काठमाडौं । सगरमाथाको साहस, चुनौती, रहस्य तथा जलवायु परिवर्तनको प्रभावलाई केन्द्रमा राखेर निर्माण गरिएको वृत्तचित्र ‘रोड टु एभरेस्ट’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । दुई वर्षको अनुसन्धान तथा छायांकनपछि तयार भएको वृत्तचित्र समुद्री सतहदेखि सगरमाथाको शिखरसम्मको वास्तविक यात्रामा आधारित छ ।
निर्मल श्रेष्ठको निर्देशन रहेको वृत्तचित्रमा ५० वर्ष नाघ्नुभएका राज गुरुङको सगरमाथा आरोहण यात्रालाई मुख्य कथाका रूपमा प्रस्तुत गरिएको छ । वृत्तचित्रले आरोहणका चुनौतीसँगै शेर्पा समुदायको योगदान, मानवीय साहस र हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावलाई समेत समेटेको छ ।
सञ्चारकर्मी सन्तोष आचार्य र निर्मल श्रेष्ठको कथा रहेको वृत्तचित्रमा भूषण दाहालको आवाज छ । नेपाली र अंग्रेजी भाषामा तयार ‘रोड टु एभरेस्ट’मा कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा र निमा ग्याल्जेन शेर्पासहित विनोद गुरुङ, सुरज गुरुङ र निर्मल श्रेष्ठको सहभागिता छ ।
वि विल राइज फाउन्डेसनको निर्माण रहेको ५० मिनेट लामो वृत्तचित्रको नेपाल प्रिमियर भदौ ६ गते काठमाडौंमा र अन्तर्राष्ट्रिय प्रिमियर भदौ २८ गते हङकङमा हुने जनाइएको छ । त्यसपछि नेपालसहित अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल तथा सिनेमा हलमा प्रदर्शन गर्ने तयारी छ । वृत्तचित्रले पर्यटन प्रवर्द्धनसँगै हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभावबारे विश्वव्यापी ध्यानाकर्षण गराउने उद्देश्य राखेको निर्माण पक्षले जनाएको छ ।







तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार
नाइमा मोबिलिटी एक्स्पोमा ५५ ब्रान्ड
गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी
विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो
सरकारको पूर्ण मूल्याङ्कन गर्ने बेला
सरकार लक्ष्यबाट विमुख भए हस्तक्षेप