भक्तपुर । अंगको अभावमा प्रत्यारोपणको प्रतीक्षामा रहेका बिरामीको संख्या बढिरहेका बेला भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले अंगदानसम्बन्धी जनचेतना विस्तारलाई प्राथमिकता दिएको छ।
विश्व अंगदान दिवसका अवसरमा केन्द्रले बिहीबार आयोजना गरेको कार्यक्रममा भक्तपुरबाट निर्वाचित तीन प्रतिनिधिसभा सदस्यसहित नौ जनाले मृत्युपछि आफ्नो अंगदान गर्ने मञ्जुरी दिनुभएको छ। कार्यक्रममा सांसदहरू रुकेश रञ्जित, राजीव खत्री र गंगा लक्ष्मी अवाल, पूर्वसंविधानसभा सदस्य विन्दा पाण्डेसहित विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता थियो।
केन्द्रका अनुसार हालसम्म २ हजार ७ सय ९९ जनाले मस्तिष्क मृत्यु भएपछि अंगदान गर्ने मञ्जुरी दिइसक्नुभएको छ। तर अंगदान गर्ने इच्छा व्यक्त गर्नेको संख्या बढे पनि वास्तविक अंगदान र प्रत्यारोपणको संख्या भने अपेक्षाअनुसार बढ्न सकेको छैन।
चिकित्सकहरूका अनुसार मृत्युपछि हुने अंगदानलाई प्रभावकारी बनाउन जनचेतनासँगै अस्पतालमा मस्तिष्क मृत्यु पहिचान, परिवारसँग परामर्श, अंग संकलन, संरक्षण, मिलान र प्रत्यारोपणसम्मको संयन्त्र बलियो बनाउन आवश्यक छ।
केन्द्रकी कार्यकारी निर्देशक डा. कल्पना कुमारी श्रेष्ठले नेपालजस्तो कम आय भएको मुलुकमा जीवित व्यक्तिबाट अंग लिएर प्रत्यारोपण गर्दा उपचार खर्च बढ्ने बताउनुभयो। उहाँका अनुसार मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त अंग प्रयोग गर्न सके उपचार खर्च घट्नुका साथै स्वस्थ व्यक्तिबाट अंग निकाल्नुपर्ने अवस्था नआउने भएकाले दाताको स्वास्थ्यमा पर्न सक्ने जोखिमसमेत कम हुन्छ।
नेपालमा मिर्गौला प्रत्यारोपणको ठूलो हिस्सा जीवित दाताबाट हुँदै आए पनि सबै बिरामीले उपयुक्त जीवित दाता पाउन नसक्ने भएकाले मृत्युपछि हुने अंगदानलाई व्यवस्थित गर्नु दीर्घकालीन समाधानको महत्वपूर्ण आधार रहेको चिकित्सकहरूको भनाइ छ।
मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंग प्राप्त गर्न समय निकै महत्वपूर्ण हुने भएकाले सम्भावित दाता पहिचानदेखि मस्तिष्क मृत्यु पुष्टि, परिवारको सहमति, अंग निकाल्ने, संरक्षण, मिलान र प्रत्यारोपणसम्मको प्रक्रिया निश्चित समयभित्र पूरा गर्नुपर्ने हुन्छ। त्यसका लागि अस्पतालमा दक्ष जनशक्ति र अंगदान संयोजकको व्यवस्था तथा परिवारलाई संवेदनशील र वैज्ञानिक ढंगले परामर्श दिने प्रणाली आवश्यक रहेको केन्द्रले जनाएको छ।
केन्द्रका प्रत्यारोपण सर्जन डा. दिपेश श्रेष्ठले विश्वभर मिर्गौला रोगको समस्या बढिरहेको अवस्थामा रोगको पहिचान, उपचार र रोकथामबारे नागरिकलाई सचेत गराउनुपर्ने बताउनुभयो। नेपालमा मिर्गौला फेल भएर ठूलो संख्यामा मानिस प्रभावित भइरहेका र आवश्यक अंग समयमा उपलब्ध हुन नसक्दा कतिपयले अकालमै ज्यान गुमाउनुपरेको उहाँले बताउनुभयो।
उहाँले प्रत्यारोपण केन्द्रको भौतिक पूर्वाधार विकाससँगै कर्मचारीको वृत्ति विकासमा समेत सरकारले ध्यान दिनुपर्ने माग गर्नुभयो। डायलाइसिसमा रहेका सबै बिरामी प्रत्यारोपणका लागि उपयुक्त नहुने र उपयुक्त बिरामीले समेत समयमा अंग पाउन नसक्ने अवस्था रहेकाले प्रत्यारोपण सेवा विस्तारसँगै अंगदानको दर बढाउनुपर्ने उहाँको भनाइ छ।
कार्यकारी निर्देशक डा. श्रेष्ठले केन्द्रको सेवा विस्तारका लागि आवश्यक जग्गा तथा भवनको व्यवस्था गर्न पनि सम्बन्धित पक्षसँग आग्रह गर्नुभयो। अत्याधुनिक शल्यक्रिया कक्ष, आईसीयू, प्रयोगशाला, अंग संरक्षण सुविधा तथा दक्ष चिकित्सक र नर्सिङ जनशक्ति आवश्यक पर्ने भएकाले बिरामीको चापअनुसार केन्द्रको क्षमता विस्तार गर्नुपर्ने उहाँले बताउनुभयो।
कार्यक्रममा सांसदहरू राजीव खत्री, रुकेश रञ्जित र गंगा लक्ष्मी अवालले अंगदानसम्बन्धी भ्रम हटाउँदै वैज्ञानिक चेतना विस्तार गर्न सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो। उहाँहरूले अंगदान अभियानलाई सामाजिक अभियानका रूपमा अघि बढाउँदै प्रत्यारोपण केन्द्रको सेवा विस्तार र आवश्यक भवन व्यवस्थापनमा समेत सहयोग गर्ने बताउनुभयो।
कार्यक्रममा मस्तिष्क मृत्यु भएपछि अंगदान गर्ने परिवारका सदस्य तथा अंगदान प्रक्रियामा सहयोग गर्ने अस्पताललाई विशेष सम्मान गरिएको थियो।
अंगदान अभियानलाई प्रभावकारी बनाउन जनचेतनामात्र पर्याप्त नहुने भन्दै विज्ञहरूले सम्भावित दाता पहिचान, प्रशिक्षित जनशक्ति, परिवारसँग परामर्श, अंग संरक्षण र तत्काल प्रत्यारोपण गर्न सक्ने संस्थागत क्षमता एकसाथ विकास गर्नुपर्नेमा जोड दिएका छन्।







पर्यटन नीति एकातिर, बजेटको बाटो
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै,
इलाममा अदुवाको आकर्षक मूल्य, खेती
कान्ति राजमार्ग स्तरोन्नतिको भौतिक प्रगति
तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार
नाइमा मोबिलिटी एक्स्पोमा ५५ ब्रान्ड