काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले नयाँ कप्तान सन्दीप लामिछानेको नेतृत्वसँगै नेपाली क्रिकेटमा नयाँ युगको सुरुवात भएको बताउनुभएको छ।
शुक्रबार काठमाडौंमा आयोजित नेपाली टोलीको बिदाइ कार्यक्रममा बोल्दै प्रशिक्षक लले टोलीको भविष्यप्रति आफू उत्साहित रहेको बताउनुभयो। आगामी मलेसिया भ्रमणका लागि टोलीको तयारी राम्रो रहेको उहाँको भनाइ छ। सन्दीप लामिछानेलाई नेपाली एकदिवसीय टोलीको कप्तान बनाइएको पछिल्लो निर्णयसँगै नेतृत्व परिवर्तन भएको हो।
मलेसियाको पिच स्पिनमैत्री हुनसक्ने उल्लेख गर्दै प्रशिक्षक लले नेपाली टोलीमा युवा र अनुभवी खेलाडीको राम्रो सन्तुलन रहेकाले त्यसबाट फाइदा लिन सकिने विश्वास व्यक्त गर्नुभयो। कप्तान सन्दीपसँगको सहकार्यमा शक्तिशाली टोली मैदानमा उतार्ने आफ्नो लक्ष्य रहेको उहाँले बताउनुभयो।
हालैको नेदरल्याण्ड्स भ्रमणको समीक्षा गर्दै प्रशिक्षक लले अपेक्षाअनुसार नतिजा आउन नसके पनि त्यसबाट महत्वपूर्ण पाठ सिकेको बताउनुभयो। टसको भूमिका र दबाबका बीच सही निर्णय लिन नसक्दा केही खेलमा हार व्यहोर्नुपरेको उहाँले स्वीकार गर्नुभयो।
‘परिवर्तनले सधैं नयाँ युगको सङ्केत गर्छ। नयाँ कप्तान र ऊर्जावान् खेलाडीहरूको समूहका साथ हामी यो सुरुवातलाई उत्कृष्ट बनाउन चाहन्छौँ,’ उहाँले भन्नुभयो, ‘नेतृत्वमा आउने नयाँ अनुहारले फरक सोच, फरक शैली र नयाँ अपेक्षा लिएर आउँछ, जसले मैदानमा मनोरञ्जनात्मक र गुणस्तरीय क्रिकेट प्रदर्शन गर्न मद्दत पुग्नेछ।’
व्यावसायिक खेलमा हार–जित स्वाभाविक प्रक्रिया भएको बताउँदै प्रशिक्षक लले आलोचनाबाट निराश नभई कमजोरी सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो। घरेलु मैदानमा आठमध्ये छ खेल जित्दा चर्चा नभएको तर चार खेल हार्नेबित्तिकै आलोचना सुरु भएको उहाँको भनाइ थियो।
५० ओभरको क्रिकेटलाई ‘धैर्यको खेल’ का रूपमा व्याख्या गर्दै प्रशिक्षक लले यसमा टेस्ट क्रिकेटजस्तो धैर्य र अन्तिम ओभरमा टी–२० जस्तो आक्रामकता आवश्यक पर्ने बताउनुभयो। उहाँले खेलाडीलाई मैदानमा बुद्धिमत्तापूर्ण र आक्रामक ढंगले खेल्न सुझाव दिनुभयो।
कप्तान सन्दीप लामिछानेको क्षमतामाथि पूर्ण विश्वास व्यक्त गर्दै प्रशिक्षक लले राष्ट्रिय टोलीको नेतृत्व गर्ने जिम्मेवारीले उनको क्षमता अझ निखारिने बताउनुभयो।
नेपालले आगामी मलेसिया भ्रमणसँगै डार्विनमा टी–२० शैलीको तयारीमा समेत सहभागिता जनाउने कार्यक्रम रहेको छ। फरक–फरक परिस्थितिमा हुने तयारीले नेपाली टोलीलाई अझ बलियो बनाउन सहयोग पुग्ने प्रशिक्षक लको विश्वास छ।







मनसुनी वायुको प्रभाव, देशका केही
यस्तो छ आजका लागि विदेशी
सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला