काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलामा पूर्वसभापति शेरबहादुर देउवा सहभागी हुनुभएको छ। उहाँ बिहीबार मात्रै लामो समयपछि नेपाल फर्किनुभएको थियो।
जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा परी घाइते भएपछि पूर्वसभापति देउवा गत १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर जानुभएको थियो। त्यसपछि थप उपचारका लागि ७ चैत २०८२ मा सिंगापुरबाट हङकङ पुग्नुभएको थियो।
हङकङमा उपचारपछि बिहीबार काठमाडौं फर्किनुभएका देउवा शुक्रबार संस्थापनइतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलामा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको हो।
राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको अध्यक्षतामा भेला सुरु भएको छ। भेलामा कांग्रेसका संस्थापनइतर पक्षका शीर्ष नेताहरूको सहभागिता रहेको छ।
कार्यक्रममा पूर्वउपसभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, एनपी साउँद तथा डा. प्रकाशशरण महतलगायत नेताहरू उपस्थित हुनुहुन्छ।
त्यस्तै, ईश्वरी न्यौपाने, अम्बिका बस्नेत, सुजाता परियार, सीता देवकोटा, सीता गुरुङलगायत नेताहरू पनि भेलामा सहभागी हुनुहुन्छ।
भेलामा कांग्रेसको १४औँ महाधिवेशनमा तत्कालीन संस्थापन पक्षबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई मञ्चमै आसन ग्रहण गराइएको छ। संस्थापनइतर पक्षको राष्ट्रिय भेलामा पूर्वसभापति देउवा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएपछि कार्यक्रमलाई कांग्रेसभित्रको पछिल्लो विवाद र एकताको प्रयासका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ।







नयाँ तलबमान सार्वजनिक
कांग्रेस विवाद निरूपणको प्रश्न फेरि
सेलिब्रेटी सांसदहरूलाई धक्का
शरणार्थीले निम्त्याउने समस्या
मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट
आजका लागि तोकियो विदेशी मुद्राको