बागलुङ । भारी वर्षापछि गएको पहिरोका कारण बागलुङको निसीखोला गाउँपालिकामा आठ घरमा क्षति पुगेको छ भने ४० घर पहिरोको उच्च जोखिममा परेका छन्।
शुक्रबार बिहान गएको पहिरोले निसीखोला गाउँपालिका–२ उपल्लोबंग्री धाराटोलका धनबहादुर खत्री, राजन परियार, दीपक परियार, ज्ञानबहादुर परियार, हरिकला घर्ती, तारा घर्ती, देविराम घर्ती र टिका घर्तीका घरमा क्षति पुर्याएको हो।
निसीखोला–२ का वडाध्यक्ष कुविर विश्वकर्माका अनुसार पहिरोका कारण गाउँका थप ४० घर उच्च जोखिममा छन्। घरमा क्षति पुगेपछि आठ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। वर्षा निरन्तर भइरहे अन्य घरसमेत पहिरोले बगाउन सक्ने जोखिम रहेको उहाँले बताउनुभयो।
घटनापछि उद्धारका लागि प्रहरी चौकी जुग्जाखोलाबाट प्रहरी सहायक निरीक्षक विकास रानाभाटको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीका अनुसार पहिरोले धनबहादुर खत्रीको गोठ र कच्ची शौचालय पूर्ण रूपमा क्षति गरेको छ। राजन परियारको दुईतले कच्ची घरको बायाँतर्फको पर्खाल चर्किएको छ। नारायण कुँवर, तारा घर्ती, दीपक परियार र हरिकला घर्तीका घरमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ।
बडिगाडमा पनि घरमा क्षति
निरन्तरको वर्षाका कारण बागलुङकै बडिगाड गाउँपालिकामा पनि पहिरोले एक घरमा क्षति पुर्याएको छ।
बिहीबार साँझ घरमाथिबाट खसेको पहिरोले बडिगाड गाउँपालिका–५ जोगीबगरका स्थानीय लोकबहादुर थापाको घरमा क्षति पुर्याएको हो। वडा अध्यक्ष विष्णुप्रसाद आचार्यका अनुसार घटनामा मानवीय क्षति भने भएको छैन।
पहिरोले थप क्षति पुर्याउने जोखिम देखिएपछि थापा परिवारलाई छिमेकीको घरमा सुरक्षित स्थानान्तरण गरिएको छ।
बडिगाड क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले गाउँपालिकाले स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ। ग्रामीण सडक तथा लोकमार्गसमेत पहिरोको जोखिममा रहेकाले सकेसम्म रातिको समयमा यात्रा नगर्न, पहिरोको जोखिम भएका क्षेत्रमा नजान र सुरक्षित स्थानमा बस्न गाउँपालिकाले अनुरोध गरेको छ।






फापरखेत पहिरोको विकल्पमा पक्की मोटरेबल
प्रधानमन्त्रीलाई कांग्रेस नेता आचार्यको सुझाव
ग्यासको कृत्रिम अभाव र कालोबजारी
नेपाल–युरोप स्वास्थ्य सहकार्य विस्तारमा जोड,
सरकार लेनभन्दा बाहिर जान पाउँदैन
नेपालमा पहिलो ‘कमेडी एक्ट’ रियालिटी