काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगले समाजशास्त्र विषयको प्राध्यापक पदको अन्तर्वार्ता सम्पन्न भएको लामो समय बितिसक्दा पनि नतिजा सार्वजनिक नगरेको भन्दै आयोगको कार्यशैली र निष्पक्षतामाथि प्रश्न उठाइएको छ ।
त्रिवि सेवा आयोगको कार्यालयले २०८३ असार २४ गते प्रकाशित गरेको अन्तर्वार्ता सञ्चालनसम्बन्धी सूचनाअनुसार मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत विज्ञापन नम्बर ५७०/०८१-८२ मा समाजशास्त्र विषयको प्राध्यापक पदका लागि आन्तरिक प्रतिस्पर्धा भएको थियो । दुई पदका लागि चिरञ्जीवी आचार्य, मृगेन्द्रबहादुर कार्की, पासाङ शेर्पा, रामबहादुर केसी, शुक्रराज अधिकारी र टीकाराम गौतम गरी छ जना उम्मेदवार प्रतिस्पर्धामा सहभागी भएका थिए ।
उक्त पदको अन्तर्वार्ता साउन १९ गते सम्पन्न भए पनि हालसम्म नतिजा सार्वजनिक नभएको दाबी गरिएको छ । यसबीच आयोगले समाजशास्त्रभन्दा अगाडि तथा पछाडि सञ्चालन गरेका विभिन्न विषयका अन्तर्वार्ताको नतिजा भने सार्वजनिक गरिसकेको बताइएको छ ।
अन्तर्वार्ता सम्पन्न भएपछि सामान्यतया छिट्टै नतिजा सार्वजनिक गर्ने प्रचलन रहेको दाबी गर्दै सरोकारवालाले समाजशास्त्रको नतिजा मात्रै लामो समयसम्म रोकिँदा आयोगको तटस्थता र व्यावसायिक निष्पक्षतामाथि प्रश्न उठेको बताएका छन् ।
अन्तर्वार्ता सम्पन्न भइसकेपछि नतिजा सार्वजनिक गर्न ढिलाइ गर्नुको कारणसमेत आयोगले स्पष्ट पार्नुपर्ने उनीहरूको माग छ । नतिजाप्रति चित्त नबुझे सम्बन्धित पक्षले कानुनी प्रक्रियामार्फत पुनरावेदन गर्न सक्ने व्यवस्था हुँदाहुँदै नतिजा नै रोकिराख्नु उचित नहुने तर्क गरिएको छ ।
सरोकारवालाले कुनै बाह्य दबाबका कारण नतिजा रोकिएको भए त्यसले सेवा आयोगको संस्थागत स्वायत्तता र निष्पक्षतामाथि गम्भीर प्रश्न उठाउने बताएका छन् । उनीहरूकाअनुसार यस्ता घटनाले आगामी दिनमा पनि विभिन्न समूहबाट दबाब सिर्जना हुने र आयोगको नियमित काम प्रभावित हुन सक्ने जोखिम रहन्छ ।
यसैबीच, त्रिभुवन विश्वविद्यालयमा विद्यार्थी समूह तथा विभिन्न स्वार्थ समूहले नियमित प्रशासनिक काममा अवरोध सिर्जना गर्ने गरेको आरोपसमेत लगाइएको छ । त्यस्ता समूहले आफ्नो स्वार्थअनुसार विभिन्न पक्षमा दबाब सिर्जना गर्ने गरेको दाबी गरिएको छ ।
तर, समाजशास्त्र विषयको अन्तर्वार्ताको नतिजा किन रोकिएको हो भन्ने विषयमा त्रिवि सेवा आयोगको आधिकारिक धारणा भने सार्वजनिक भएको छैन । नतिजा प्रकाशनमा भएको ढिलाइको कारण र आगामी प्रक्रिया आयोगले स्पष्ट पार्नुपर्ने देखिन्छ ।
अन्तर्वार्ताको नतिजा सार्वजनिक हुन ढिलाइ भइरहँदा प्रतिस्पर्धामा सहभागी उम्मेदवारसमेत अन्योलमा परेका छन् । आयोगले निष्पक्षता र पारदर्शिता कायम गर्दै नतिजा सार्वजनिक गर्ने वा ढिलाइको स्पष्ट कारण जानकारी गराउने अपेक्षा गरिएको छ ।







नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया
दियालो बङ्गलाबाट २४ लाख राजश्व
फेरिँदै लेखनाथ सडकखण्डको मुहार (तस्बिरहरू)
मकवानपुरमा न्यायाधीश सवार स्कार्पियो दुर्घटना,
ट्रम्प-किम सम्पर्क पुन: स्थापित भएको
बलात्कार आरोपमा डेन्टल सञ्चालक पक्राउ