काठमाडौँ । नेपाली काँग्रेसका पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्काले मुलुकको राष्ट्रियता र संविधान गम्भीर संकटमा रहेको बताउनुभएको छ।
काँग्रेसको संस्थापनइतर समूहले पार्टीभित्रको अन्योल अन्त्य गर्दै नयाँ उत्साह भर्न आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै खड्काले राष्ट्रियताको रक्षा गर्न पार्टीभित्रको आन्तरिक एकता पहिलो सर्त भएको बताउनुभयो।
उहाँले वि.सं. २०३३ सालमा जननायक बीपी कोइरालाले राष्ट्रियतामा खतरा देखेर मेलमिलापको नीति लिँदै स्वदेश फर्किएको समयको तुलनामा अहिलेको परिस्थिति सयौँ गुणा बढी चुनौतीपूर्ण र संवेदनशील रहेको दाबी गर्नुभयो।
हालै मुलुकका विभिन्न क्षेत्रमा देखिएका जातीय तथा धार्मिक द्वन्द्वका घटनाप्रति संकेत गर्दै खड्काले ती घटनाहरू भयावह भविष्यको ‘ट्रेलर’ मात्र हुनसक्ने चेतावनी दिनुभयो। मधेशमा देखिएको पछिल्लो अस्थिरताले मुलुकलाई तरंगित बनाएको भन्दै उहाँले समयमै सचेत हुनुपर्नेमा जोड दिनुभयो।
उहाँले भन्नुभयो, “अहिले नेपालको राष्ट्रियता र संविधानमाथि ठूलो खतरा छ। यसलाई जोगाउन काँग्रेसभित्रको पूर्ण एकता र लोकतन्त्रवादी शक्तिहरूको ध्रुवीकरण अनिवार्य छ।”
छिमेकी तथा मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई गम्भीरतापूर्वक अघि बढाउन नसके देशले ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउन सक्ने उहाँको भनाइ थियो।
पार्टीको आन्तरिक राजनीतिबारे बोल्दै खड्काले पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्वमा काँग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्ने संकल्प राष्ट्रिय भेलाले गर्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँले विशेष महाधिवेशन वा अन्य कुनै नाममा पार्टीभित्र गरिने अवैधानिक गतिविधिले संगठनलाई हित नगर्ने बताउँदै नेतृत्वलाई भएका कमजोरी सच्याउन र एकताको बाटोमा फर्कन दबाब दिनुपर्नेमा जोड दिनुभयो।







प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :
फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै