काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को प्रयोग र बजार विस्तार भइरहेका बेला दक्ष प्राविधिक जनशक्ति उत्पादनमा समेत जोड दिन थालिएको छ। यही क्रममा नेपाल अटो मेकानिक्स व्यवसाय महासंघका ३० जना प्रतिनिधिले चीनको चोङछिङस्थित एसआरएमको उत्पादन कारखानाको अवलोकन गरेका छन्।
नेपालमा एसआरएम तथा जोयलङ ब्रान्डका विद्युतीय सवारीसाधनको आधिकारिक वितरक भीजी मोटर्सको पहल तथा एसआरएमको सहकार्यमा महासंघका प्रतिनिधिले साउन २६ र २७ गते चीनको फुलिङ, चोङछिङस्थित एसआरएम कारखानाको भ्रमण गरेका हुन्।
भ्रमणका क्रममा नेपाली प्राविधिकहरूले विद्युतीय सवारीसाधनको उत्पादन तथा जडान प्रक्रिया, गुणस्तर नियन्त्रण प्रणाली, परीक्षण विधि र ईभीमा प्रयोग हुने प्रविधिबारे प्रत्यक्ष जानकारी लिएका थिए। उनीहरूले एसआरएमका प्राविधिक विज्ञहरूसँग अन्तरक्रिया गर्नुका साथै ईभीको उत्पादन, सञ्चालन तथा मर्मतसम्भारसम्बन्धी विषयमा अनुभव आदानप्रदानसमेत गरेका थिए।
भीजी मोटर्सका अनुसार भ्रमणले नेपाली अटो मेकानिक्सलाई सामान्य वर्कसपमा प्राप्त हुने व्यावहारिक ज्ञानभन्दा बाहिर गएर विद्युतीय सवारीसाधनको उत्पादन, इन्जिनियरिङ, परीक्षण तथा गुणस्तर नियन्त्रणका वास्तविक प्रक्रिया प्रत्यक्ष रूपमा बुझ्ने अवसर दिएको छ।
कम्पनीले नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तारसँगै प्राविधिक जनशक्ति विकासलाई पनि प्राथमिकतामा राखेको जनाएको छ। विभिन्न स्थानमा मेकानिक्स मिट आयोजना गर्नुका साथै ईभीसम्बन्धी प्राविधिक तालिम र कार्यस्थलमै पुगेर प्राविधिक समस्या समाधान गर्दै आएको कम्पनीको भनाइ छ।
भीजी मोटर्सका अनुसार ईभीसम्बन्धी प्राविधिक तालिमको पहिलो चरण पूरा भइसकेको छ भने दोस्रो चरणको प्रशिक्षण अघि बढाउने तयारी भइरहेको छ। दोस्रो चरणमा ईभी मर्मतसम्भारका लागि आवश्यक उपकरणको पहिचान तथा प्रयोगदेखि सवारीसाधनको प्राविधिक मर्मतसम्बन्धी विषय समेटिनेछ।
यसअघि कम्पनीले नेपाल अटो मेकानिक्स व्यवसाय महासंघका सदस्यलाई लक्षित गरी ईभीको समस्या पहिचान, सर्भिसिङ तथा मर्मतसम्बन्धी व्यावहारिक प्रशिक्षणसमेत सञ्चालन गरेको थियो। चीनको कारखाना भ्रमणले त्यहाँ प्राप्त व्यावहारिक ज्ञानलाई ईभी उत्पादन तथा प्रविधिको वास्तविक प्रक्रियासँग जोड्ने अवसर दिएको कम्पनीले जनाएको छ।
विद्युतीय सवारीसाधनको प्रयोग बढेसँगै अटो मेकानिक्सको परम्परागत भूमिकामा समेत परिवर्तन आउन थालेको छ। अब प्राविधिकका लागि विद्युतीय प्रणाली, ब्याट्री प्रविधि, इलेक्ट्रोनिक उपकरण, समस्या पहिचान गर्ने प्रविधि, सुरक्षा प्रणाली तथा सफ्टवेयरसम्बन्धी ज्ञानसमेत आवश्यक बन्दै गएको छ।
भीजी मोटर्सका कमर्सियल हेड सजन श्रेष्ठले नयाँ प्रविधि भित्र्याउनु मात्र पर्याप्त नभई त्यसलाई सञ्चालन तथा मर्मत गर्न सक्ने दक्ष जनशक्ति विकास गर्नु पनि उत्तिकै आवश्यक रहेको बताए।
उनका अनुसार प्राविधिकलाई उचित तालिम र प्रत्यक्ष अनुभव उपलब्ध गराउँदा ग्राहकको विश्वास बढाउन, बिक्रीपछिको सेवा सुधार गर्न तथा नेपालको अटोमोबाइल क्षेत्रका जनशक्तिलाई भविष्यका लागि तयार पार्न सहयोग पुग्छ।
नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग र बजार विस्तार हुँदै जाँदा दक्ष प्राविधिक जनशक्तिको आवश्यकता अझ बढ्ने देखिन्छ। सही रूपमा समस्या पहिचान गर्ने, गुणस्तरीय मर्मतसम्भार गर्ने र प्रभावकारी बिक्रीपछिको सेवा उपलब्ध गराउन सक्ने प्राविधिक जनशक्तिको विकासले विद्युतीय सवारीसाधनप्रति उपभोक्ताको विश्वास थप बलियो बनाउन सक्ने व्यवसायीहरूको भनाइ छ।
भीजी मोटर्सले एसआरएम, नेपाल अटो मेकानिक्स व्यवसाय महासंघ तथा अन्य सरोकारवाला निकायसँगको सहकार्यलाई निरन्तरता दिँदै नेपालको अटोमोबाइल क्षेत्रलाई थप दक्ष, सक्षम र भविष्यका प्रविधिका लागि तयार बनाउन योगदान गर्ने जनाएको छ।







सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :