्तो छ आजका लागि विदेशी
सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा