काठमाडौँ । नेपाली काँग्रेसका पूर्वउपसभापति विजयकुमार गच्छदारले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी काँग्रेसलाई एकताबद्ध बनाउने जिम्मेवारी नेतृत्व तह र दोस्रो पुस्ताका नेताहरूको काँधमा आएको बताउनुभएको छ।
नेपाली काँग्रेसको संस्थापनइतर समूहद्वारा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै गच्छदारले पूर्वसभापति शेरबहादुर देउवा र सभापति गगन थापासहितका नेताहरूलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।
उहाँले पूर्वसभापति देउवालाई गुटबन्दीभन्दा माथि उठेर अभिभावकीय भूमिका खेल्न सुझाव दिँदै पार्टी र देशको हितका लागि सबैलाई समेटेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो।
गच्छदारले १६ बुँदे सहमतिमार्फत संविधान निर्माणमा आफूले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै आफू कानून, नीति र सिद्धान्तबारे स्पष्ट रहेको बताउनुभयो। कार्यक्रममा डा. शशांक कोइराला, डा. शेखर कोइराला र शेरबहादुर देउवाको उपस्थितिलाई सकारात्मक रूपमा व्याख्या गर्दै उहाँले नेतृत्व तहमा सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
उहाँले भन्नुभयो, “तपाईं पार्टीको मात्र नभई देशकै नेता हुनुहुन्छ। राजनीतिमा व्याप्त विसंगति र ‘डर्टी गेम’ बाट मुक्त हुँदै देश र पार्टीको हितका लागि व्यक्ति र समूहभन्दा माथि उठ्न आवश्यक छ। तपाईंले चाहेमा पार्टीको विवाद टुंगो लाग्न सक्छ।”
युवा पुस्तातर्फ संकेत गर्दै गच्छदारले नेतृत्वमा आएका नयाँ पुस्ताले राजनीतिक संवेदनशीलता, करुणा र मानवीय पक्षलाई आत्मसात् गर्नुपर्ने बताउनुभयो। सभापति गगन थापाले केही समयअघि व्यक्त गरेको ‘करुणा’ शब्दको चर्चा गर्दै उहाँले राजनीतिमा मानवीय भावना र सहिष्णुताको महत्व रहने धारणा राख्नुभयो।
पार्टीभित्र पुरानो र नयाँ पुस्ताबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै गच्छदारले सबैलाई समेट्ने नेतृत्व नै वर्तमान आवश्यकता भएको जिकिर गर्नुभयो।







सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :