जाजरकोट । अविरल वर्षापछि जाजरकोटको तासुघाट खोलामा आएको बाढीले सडक, झोलुङ्गे पुल तथा घरटहरामा क्षति पुर्याएको छ ।
बाढीका कारण भेरी करिडोरअन्तर्गत जाजरकोट-डोल्पा सडकखण्ड अवरुद्ध भएको छ । नलगाड नगरपालिका-१० रोलीमा झोलुङ्गे पुल बग्नुका साथै पाँच घर तथा टहरामा क्षति पुगेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय रग्दाकाअनुसार तासुघाट खोलामा पानीको बहाव बढेपछि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि तत्काल वैकल्पिक बाटोसमेत नरहेको प्रहरीले जनाएको छ । झोलुङ्गे पुल बगेका कारण प्रारम्भिक जानकारीपछि घटनास्थलतर्फ खटिएको प्रहरी टोलीसमेत तत्काल पुग्न सकेको थिएन ।
प्रहरीकाअनुसार नलगाड-१० रोलीका पृथ्वीबहादुर विकको दुईतले घर बगाएको छ । त्यस्तै खैते विकको दुईतले, नरबहादुर विकको तीनतले र हस्त विकको दुईतले घरमा क्षति पुगेको छ । उनीहरूका परिवारका ३७ जना सदस्यलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।
यसैगरी, वीरबहादुर विकको जग्गामा सुन्तली विकले सञ्चालन गरेको टिनको टहरा तथा नास्ता पसलसमेत बाढीले बगाएको छ ।
घटनाको जानकारी बिहान साढे ६ बजे पाएपछि इलाका प्रहरी कार्यालय रग्दाबाट प्रहरी सहायक निरीक्षक दिनेश सुनारको कमाण्डमा चार जनाको टोली घटनास्थलतर्फ खटाइएको थियो । पुल बगेका कारण टोली तत्काल घटनास्थल पुग्न नसकेको प्रहरीले जनाएको छ ।
हाल घटनास्थलमा थप प्रहरी तथा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । बाढीबाट भएको क्षतिको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।







प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :
फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै