काठमाडौं । वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा दुसादको मृत्युको घटनाप्रति परिवार तथा अधिकारकर्मीहरूले गम्भीर आपत्ति जनाउँदै सरकारसमक्ष १२ बुँदे माग राखेका छन् ।
राष्ट्रिय मानव अधिकार आयोग तथा सम्बन्धित सरकारी निकायलाई बुझाइएको मागपत्रमा हिरालालको मृत्यु हुनुअघि सिर्जित परिस्थितिबारे निष्पक्ष छानबिन गर्न माग गरिएको छ । ४७ वर्षीय हिरालाल केही वर्षदेखि बस्दै आएको घरटहरा भत्काइएपछि वैकल्पिक व्यवस्थाबिना विस्थापित भएका थिए । उनी कहिले कीर्तिपुर र कहिले भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बस्दै आएका थिए ।
परिवार तथा अधिकारकर्मीहरूले उनको मृत्यु राज्यको विस्थापन नीति, प्रशासनिक व्यवहार र भूमिहीन तथा अव्यवस्थित बसोबासीप्रतिको दृष्टिकोणसँग जोडिएको भन्दै राष्ट्रिय मानव अधिकार आयोग वा स्वतन्त्र न्यायिक छानबिन समितिमार्फत अनुसन्धान गर्न माग गरेका छन्। जिम्मेवार देखिएका पदाधिकारी वा व्यक्तिमाथि कानुनअनुसार कारबाही गर्नसमेत उनीहरूको माग छ ।
मृतकको परिवारलाई उचित आर्थिक क्षतिपूर्ति, स्थायी तथा कानुनी स्वामित्वसहितको भूमि र आवास, बालबालिकालाई निःशुल्क शिक्षा, परिवारका एक सदस्यलाई रोजगारी तथा आश्रित सदस्यलाई स्वास्थ्य र सामाजिक सुरक्षाको व्यवस्था गर्न माग गरिएको छ । परिवारलाई अब कुनै अर्को होल्डिङ सेन्टरमा नसारी स्थायी समाधान दिनुपर्ने मागसमेत गरिएको छ ।
त्यस्तै, बिना पूर्वसूचना र वैकल्पिक व्यवस्थाबिना घरटहरा भत्काउने तथा विस्थापितलाई होल्डिङ सेन्टरमा सार्ने कार्य रोक्न, भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको निष्पक्ष लगत संकलन गरी कानुनी प्रक्रियाबाट स्थायी समाधान खोज्न माग गरिएको छ ।
परिवारकाअनुसार हिरालालको शव उठाउने विषयमा भक्तपुरका प्रमुख जिल्ला अधिकारीले राति मन्त्री प्रतिभा रावलसँग फोनमा कुराकानी गराएका थिए । परिवारको दाबीअनुसार मन्त्री रावलले आफूले जग्गा उपलब्ध गराउन पहल गरिरहेको बताउँदै शव उठाउन आग्रह गर्नुभएको थियो । सोही क्रममा प्रमुख जिल्ला अधिकारीले परिवारका एक सदस्यलाई रोजगारीको जिम्मा लिने आश्वासन दिएको परिवारको भनाइ छ । त्यसपछि शव शिक्षण अस्पतालमा लगेर राखिएको बताइएको छ ।
मृतक परिवार तथा अधिकारकर्मीहरूले घटनालाई राहतमा मात्र सीमित नगरी विस्थापित परिवारको दीर्घकालीन आवास, रोजगारी र सामाजिक सुरक्षाको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन् ।







रास्वपामा चिसिँदो सम्बन्ध, सल्किँदो आगो
राशिफल २२ साउन, वृष :
‘जय नेपाल पार्टी’को उदय :
नयाँ तलबमान सार्वजनिक
कांग्रेस विवाद निरूपणको प्रश्न फेरि
सेलिब्रेटी सांसदहरूलाई धक्का