काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतको संवैधानिक इजलास गठन प्रक्रियाप्रति आपत्ति जनाउँदै वरिष्ठता वा गोलाप्रथाका आधारमा इजलास गठन हुनुपर्ने बताउनुभएको छ ।
शुक्रबार बारमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष मिश्रले प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आफूखुसी संवैधानिक इजलास गठन गर्ने गरेको आरोप लगाउनुभयो ।
उहाँले वरिष्ठता मिचेर प्रधानन्यायाधीश नियुक्त गर्ने र त्यसपछि प्रधानन्यायाधीशले आफूखुसी संवैधानिक इजलास गठन गरी निश्चित मुद्दा त्यही इजलासमा पठाउने प्रवृत्तिप्रति बार मौन नबस्ने चेतावनी दिनुभयो ।
मिश्रले भन्नुभयो, ‘संवैधानिक इजलास कि त वरिष्ठताका आधारमा कि त गोलाबाट तय हुनुपर्छ भन्ने हाम्रो आधिकारिक मान्यता हो ।’
निश्चित मुद्दालाई टिप्पणी उठाएर संवैधानिक इजलासमा पठाउने काम भइरहेको विषय सार्वजनिक भएको भन्दै उहाँले त्यसप्रति समेत आपत्ति जनाउनुभयो । यस विषयमा प्रधानन्यायाधीश शर्माको ध्यानाकर्षण गराइसकेको उहाँले जानकारी दिनुभयो ।
अध्यक्ष मिश्रले न्यायपालिकामा पछिल्लो समय एकपछि अर्को विवाद थपिँदै गएको भन्दै बारले आवश्यक कदम चाल्ने संकेत गर्नुभयो । उहाँका अनुसार यस विषयलाई औपचारिक रूपमा लिपिबद्ध गर्नेबारे समेत बारमा छलफल भइरहेको छ ।
उहाँले न्यायपालिकाको स्वतन्त्रता र स्वच्छता कायम हुनुपर्नेमा जोड दिँदै कार्यपालिकाको हस्तक्षेप बढ्दै गएको टिप्पणी गर्नुभयो ।
‘स्वतन्त्र र स्वच्छ न्यायपालिका, सरकारभन्दा पृथक न्यायपालिका तथा सरकारका कामलाई नियन्त्रण गर्दै कानूनबमोजिम न्याय सम्पादन गर्न सक्ने सक्षम न्यायपालिका हाम्रो चाहना हो,’ उहाँले भन्नुभयो ।
न्यायपालिकामा व्यक्ति आउने–जाने भए पनि संस्थागत स्वतन्त्रता र न्यायपालिकाको गरिमा स्थायी विषय भएकाले त्यसको संरक्षणका लागि बार निरन्तर सक्रिय रहने उहाँको भनाइ थियो ।





विशेष महाधिवेशनबारे सर्वोच्चको पुनरावलोकन सामना
फापरखेत पहिरोको विकल्पमा पक्की मोटरेबल
प्रधानमन्त्रीलाई कांग्रेस नेता आचार्यको सुझाव
ग्यासको कृत्रिम अभाव र कालोबजारी
नेपाल–युरोप स्वास्थ्य सहकार्य विस्तारमा जोड,
सरकार लेनभन्दा बाहिर जान पाउँदैन