काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि गम्भीर आरोप लागेपछि त्यसको छानबिन हुनुपर्ने बताएका छन्।
बुधबार सार्वजनिक लेखा समितिको बैठकमा प्रहरी प्रमुख कार्कीमाथि भ्रष्टाचारसम्बन्धी गम्भीर आरोप लागेकाले तत्काल निलम्बन गरी छानबिन गर्नुपर्ने धारणा राखेपछि आईजीपी कार्कीले आफूलाई ‘पाषाणयुगीन सोच भएका शासक’ भनेको सुनारको भनाइ छ।
कार्कीले आफूविरुद्ध बिना प्रमाण आरोप लगाइएको भन्दै आरोप प्रमाणित गर्न चुनौती दिनुभएको थियो। त्यसपछि सांसद सुनारले लेखा समितिको बैठक बहिष्कार गरेर बाहिरिनुभएको थियो। बैठकबाट बाहिरिएपछि उहाँको कदमप्रति अन्य दलका सांसदसँगै रास्वपाका सांसद गोविन्द पन्थीलगायतले समेत आलोचना गर्नुभएको थियो।
आलोचनापछि सांसद सुनारले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भ्रष्टाचार र अनियमितताका विषयमा आफूले कडा प्रश्न उठाइरहने बताउनुभएको छ।
उहाँले लेख्नुभएको छ, ‘१ हजार अर्बभन्दा धेरै राज्यमा बेरुजु छ ! भ्रष्टाचार, घोटाला, अनियमितता, काण्ड त कति–कति ! राज्यको आर्थिक हिसाब–किताबको छलफल गर्ने सार्वजनिक लेखा समितिमा हामी छौँ।’
जनताको हितका लागि आफूले ‘तितो’ बोल्नसमेत पछि नहट्ने उल्लेख गर्दै सुनारले भन्नुभएको छ, ‘हामीले मुख मिठ्याउँदा जनताको मुख तितो हुन्छ ! हामीले तितो बोल्दा भोका–नाङ्गा पिँधका जनताको मुख मिठो हुने दिन आउँछ भने, धेरै तितो बोल्न बाँकी छ !’
भ्रष्टाचार र अनियमितताविरुद्ध आवाज उठाउन जोखिम मोल्न तयार रहेको उल्लेख गर्दै उहाँले ‘बिरालोको घाँटीमा घण्टी बाँध्ने जोखिम कसैले न कसैले लिनैपर्छ’ भन्नुभएको छ।
बुधबारको घटनालाई लिएर उहाँले बर्दी र फुली देखाएर धम्क्याउँदैमा विषय टुंगिन नसक्ने दाबी गर्नुभएको छ।
सांसद सुनारले आफू प्रहरी सिपाही तथा दुःखमा साथ दिने म्यादी प्रहरीको पक्षमा रहेको स्पष्ट पार्दै गरिब परिवारका छोराछोरीले सिपाही, हवल्दार तथा म्यादी प्रहरीका रूपमा काम गरिरहेको उल्लेख गर्नुभएको छ।
उहाँले प्रहरीका जुत्ता, मोजा, पोसाक तथा रासन खरिदसँग सम्बन्धित विषयमा ठूलो रकमको गम्भीर प्रश्न उठेको दाबी गर्दै छानबिन हुनुपर्ने बताउनुभएको छ।
उहाँले आईजीपी कार्कीप्रति लक्षित गर्दै लेख्नुभएको छ, ‘मुद्दा लागेको व्यक्तिले बयान दिने हो–प्रवचन दिने हैन ! जुत्ता लगाउने हो–खाने हैन !!’







पर्यटन नीति एकातिर, बजेटको बाटो
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै,
इलाममा अदुवाको आकर्षक मूल्य, खेती
कान्ति राजमार्ग स्तरोन्नतिको भौतिक प्रगति
तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार
नाइमा मोबिलिटी एक्स्पोमा ५५ ब्रान्ड