काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले पूर्वकप्तान रोहित पौडेलले स्थापना गरेको विरासतलाई अझ उचाइमा पुर्याउने जिम्मेवारी आफ्नो काँधमा आएको बताउनुभएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार आयोजना गरेको बिदाइ कार्यक्रममा बोल्दै कप्तान लामिछानेले नेतृत्व परिवर्तन भए पनि टोलीको साझा लक्ष्य नेपाललाई जिताउनु रहेको बताउनुभयो ।
आगामी एसिसी प्रिमियर कपमा सहभागी हुन मलेसिया प्रस्थान गर्नुअघि आयोजित कार्यक्रममा उहाँले पछिल्ला खेलमा भएका कमजोरीबाट पाठ सिक्दै आगामी प्रतियोगितामा सुधारिएको प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
लामिछानेले पछिल्ला केही वैदेशिक भ्रमण अपेक्षाअनुसार हुन नसकेको स्वीकार गर्दै विपक्षीको उत्कृष्ट प्रदर्शनसँगै आफ्नै टोलीका केही प्राविधिक कमजोरीका कारण नतिजा पक्षमा आउन नसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘विगतमा हामीले जुन स्तरको प्रदर्शन गर्नुपर्ने थियो, त्यसमा कतिपय ठाउँमा हामी चुक्यौँ । हाम्रो आलोचना हुनु स्वाभाविक हो र त्यसको एउटै जवाफ भनेको मैदानमा उत्कृष्ट प्रदर्शन गर्नु नै हो । अब हामी विगतलाई बिर्सेर नयाँ योजनाका साथ अगाडि बढ्नेछौँ ।’
नेपाली टोली थप तयारीका लागि भारतको बैंगलोर प्रस्थान गर्ने भएको छ । त्यहाँ १० दिनसम्म सञ्चालन हुने विशेष प्रशिक्षणले मलेसियाको वातावरण र खेल परिस्थितिमा अभ्यस्त हुन सहयोग पुग्ने कप्तान लामिछानेको विश्वास छ ।
टोलीमा अनुभवी तथा नयाँ पुस्ताका खेलाडीबीच राम्रो सन्तुलन रहेको उल्लेख गर्दै उहाँले सबै खेलाडी उच्च मनोबलका साथ प्रतियोगिताका लागि तयार रहेको बताउनुभयो ।
नेतृत्व परिवर्तनपछि टोलीभित्र कुनै समस्या नरहेको स्पष्ट पार्दै लामिछानेले भन्नुभयो, ‘नेतृत्वमा परिवर्तन आए पनि हाम्रो साझा लक्ष्य नेपाललाई जिताउनु नै हो । रोहित पौडेलले स्थापना गरेको विरासतलाई अझ उचाइमा पुर्याउनु मेरो जिम्मेवारी हो । टिमभित्रको एकता र विश्वास नै हाम्रो मुख्य शक्ति हो ।’
उहाँले एसिसी प्रिमियर कपको उपाधि जितेर ट्रफी नेपाल ल्याउनु टोलीको मुख्य लक्ष्य रहेको पनि बताउनुभयो । नेपाललाई विश्वकै बलियो एसोसिएट राष्ट्रका रूपमा स्थापित गर्न घरेलु मैदानमा मात्र नभई विदेशी भूमिमा समेत सन्तुलित र उत्कृष्ट प्रदर्शन गर्नुपर्ने उहाँको भनाइ छ ।
नेपालले यसअघि पहिलोपटक एसिया कपमा सहभागिता जनाएको अनुभव स्मरण गर्दै कप्तान लामिछानेले आगामी प्रतियोगितामा पनि त्यस्तै सफलता दोहोर्याउने लक्ष्य रहेको बताउनुभयो ।
क्यानले मलेसिया भ्रमणअघि राष्ट्रिय टोलीलाई औपचारिक रूपमा बिदाइ गरेको हो । आगामी प्रतियोगिताका लागि नेपाली टोलीले प्रशिक्षण र तयारीलाई तीव्रता दिने भएको छ ।







सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :