काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीको आन्तरिक एकता सुदृढ गर्नु आफ्नो प्रमुख दायित्व भएको बताउनुभएको छ। कांग्रेस एकीकृत भए कसैले पनि पराजित गर्न नसक्ने उहाँको दाबी छ।
शुक्रबारदेखि काठमाडौंमा सुरु भएको कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै डा. कोइरालाले पार्टीभित्र एकता र उत्साह कायम राख्नुपर्नेमा जोड दिनुभएको हो।
सम्बोधनका क्रममा उहाँले कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँगका पुराना तथा ऐतिहासिक प्रसङ्गसमेत स्मरण गर्नुभयो। उहाँले बीपी कोइरालाले देउवालाई ‘पश्चिमको राजकुमार’ भन्ने गरेको उल्लेख गर्दै बनारसमा रहँदाका स्मृतिहरू सुनाउनुभयो।
बीपीको निर्देशनमा आफूले देउवालाई बनारस घुमाएको र त्यस क्रममा हेरिएका चलचित्रबारे देउवाले गरेको सूक्ष्म तथा हुबहु विश्लेषणबाट आफू प्रभावित भएको डा. कोइरालाले बताउनुभयो।
कांग्रेसको ऐतिहासिक कालखण्डको चर्चा गर्दै उहाँले लोकतन्त्रको आगमनपछि तत्कालीन नेता गिरिजाप्रसाद कोइरालाको आग्रहमा लन्डनबाट फर्किएलगत्तै देउवा प्रधानमन्त्री बन्नुभएको स्मरण गर्नुभयो।
‘उहाँ अत्यन्त भाग्यमानी र प्रभावशाली नेता हुनुहुन्छ। शेरबहादुरजी नै हाम्रो नेता र सभापति हुनुहुन्छ, उहाँकै नेतृत्वमा नेपाली कांग्रेस अगाडि बढ्छ,’ डा. कोइरालाले भन्नुभयो।
संस्थापनइतर समूहको राष्ट्रिय भेला भए पनि डा. कोइरालाले देउवाको नेतृत्वप्रति पूर्ण समर्थन जनाउनुभएको छ। देउवाको उपस्थितिले नै कार्यक्रम थप सफल हुने उहाँको विश्वास थियो।
देशभरका विभिन्न जिल्लाबाट भेलामा सहभागी हुन आएका नेता तथा कार्यकर्तालाई स्वागत गर्दै डा. कोइरालाले कार्यक्रम व्यवस्थापनका क्रममा भएका कमीकमजोरीप्रति क्षमायाचना पनि गर्नुभयो।
उहाँले पार्टीभित्रको उत्साह र एकताले नै कांग्रेसको भविष्य सुनिश्चित गर्ने बताउँदै सबै नेता–कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो।







प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :
फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै