काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले मुलुकमा देखिएको निराशालाई आशामा बदल्ने जिम्मेवारी नेपाली कांग्रेसले लिनुपर्ने बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा कांग्रेसको संस्थापनइतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले मुलुकको राजनीतिक इतिहास र अग्रजहरूको योगदानलाई नयाँ पुस्तामाझ स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले राणाकालीन अवस्था, तत्कालीन गरिबी तथा निरंकुश निर्दलीय व्यवस्थाविरुद्ध नेपाली कांग्रेसले गरेको संघर्षबारे नयाँ पुस्ताले जान्न आवश्यक रहेको बताउनुभयो । अग्रजहरूले बलिदानीपूर्ण संघर्ष गरेर मुलुकलाई वर्तमान अवस्थामा ल्याएको उल्लेख गर्दै देउवाले इतिहास बिर्सिए सही राजनीतिक गन्तव्यमा पुग्न नसकिने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, ‘समाजमा अहिले पनि निराशा देखिएको छ । यो निराशालाई आशामा बदल्नुपर्ने हुन्छ । यो दायित्व समेत सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसले लिनुपर्दछ ।’
देउवाले कांग्रेसले विगतमा गरेको योगदानबारे नयाँ पुस्तालाई जानकारी गराउनुपर्ने बताउँदै राजनीतिक परिवर्तन र अग्रजहरूको योगदानको इतिहास टोल–टोलसम्म पुर्याउन आग्रह गर्नुभयो । इतिहासबाट पाठ सिकेर मात्रै मुलुकको सही राजनीतिक गन्तव्य तय गर्न सकिने उहाँको भनाइ थियो ।
विगतमा केही पनि नभएको र भएका सबै कुरा खराब थिए भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै देउवाले यस्तो प्रवृत्तिले मुलुकलाई थप कमजोर बनाउने चेतावनी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘विगतका कठिन राजनीतिक परिवर्तनका कथा समाजले नपढ्ने हो भने हाम्रा पुर्खाहरूले पुर्याएको योगदानको राजनीतिक इतिहास ओझेलमा पर्छ । मुलुकको विगतको इतिहासमा गर्व गर्नुपर्छ । त्यो वातावरण बनाउने काम नेपाली कांग्रेसको काँधमा आएको छ ।’
देउवाले मुलुकको इतिहास र लोकतान्त्रिक आन्दोलनमा अग्रजहरूले गरेको योगदानप्रति गर्व गर्ने वातावरण निर्माण गर्नु कांग्रेसको महत्वपूर्ण जिम्मेवारी भएको बताउनुभयो ।







प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :
फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै