गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहको प्रथम सेमेस्टरमा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क भर्ना गराउने भएको छ।
नगरपालिकाले उच्च शिक्षालाई सर्वसुलभ, पहुँचयोग्य र विद्यार्थीमैत्री बनाउने उद्देश्यले भर्नाका लागि अनुदान सहयोग उपलब्ध गराउने भएको नगरप्रमुख खिलध्वज पन्थीले जानकारी दिनुभयो।
आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी उच्च शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम अघि सारिएको नगरप्रमुख पन्थीले बताउनुभयो। नगरपालिकाको सहयोगले विशेषगरी आफ्नै जिल्लामा बसेर स्नातकोत्तर तहको अध्ययन गर्न चाहने विद्यार्थीलाई थप अवसर र प्रोत्साहन मिल्ने उहाँको भनाइ छ।
‘विशेषगरी आफ्नै जिल्लामा रहेर स्नातकोत्तर तहको अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि यो सहयोग महत्वपूर्ण हुनेछ,’ नगरप्रमुख पन्थीले भन्नुभयो, ‘शिक्षालाई विकास र समृद्धिको प्रमुख आधारका रूपमा लिँदै रेसुङ्गा नगरपालिकाले विद्यालय तहदेखि उच्च शिक्षासम्मका विभिन्न क्षेत्रमा सहयोग तथा प्रोत्साहनका कार्यक्रम गर्दै आएको छ।’
नगरपालिकाको कार्यक्रमले स्थानीय शैक्षिक संस्थाको विकास, विद्यार्थीको शैक्षिक उन्नति तथा गुणस्तरीय जनशक्ति उत्पादनमा योगदान पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो।
यसअघि पनि नगरपालिकाले रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातक तहको प्रथम वर्षमा अध्ययन गर्ने विद्यार्थीका लागि निःशुल्क भर्नाको व्यवस्था गरेको थियो। नगरप्रमुख पन्थी निर्वाचित भएर आएपछि क्याम्पसलाई अनुदानस्वरूप १ करोड ५० लाख रुपैयाँ सहयोग प्रदान गरिसक्नुभएको छ।
नागरिकको शिक्षा र स्वास्थ्यप्रति नगरपालिका गम्भीर रहेको बताउँदै उहाँले समयअनुसार शैक्षिक कार्यक्रम, शिक्षण पद्धति र विद्यार्थीमैत्री वातावरणमा सुधार गर्दै लगिएको जानकारी दिनुभयो।
हाल रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातक र स्नातकोत्तर तहमा गरी ७२५ जना विद्यार्थी अध्ययनरत छन्। क्याम्पसले गुल्मीका साथै छिमेकी जिल्ला अर्घाखाँची, बागलुङ र प्युठानका पहाडी क्षेत्रका विद्यार्थीलाई समेत गुणस्तरीय उच्च शिक्षा प्रदान गर्दै आएको छ।
विशेषगरी दलित, विपन्न, सीमान्तकृत तथा आर्थिक रूपमा कमजोर समुदायका विद्यार्थीलाई उच्च शिक्षाको पहुँचमा ल्याउन क्याम्पसले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको जनाइएको छ।







सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :