काठमाडौँ । नेपाली काँग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहले पार्टीलाई विधि, विधान र स्थापित लोकतान्त्रिक मूल्यमान्यताअनुसार अघि बढाउनुपर्ने बताउनुभएको छ।
नेपाली काँग्रेसको संस्थापनइतर समूहद्वारा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सिंहले पार्टीका संस्थापक नेताहरूले देखाएको आदर्श र सिद्धान्तबाट विचलित हुन नहुनेमा जोड दिनुभयो।
उहाँले बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र सुवर्णशमशेर राणालगायत संस्थापक नेताहरूले लोकतान्त्रिक पद्धतिको सुदृढीकरणका लागि काँग्रेस स्थापना गरेको स्मरण गर्नुभयो।
पार्टीको आन्तरिक अवस्थाबारे टिप्पणी गर्दै सिंहले विधान र नियमावली मिचेर गरिने गतिविधिले संगठनलाई बलियो बनाउन नसक्ने बताउनुभयो। विगतमा भएका कतिपय निर्णय तथा विशेष महाधिवेशन विधिसम्मत नभएको दाबी गर्दै उहाँले सत्यलाई सत्य र गलतलाई गलत भन्ने साहस काँग्रेसले राख्नुपर्ने धारणा राख्नुभयो।
उहाँले भन्नुभयो, “साध्यमा पुग्नका लागि साधन पनि लोकतान्त्रिक हुनुपर्छ भन्ने हाम्रो पार्टीको मुख्य स्कुलिङ हो। हाम्रा नेताहरूले जे भन्नुहुन्थ्यो, व्यवहारमा पनि त्यही लागू गर्नुहुन्थ्यो।”
विधान मिचिएको विषयमा आवाज उठाउँदा पार्टी फुटाउन खोजेको आरोप लगाउने गरिएको भन्दै सिंहले त्यसको खण्डन गर्नुभयो। उहाँले २००७ र २०१७ सालको कठिन परिस्थितिमा समेत पार्टीका संस्थापक नेताहरू आफ्नो सिद्धान्तमा अडिग रहेकै कारण काँग्रेसले जनविश्वास आर्जन गरेको बताउनुभयो।
पछिल्लो राजनीतिक अवस्थाप्रति टिप्पणी गर्दै सिंहले पुराना दललाई गाली गरेर मात्रै देश सञ्चालन गर्न नसकिने बताउनुभयो। किसानले मल नपाएको, ग्यास तथा खाद्यान्नको मूल्य बढेको लगायतका समस्याले जनजीवन प्रभावित भएको उहाँको भनाइ थियो।
सिंहले सामाजिक सञ्जाल र ‘अल्गोरिदम’को भरमा मात्रै देशको शासन सञ्चालन हुन नसक्ने तर्क गर्नुभयो। मुलुकलाई संकटबाट बाहिर निकालेर सही दिशामा लैजाने ठूलो जिम्मेवारी काँग्रेसको काँधमा रहेको उल्लेख गर्दै उहाँले पार्टीलाई संस्थागत र नियमसम्मत बनाउनु वर्तमान पुस्ताको कर्तव्य भएको बताउनुभयो।
सर्वोच्च अदालतको पछिल्लो फैसला तथा मार्गनिर्देशनपछि काँग्रेसले अब विधिसम्मत रूपमा १४औँ महाधिवेशनको प्रक्रिया टुंग्याउँदै १५औँ महाधिवेशनतर्फ केन्द्रित हुनुपर्ने उहाँको भनाइ थियो।







यस्तो छ आजका लागि विदेशी
सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा