काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीभित्र देखिएको वर्तमान वैचारिक तथा संगठनात्मक मतभेद अन्त्य गर्दै कांग्रेसलाई एकताबद्ध बनाउन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको भूमिका निर्णायक हुने बताउनुभएको छ।
कांग्रेसको संस्थापनइतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता लेखकले देशको वर्तमान परिस्थिति जटिल रहेको उल्लेख गर्दै लोकतन्त्र र राष्ट्रिय मुद्दालाई प्रभावकारी रूपमा सम्बोधन गर्न कांग्रेस अनुशासित, सुसंगठित र एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो।
पार्टीभित्र देखिएको पछिल्लो विवादको मुख्य कारण विशेष महाधिवेशनको माग र त्यसका लागि अपनाइएको प्रक्रियालाई मान्नुपर्ने उहाँको विश्लेषण छ। नियमित महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण गर्ने स्वाभाविक प्रक्रियालाई छाडेर बीचमै विशेष महाधिवेशनको बाटो रोज्दा पार्टीभित्र द्वन्द्व सिर्जना भएको उहाँले दाबी गर्नुभयो।
लेखकले भन्नुभयो, ‘आज नेपाली कांग्रेस मानसिक र संगठनात्मक रूपमा विभाजित हुनसक्ने जटिल मोडमा उभिएको छ। सभापति देउवाको स्वदेश फिर्तीसँगै पार्टीलाई एकताबद्ध गर्ने र देशका महत्वपूर्ण विषयमा ठोस निर्णय लिने वातावरण बन्नेमा हामी विश्वस्त छौँ।’
विशेष महाधिवेशनलाई अस्वाभाविक कदमका रूपमा व्याख्या गर्दै उहाँले निश्चित समय पुगेपछि हुने स्वाभाविक प्रक्रियालाई छाडेर समयअगावै नेतृत्व परिवर्तनको प्रयास गर्दा पार्टीमा समस्या उत्पन्न भएको टिप्पणी गर्नुभयो।
उहाँले भन्नुभयो, ‘निश्चित अवधि पुगेपछि हुने स्वाभाविक प्रक्रियालाई छाडेर शल्यक्रियामार्फत समयअगावै सन्तान प्राप्तिको प्रयास गर्दा त्यसले आमा र सन्तान दुवैको स्वास्थ्यमा प्रतिकूल प्रभाव पारेजस्तै पार्टीमा पनि विशेष महाधिवेशनले समस्या सिर्जना गरेको छ। यो एउटा अप्राकृतिक र अस्वाभाविक कदम सावित भएको छ।’
नेता लेखकले विगतमा भएका त्रुटि सच्याउँदै १४औँ महाधिवेशनको निरन्तरता र १५औँ महाधिवेशनको तयारीका पक्षधरबीच समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। पार्टीभित्रको विवादलाई संवाद र सहमतिमार्फत समाधान गर्दै संगठनात्मक एकता कायम गर्नुपर्ने उहाँको भनाइ थियो।





विशेष महाधिवेशनबारे सर्वोच्चको पुनरावलोकन सामना
फापरखेत पहिरोको विकल्पमा पक्की मोटरेबल
प्रधानमन्त्रीलाई कांग्रेस नेता आचार्यको सुझाव
ग्यासको कृत्रिम अभाव र कालोबजारी
नेपाल–युरोप स्वास्थ्य सहकार्य विस्तारमा जोड,
सरकार लेनभन्दा बाहिर जान पाउँदैन